• ७ वैशाख २०८१, शुक्रबार

प्रमुख निर्वाचन आयुक्त थपलिया भन्नुहुन्छ–

‘सबै राजनीतिक दललाई समान व्यवहार र हैसियत प्रदान गर्नुहोस्’

blog

प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलिया

गोरखापत्र अनलाइन 

काठमाडौं, साउन २४ गते । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले सरकारी स्वामित्वमा सञ्चालित सार्वजनिक सञ्चार माध्यमका प्रमुख तथा प्रतिनिधिहरूसँग सबै राजनीतिक दललाई समान व्यवहार र हैसियत प्रदान गर्न आग्रह गर्नुभएको छ । 

उहाँले आगामी मङ्सिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्यको निर्वाचनको मिति घोषणा भइसकेकाले सार्वजनिक सञ्चार माध्यमले दलका समाचार दिँदा समान व्यवहार र हैसियत प्रदान गर्नुपर्नेमा जोड दिनुभएको हो । 


‘स्थानीय तह निर्वाचन–२०७९ को मतदाता शिक्षा कार्यक्रम प्रगति समीक्षा’ मा उपस्थित विभिन्न सरकारी स्वामित्वका समाचार माध्यम र निकायका प्रमुख तथा प्रतिनिधिहरूलाई सम्बोधन गर्दै प्रमुख आयुक्त थपलियाले विगतका राम्रा अभ्यासलाई निरन्तरता दिन र कमजोर पक्षलाई सच्चाएर अगाडि जानुपर्छ भन्नुभयो । 

विगतमा जस्तै आगामी निर्वाचनमा पनि मतदाता शिक्षालाई अझ प्रभावकारी बनाएर जानका लागि आ–आफ्नो संस्था र निकायको तर्फबाट कार्ययोजना प्रस्ताव आयोगमा पठाउन पनि उहाँले निर्देशन दिनुभयो । 

विभिन्न सरकारी समाचार माध्यम र निकायका प्रमुख तथा प्रतिनिधिहरूले स्थानीय तह निर्वाचनको क्रममा आ–आफ्नो तर्फबाट भए गरेका कार्यहरूको विवरण प्रस्तुत गर्नुभएको थियो । 

कार्यक्रममा आयुक्तहरू ईश्वरीप्रसाद पौड्याल, रामप्रसाद भण्डारी, डा. जानकीकुमारी तुलाधर, सगुन शमशेर जबरा र आयोगका सचिव गोकर्णमणि दवाडीलगायत सहभागी हुनुहुन्थ्यो ।