• ५ साउन २०८१, शनिबार

लैङ्गिक आधारमा समानुपातिक उम्मेदवारी दिने व्यवस्था हुनुपर्छ : सांसद पाण्डे

blog

फाइल तस्बिर

काठमाडौं, साउन २४ गते । नेकपा (एमाले)का सांसद विन्दा पाण्डेले अगामी प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा प्रत्येक दलले लैङ्गिक आधारमा समानुपातिक सङ्ख्यामा उम्मेदवारी दिने व्यवस्था गर्न माग गर्नुभएको छ ।

मङ्गलवारको प्रतिनिधिसभा बैठकमा आगामी प्रदेशसभा र सङ्घीय संसदको निर्वाचनमा महिलाको समानुपातिक सहभागिता गराउन आवश्यक भएको भन्ने जरुरी सार्वजनिक महत्त्वको विषयमा कानुन मन्त्रीको ध्यानाकर्षण गराउनुहुँदै सांसद पाण्डेले सो माग गर्नुभएको हो ।

उहाँले आगामी स्थानीय तह निर्वाचनमा पनि  प्रमुख र अध्यक्ष, उपप्रमुख र उपाध्यक्ष, वडाध्यक्ष, जिल्ला समन्वय समितिको प्रमुख र उपप्रमुखमा हरेक दलले कम्तीमा ५० प्रतिशत महिला उम्मेदवारीको व्यवस्था गरिनुपर्ने बताउनुभयो ।

त्यस्तै, दलित महिला सदस्यको उम्मेदवारी नपरेको अवस्थामा सो स्थान रिक्त नराखी अन्य कुनै सीमान्तकृत तथा अल्पसङ्ख्यक समुदायको महिलाले उम्मेदवारी दिनसक्ने व्यवस्था गर्नुपर्ने उहाँको भनाइ छ ।

सांसद पाण्डेका अनुसार सङ्घीय संसद र प्रदेश सभा दुवैमा एउटा व्यक्ति एउटै निर्वाचन क्षेत्र र एउटै निर्वाचन प्रणालीबाट निरन्तर बढीमा दुई पटक मात्रै उम्मेदवार हुनसक्ने व्यवस्था गर्नुपर्छ ।

त्यस्तै स्थानीय तहका प्रमुख, अध्यक्ष, उपप्रमुख, उपाध्यक्ष, वडाध्यक्ष र जिल्ला समन्वय समिति प्रमुख र उपप्रमुखको लागि पनि एउटै व्यक्ति, एउटै पदमा बढीमा दुई पटक मात्र निर्वाचित हुनसक्ने व्यवस्था गरिनुपर्नेमा उहाँले जोड दिनुभयो ।

उहाँले मङ्सिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचन अगावै निर्वाचनसम्बन्धी कानुनलाई संशोधन गरेर सो प्रावधान ल्याउन माग गर्नुभयो ।