• १२ असार २०८१, बुधबार

प्रधानमन्त्री देउवा र नेता खनालबीच भेटवार्ता

गठबन्धनमा समान ढङ्गले सिट बाँडफाँट हुनुपर्छ : नेता खनाल

blog

फाइल तस्बिर

काठमाडौं, साउन २४ गते । नेकपा (एकीकृत समाजवादी)का नेता एवम् पूर्व प्रधानमन्त्री झलनाथ खनालले आगामी निर्वाचनमा गठबन्धन गरेर जाँदा सबै दललाई समान ढङ्गले सिट बाँडफाँट हुनुपर्ने बताउनुभएको छ ।

मङ्गलबार प्रधानमन्त्री शेरबहादुर देउवालाई नेपाली चियाको गुणस्तरका बारेमा भारतमा विभिन्न प्रतिवेदन पेश भइरहेको बारे जानकारी गराउन बालुवाटार पुग्नुभएका उहाँले प्रधानमन्त्रीसँगको भेटपछि यस्तो बताउनुभएको हो ।

गठबन्धनमा अहिले दलहरु थप्ने विषयमा जे आधारमा थपिएको छ, त्यही आधारमा आवश्यक तालमेल गर्नुपर्ने उहाँले बताउनुभयो ।

प्रत्येक पार्टीको आफ्नो हैसियत हुने भएकाले २०७४ को निर्वाचन र हालै सम्पन्न स्थानीय तहको निर्वाचनलाई दृष्टिगत गरेर आगामी प्रदेश र सङ्घको निर्वाचनमा सिट बाँडफाँट गर्न आवश्यक रहेको नेता खनालको भनाइ छ ।

उहाँले गठबन्धनमा सहभागी दललाई अपमान गरेमा तालमेल नहुने भन्दै सबैलाई दललाई समान रुपमा सिट बाँडफाँट गर्ने बुटी खोजेर अघि बढ्नुपर्ने बताउनुभयो । उहाँले बाम एकताको लागि सबैभन्दा ठूलो दलको पहल नरहेको भन्दै तत्काल कुनै पनि बृहत् बाम एकताको सम्भावना नरहेको दाबी गर्नुभयो ।

त्यस्तै, नेता खनालले परराष्ट्रमन्त्री डा. नारायण खड्काकाे चीन  भ्रमण महत्वपूर्ण  रहेको बताउनुभयो ।

चीन भ्रमणका बेला परराष्ट्रमन्त्री खड्काले चीनसँग गरेको बीआरआई सम्झौता र सीमा समस्यालगायत अन्य सहमतिबारे कुरा उठाउनुपर्ने नेता खनालको भनाइ छ । 

उहाँले परराष्ट्रमन्त्रीले चीन भ्रमणमा नेपालले चीनबाट लिनसक्ने सहयोगको उचित फाइदा लिनका लागि पहल गर्नुपर्ने जोड दिनुभयो । बेलाबेलामा नेपाल–चीन सीमा विवाद आइरहने भन्दै यसको दीर्घकालीन समस्या समाधानका लागि पनि परराष्ट्रमन्त्रीको भ्रमणले सहयोग पुग्नेमा विश्वस्त रहेको उहाँको भनाइ छ ।

भारतले अहिलेसम्म नेपालबाट जाने चियाको लागि ट्याक्स लगाएको छैन । भारतबाट प्राप्त भइरहेको सुविधालाई कटौती गर्ने हिसाबले भारतको संसदमा संसदीय टिमले नेपाली चिया गुणस्तरहीन भएको प्रतिवेदन बुझाएको छ । त्यसप्रति नेपाल सरकारले उचित कदम चाल्न प्रधानमन्त्री देउवासँग अनुरोध गरेको उहाँले बताउनुभयो ।

प्रधानमन्त्रीले यसबारेमा आफू गम्भीर रहेको र भारत सरकारसँग उचित कदम चाल्ने आश्वासन दिनुभएको पनि बताउनुभयो ।