• ५ साउन २०८१, शनिबार

लुम्बिनी प्रदेशको योगदान चौध प्रतिशत

blog

बुटवल, साउन २४ गते । देशको कुल गार्हस्थ्य उत्पादनमा लुम्बिनी प्रदेशको योगदान १४ प्रतिशत रहेको छ । प्रदेशमा सबैभन्दा बढी योगदान कृषि क्षेत्रको ४५ प्रतिशत रहेको छ । 

चालू आर्थिक वर्षमा प्रदेशको आर्थिक वृद्धिदर ५.३७ प्रतिशत हुने अनुमान रहेको लुम्बिनी प्रदेश आर्थिक मामिला तथा सहकारी मन्त्रालयले जनाएको छ । जुन नेपालको चालू आर्थिक वर्षको अनुमानित आर्थिक वृद्धिदर ५.८४ प्रतिशतको नजिक रहेको छ । 

मन्त्रालयका अनुसार नेपालको कुल क्षेत्रफलको १२.१ प्रतिशत हिस्सा लुम्बिनीले ओगटेको छ । लुम्बिनी प्रदेशको प्रतिव्यक्ति आय एक हजार १०३ अमेरिकी डलर पुगेको छ । आर्थिक वर्ष २०७८/७९ को प्रदेशको कुल गार्हस्थ्य उत्पादन छ खर्ब ८५ अर्ब रुपियाँ रहेको मन्त्रालयले जनाएको छ । प्रदेश सरकारले ‘समृद्ध लुम्बिनी : आत्मनिर्भर प्रदेश’को नारा लिएको बताउँदै कृषि, उद्योग र पर्यटन क्षेत्रलाई प्रमुख आधार मानेर समृद्धि हासिल हुने बताएको छ । 

प्रदेशलाई समृद्ध बनाउने आधारका रूपमा कृषिको आधुनिकीकरण, यान्त्रिकीकरण, व्यवसायीकरणका माध्यमबाट उत्पादन र उत्पादकत्व वृद्धि गर्दै मूल्य शृङ्खलामा आधारित बजारीकरण गरी कृषि क्षेत्रको आयात प्रतिस्थापन र निर्यात प्रवद्र्धन गर्ने लक्ष्य लिएको उल्लेख छ । 

प्रदेशमा चार उपमहानगरपालिका, ३२ नगरपालिका र ७३ गाउँपालिका गरी कुल १०९ वटा स्थानीय तह रहेका छन् । उत्तरमा पुथा हिमालदेखि दक्षिणमा मर्चवारसम्म, पूर्वमा त्रिवेणी सुस्तादेखि पश्चिममा राजापुरसम्म जम्मा १७ हजार ८१० वर्गकिलोमिटर भूभाग लुम्बिनी प्रदेशको रहेको छ ।