• ८ वैशाख २०८१, शनिबार

टोले योजनालाई बजेट विनियोजन

blog

बनेपा समाचारदाता 

बनेपा, साउन २४ गते । मुलुकमा सङ्घीयता कार्यान्वयनसँगै तीन तहको सरकार निर्माण भए पनि तीनै तहका सरकारबाट टुक्रे योजनामा बजेट विनियोजन गर्ने पुरानो परम्परा भने कायमै रहेको छ। बागमती प्रदेश सरकारले चालू आर्थिक वर्षमा पनि मातहतका कार्यालयमार्फत कार्यालयबाट कार्यान्वयन गर्ने गरी टुक्रे तथा टोले कार्यक्रमममा बजेट विनियोजनलाई निरन्तरता दिएको छ। 

प्रदेश सरकारले काभ्रेपलाञ्चोक जिल्ला तथा आसपासका जिल्लामा कार्यक्षेत्र रहेको पूर्वाधार विकास कार्यालय, सहरी विकास तथा भवन कार्यालयलगायतका पूर्वाधारको काम गर्ने कार्यालयमार्फत काम गर्न गराउन साना टुक्रे योजनामा बजेट विनियोजन गरेको हो। प्रदेश सरकारले जनशक्तिको अवस्था नहेरी टुक्रे योजनामा बजेट विनियोजन गर्दा कार्यान्वयनमा समस्या हुने अवस्था आउने गरेको कार्यालयले जनाएका छन्। 

चालू आर्थिक वर्ष २०७९/८० का लागि पूर्वाधार विकास कार्यालय काभ्रेपलाञ्चोकका लागि ५८२ वटा योजनाका लागि बजेट विनियोजन गरिएको छ। कार्यालयका प्रमुख वरिष्ठ डिभिजन इन्जिनियर लोकनाथ रेग्मीले चालू आवका आएका योजनामध्ये ४४४ वटा योजना साना टुक्रे तथा टोले योजना, ६० वटा पुल निर्माणका योजना रहेको बताउनुभयो। उहाँले कुल योजनामध्ये ३० वटा सडकका ठूला योजना रहेको बताउनुभयो। 

काभ्रेपलाञ्चोक र भक्तपुर जिल्ला कार्यक्षेत्र रहेको कार्यालयले यस वर्षका लागि न्यूनतम पाँच लाखदेखि २० करोड रुपियाँसम्मका योजना रहेको जनाएको छ। कार्यालय प्रमुख रेग्मीले टुक्रे योजना हुँदा कामको गुणस्तरीयता कायम भए नभएको अनुगमन, मूल्याङ्कन, कार्यक्रमको लागत अनुमान तयार गर्ने, कागजात तयार गर्नका साथै समयमा नै काम सम्पन्न गर्नेसँगै जनशक्तिअनुसार योजना नदिँदा कार्यान्वयनमा समस्या हुने बताउनुभयो। रेग्मीले कार्यालयमा चार इन्जिनियर र छ जना सब–इन्जिनियर गरी दस जना प्राविधिक जनशक्तिबाट दुई जिल्लामा कार्यक्रम सञ्चालन गर्न समस्या हुने बताउनुभयो। 

यसैगरी प्रदेश सरकार मातहत रहेको सहरी विकास तथा भवन कार्यालयमार्फत चालू आवका लागि प्रदेश सरकारको १४३ योजना र सङ्घीय सरकारको करिब २५ योजनामा बजेट विनियोजन गरिएको छ। कार्यालयका प्रमुख सन्तोष निरौलाले चालू आवमा दस लाख रुपियाँदेखिका योजना रहेको बताउनुभयो। चालू आवमा भवन कार्यालयमा आएका अधिकांश योजना टुक्रे र साना रहेका छन्। 

कार्यालयले चालू आवमा काभ्रेपलाञ्चोकमा ४८ योजनाका लागि १५ करोड ६० लाख, दोलखामा १६ कार्यक्रमका लागि पाँच करोड २५ लाख र सिन्धुपाल्चोक जिल्लामा ७९ योजनाका लागि करिब २० करोड रुपियाँ विनियोजन भएको जनाएको छ। निरौलाले चालू आवका लागि सङ्घीय सरकारले ससर्त अनुदानतर्फ २६ करोड रुपियाँ बजेट विनियोजन गरेको भन्दै चार सरकारी भवन, सहरी पार्क, सामुदायिक भवन, सिन्धुपाल्चोकमा पाँचवटा एकीकृत बस्तीमा काम र जनता आवास कार्यक्रमअन्तर्गत ५५ घर निर्माण गर्ने योजना रहेको सुनाउनुभयो। गत आवको चैत मसान्तमा प्रदेश सरकारले पूर्वाधार र सहरी विकास कार्यालय मातहत सयौँ योजनामा बजेट विनियोजन गर्दा कार्यान्वयनमा समस्या देखिएको थियो।