• १५ वैशाख २०८१, शनिबार

पर्वतको धाइरिङमा विद्युतको हाइभोल्टेजका कारण १ को मृत्यु, १२ घाइते

blog

गणेश पौडेल

पर्वत, साउन २३ गते । पर्वतको जलजला गाउँपालिका वडा नं. ७ धाइरिङ धारापानीमा करेन्ट लागेर १ महिलाको मृत्यु भएको छ । सोमबार बिहान एक्कासि विद्युतको तारमा हाईभोल्टेज प्रवाह हुँदा ५० वर्षीय सिता केसीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएको छ । 

गाउँभरी हाइभोल्टेज लाइन एक्कासि प्रवाह हुँदा धारापानीका १२ जनालाई करेन्ट लागेर घाइते भएका छन् । करिब २ सय घरमा क्षति पुगेको छ । घाइतेहरुको म्याग्दी अस्पताल बेनीमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय पर्वतका प्रहरी नायव उपरीक्षक शिवराज बुढाथोकीले जानकारी दिनुभयो । 

एक्कासि विद्युत लाइन सर्ट हुँदा स्थानीय प्रताप आचार्यको फर्ममा रहेका ११ वटा बाख्रा मरेका छन् भने अन्य दर्जनौं घाइते भएका छन् । नेपाल विद्युत प्राधिकरण कुश्मा वितरण केन्द्रका प्रमुख शिव नारायण गोशेलीका अनुसार सामान्यतया तारमा २ सय २० भोल्टेज प्रसारण हुनुपर्ने भएपनि लाइनमा भएको लिकेजका कारण घटना भएको बताउनुभयो ।  

‘जम्परको तार पोलमा परेका कारण विद्युत प्रवाहमा समस्या आई २२० भोल्जेट प्रवाह हुनपर्ने तारमा एक्कासी हाईभोल्ट प्रवाह हुँदा यस्तो हुन्छ, ‘उहाँले भन्नुभयो यस्तो बेला ११ हजार भोल्टसम्म जानसक्छ ।’

विगत लामो समयदेखि उक्त क्षेत्रमा विद्युत अनियमिमता हुँदै आएको, तारमा आगलागी हुँदै आएको, ट्रान्सफर्मरमा समस्या आएको देखेर सव स्टेशनमा जानकारी गराउँदा समेत चासो नदिएकाले घटना घटेको स्थानीयवासीको आरोप छ ।