• १३ वैशाख २०८१, बिहिबार

निजीलाई सामुदायिक विद्यालयको चुनौती

blog

गणेश पौडेल 

पर्वत, साउन २३ गते ।  पर्वत सदरमुकाम कुस्मामा रहेको नारायण माध्यमिक विद्यालयले यस वर्षको एसईईमा धौलागिरिमा नै उत्कृष्ट नतिजा ल्याउन सफल भएको छ। सामुदायिक विद्यालयमा पढाइ हुँदैन भन्ने आम धारणालाई चुनौती दिँदै नारायाण माध्यमिक विद्यालयले गरेको प्रगति यस क्षेत्रकै उदाहरण बनेको छ। 

एसईईमा समावेश १४६ विद्यार्थीमध्ये एक जनाले ३.९ जीपीएसहित ३.६ देखि ३.९ जीपीएसम्म १७ जनाले प्राप्त गरेका छन्। त्यस्तै ३.२ देखि .६३ सम्म १९ जनाले ल्याएका छन्।  अहिले विद्यालयका ६ कक्षा माथिका सबै कक्षामा कम्तीमा दुई सेक्सन सञ्चालनमा छन्। यो विद्यालयले अङ्ग्रेजी र नेपाली माध्यममा कक्षा सञ्चालन गरेको छ। यस विद्यालयमा हरेक वर्ष भर्ना हुन जम्मा भएका विद्यार्थीको भीडले सामुदायिक विद्यालयको सुधार भएमा विद्यार्थीको चाप बढ्छ भन्ने प्रमाणित गरेको छ।

सामुदायिक विद्यालय भन्नेबित्तिकै नाक खुम्च्याइहाल्ने अभिभावकले समेत अहिले यो विद्यालयमा भर्ना गराउन भनसुन गर्ने गरेका छन्। विद्यालयका प्रधानाध्यापक गोविन्द पोखरेलका अनुसार कतिपय निजी विद्यालयबाट आउने विद्यार्थी प्रवेश परीक्षामा नै पास हुन सक्दैनन्। अहिले विद्यालयमा एक हजार दुई सय जना विद्यार्थी पढ्ने गरेको उहाँको भनाइ छ। 

विद्यालयले अङ्ग्रेजी र नेपाली माध्यममा गरी विद्यार्थीलाई पढाउने गरेकाले कक्षा ६ भन्दा माथिका हरेक कक्षामा १५० को हाराहारीमा विद्यार्थी छन्। विद्यालयमा पर्याप्त कक्षा कोठा र विद्यार्थी अनुपातको शिक्षक दरबन्दी नहुँदा भने आएका विद्यार्थीलाई समेत फर्काउनु परेको बाध्यता सुनाउनुहुन्छ पोखरेल। अहिले विद्यालयमा दरबन्दी र निजी गरी ७० जना शिक्षकले पढाउँछन्। 

जिल्लाको तिलाहारमा रहेको नव जागृत माध्यमिक विद्यालय पनि शैक्षिक हिसाबले अब्बल विद्यालय पर्छ। प्रारम्भिक बाल कक्षादेखि कक्षा १२ सम्म पढाइ हुने यस विद्यालयमा दैनिक २० वटा कक्षामा पढाइ हुन्छ। विद्यालयको १–५ बाहेक ६–१२ कक्षा हरेकमा सेक्सन छ। अहिले विद्यालयमा ३५ जना शिक्षकले अध्यापन गर्छन्। “विद्यार्थीको चाप थेगी नसक्नु छ। सीमित स्रोत र साधन भएका कारण चाहेर पनि हरेक वर्ष भर्ना हुन आउने सबै विद्यार्थीलाई पढाउन सकेका छैनौँ,” विद्यालयका प्रधानाध्यापक विष्णुप्रसाद सुवेदी भन्नुहुन्छ, “सबै विद्यार्थीलाई राख्न नसकेर प्रवेश परीक्षा लिएर छान्ने गरेका छौँ।”

अब्बल सामुदायिक विद्यालयको पङ्क्तिमा फलेवास नगरपालिका खानीगाउँमा रहेको भवानी विद्यापीठ माध्यमिक विद्यालय पनि छ। पुरानो मानिने यो विद्यालय पनि विगत केही वर्षदेखि शैक्षिक सुधार गर्दै जिल्लाकै राम्रो विद्यालयका रूपमा लिइन्छ। ग्रामीण भेगमा भएर पनि यस विद्यालयमा अहिले छ सय हाराहारीमा विद्यार्थी अध्ययनरत छन्। ती विद्यार्थीका लागि स्कुलले अङ्ग्रेजी र नेपाली माध्यममा पढाउँदै आएको छ। विद्यालयमा कम्प्युटर शिक्षा र ११/१२ मा विज्ञान विषयको समेत पढाइ हुने गरेको छ।  

यस्तै कुस्मा–२, खुर्कोटमा रहेको हिमालय माध्यमिक विद्यालय पनि शैक्षिक हिसाबले राम्रो विद्यालय मानिन्छ। बजारभन्दा नजिक तर ग्रामीण ठाउँमा रहेको यो विद्यालय नमुना विद्यालयका रूपमा छनोट भएको छ। यस विद्यालयले प्रत्येक वर्ष राम्रो नतिजा ल्याउने भएकाले पनि अभिभावक विद्यार्थीको रोजाइमा पर्न सफल भएको हो।  विद्यालयका प्रधानाध्यापक माधव रेग्मीका अनुसार विद्यालयमा कक्षा १ देखि १० सम्म मात्र ४५० विद्यार्थी अध्ययनरत छन्। उहाँका अनुसार विद्यालयले नर्सरीदेखि १० कक्षासम्म सबै कक्षामा अङ्ग्रेजी माध्यममा पठनपाठन गराउँदै आएको छ। विद्यालयमा दरबन्दी कम भएकाले केही निजी स्रोतमा शिक्षक भर्ना गराउनुपरेको रेग्मी बताउनुहुन्छ।