• २० वैशाख २०८१, बिहिबार

मर्स्याङदीले योजनाको काम बैशाख मसान्तभित्रै सक्ने

blog

लमजुङको मर्स्याङदी गाउँपालिकाको कार्यालय । तस्बिरः बेलिना थापा

लमजुङ, साउन २३ गते । लमजुङको मर्स्याङदी गाउँपालिकाले गाउँपालिकाभित्र सञ्चालित सबैखाले विकासे योजनाको काम बैशाख मसान्तभित्रै सकाउने गरी काम अघि बढाएको छ ।

गाउँपालिकाबाट सञ्चालन हुने योजना २०८० बैशाख मसान्तभित्रै सकाउने निर्णय गरेको छ । गाउँपालिका अध्यक्ष अर्जुन गुरुङका अनुसार योजना सम्झौता तथा कार्यान्वयनलाई थप चुस्त दुरुस्त र प्रभावकारी बनाउन उक्त निर्णय गरिएको हो । गाउँपालिकाले बनाएको योजना कार्यान्वयन कार्यतालिका अनुसार योजनाको भुक्तानी भने २०८० जेठ मसान्तसम्म सकाउने बताउनुभयो ।

यस्तै, योजनाहरुको टेण्डर निष्काशन २०७९ भदौ १५ गतेसम्म गर्ने भएको छ । उपभोक्ता समिति गठन २०७९ भदौ मसान्तसम्म सक्ने, उपभोक्ता समितिको तालिम असोज १५ गतेसम्म सकाइने छ । प्राविधिक स्टिमेट पुष १५ गतेसम्म गर्ने र योजना सम्झौता २०८० बैंशाख मसान्तसम्म सकाउने कार्य तालिका रहेको उपाध्यक्ष जुनामाया थापाले बताउनुभयो । असार मसान्तमा हतारहतार विकासे योजना सक्ने परिपाटीको अन्त्य गरि उक्त व्यवस्था गरेको गाउँपालिकाले जनाएको छ । बर्खाको समयमा हुने योजनाका काम गुणस्तरीय र दिगो नहुने भन्दै बर्षातको समय अगावै योजना सक्ने निर्णय गरेको जनाएको छ ।

गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत प्रेमचन्द्र अर्यालका अनुसार बैशाख महिना भित्रै सबैखाले योजनाका निर्माण तथा मर्मतकार्य सम्पन्न गर्ने निर्णय गरेको हो । विकास निर्माणलाई गुणस्तरीय र दिगो बनाउन चालु आर्थिक बर्ष सक्न दुई महिना अगाबै योजना सक्ने निर्णय गरेको बताउनुभयो । उहाँका अनुसार योजना सम्झौता गर्दा १० लाख रुपियाँसम्मको योजना वडा कार्यालयबाट सम्झौता गर्ने व्यवस्था मिलाएको छ । १० लाख भन्दा माथिको योजना भने गाउँपालिकामा सम्झौता गर्ने व्यवस्था मिलाइएको छ ।

गाउँपालिकाको गाउँपालिका स्तरीय अनुगमन समितिको संयोजकमा उपाध्यक्ष जुनामाया थापा रहनुभएको छ । सदस्यहरुमा प्रशासन शाखा प्रमुख, प्राविधि शाखाका प्रमुख, सम्बन्धित शाखा प्रमुख र सदस्य सचिवमा योजना शाखा प्रमुख रहेका छन् । वडास्तरीय अनुगमन समितिको संयोजकमा वडाध्यक्षहरु रहेका छन् । सदस्यहरुमा सम्बन्धित भूगोलको वडा सदस्य, वडा प्राविधिक, सम्बन्धित विषयको वडाको कर्मचारी, (कृषि, पशु, स्वास्थ्य, शिक्षा) र सदस्य सचिवमा वडा सचिव रहेका छन् ।

Author
बेलिना थापा

उहाँ गोरखापत्र प्रकाशनका लागि लम्जुङ समाचारदाता हुनुहुन्छ ।