• ७ जेठ २०८१, सोमबार

आठ वर्षमा बन्यो सेतीदोभान पुल

blog

स्याङ्जा समाचारदाता 

स्याङ्जा, साउन २२ गते । अर्जुन चौपारी –१ को केवरे र आँधीखोला गाउँपालिका –५ सेतीदोभानमा मोटरेबल पुल निर्माण भएको छ । सिद्धार्थ राजमार्गबाट हेलु–अर्जुन चौपारी हुँदै पर्वतको केवरेखोलामा यसअघि नै पुल निर्माण भइसकेको छ ।  तर, नागडाँडा–आँधीखोला हुँदै पर्वत जाने बाटोमा पर्ने सेतीखोलामा भने आठ वर्षपछि पुल बनेको हो। पुल निर्माण ठेक्का सम्झौता भएको छ महिनामै दुवैतर्फको खोला किनारमा पुलको फाउन्डेसन बनाइएको थियो। 

कान्छाराम आशिष जेभीले २०७१ असोज २६ गते सडक डिभिजन कार्यालय पोखरासँग दुई वर्षमा काम सक्ने गरी पुल निर्माणको सम्झौता गरेको थियो। निर्माण कार्य आठ वर्षपछि सम्पन्न भएको छ। 

करिब ४० मिटर लम्बाइ र सात मिटर चौडाइको एक स्पानको यो पुल तीन करोड २७ लाखको लागतमा निर्माण सम्झौता गरिएको थियो। निर्माण कार्य सुरु हुँदै पटक–पटक रोकिँदा ढिलो भएको हो।

पछिल्लो समयमा स्थानीयको दबाबपश्चात् चार महिनामा सकिएको पुल निर्माण व्यवसायीको लापरबाहीले वर्षौंसम्म निर्माण हुन सकेको थिएन। पहिलो पटक फाउन्डेसनपछि रोकिएको कामको पुनःमूल्याङ्कनपश्चात् निर्माण कम्पनीले सुरु गरेको थियो।  दोस्रो पटक रडको गुणस्तरियतामा प्रश्न उठेपछि काम रोकिएको हो । पुलको मुख्य बिम ढलान गर्ने तयारीका बेला रड सानो भएपछि निर्माणको काम रोकिएको थियो। पर्यटकीय गाउँ शिरुबारीलगायत विभिन्न ठाउँमा जान पुल नबन्दा समस्या भएको थियो। 

अब पुल बनेसँगै लामो समयदेखिको पुल तरेर सवारीसाधन चढ्ने चाहना पूरा भएको गाउँपालिका अध्यक्ष विश्व पौडेलले बताउनुभयो। सिद्धार्थ राजमार्ग अर्जुन चौपारी हुँदै पर्वत बागलुङ जोड्ने केवरेखोला पुल जन विश्व/विवेक एण्ड कुबेरले सम्झौताको समयमै बनाएको हो। 

पूर्वाधार विकास कार्यालय स्याङ्जासँग निर्माण कम्पनीले २०७८ जेठ १६ गते सम्झौता गरेकोमा पुल समयमै सकिएको इन्जिनियर सिर्जना शर्माले बताउनुभयो। १५ मिटर लम्बाइ र साढे आठ मिटर चौडाको सो पुल दुई करोड १५ लाख ९६ हजार ५६४ रुपियाँ निर्माण सम्पन्न भएको हो। पुल निर्माण भएसँगै अर्जुन चौपारी, फलेबास पर्वत, बागलुङ जान सहज भएको छ।