• १४ वैशाख २०८१, शुक्रबार

हुर्किदै र पढ्दै असहाय बालबालिका

blog

बालगृहका कर्मचारीका साथमा आश्रय लिएर बसेका बालबालिकाहरु । तस्विर: ठाकुरप्रसाद आचार्य

म्याग्दी, साउन २२ गते । सानै उमेरमा बावुको मृत्यु र आमा अर्कैसँग विवाह  गरि घर छाडेपछि सहाराविहिन हुनुभएकी कष्णकुमारी भण्डारीले अहिले बेनी बजार स्थित प्रकाश माविको कक्षा ९ मा अध्ययनरत हुनुहुन्छ । सातवर्षको उमेरमै भण्डारीलाई बुवा र आमाको साथ गुमे पनि बेनी स्थित बालगृहले साथ दियो । घरपरिवारकै सरह स्यारसुसार र पारिवारिक वातावरण मिलेपछि भण्डारीलाई आमाबुवाको अभाव खड्किएको छैन । 

अभिभावक विहिन हुनुभएकी भण्डारीलाई आफ्नो फुपुले बालगृहको जिम्मा लगाउनुभयो । ‘म सात वर्षकी थिएँ,फुपुले मलाई यहाँ छाड्नुभयो भण्डारीले भन्नुभयो,‘मैले बुवा आमाबाट पाउने जस्तै माया यहाँ पाएकी छु ।’ ‘म बाल्यकाल छँदा बुवाको मृत्यु अनि आमा कता जानुभयो मलाई त्यतिबेलाको जानकारी छैन । ९ वर्ष देखि बालगृहमा छु मेरो बुवा आमा भने पनि,घर भने पनि यही हो’ । भण्डारीले भन्नुभयो । 


भण्डारी मात्र होइन यहाँ सानै उमेरमा बावु आमा गुमाएका ४ जना सहित १० जना बालबालिकाहरुले आश्रय लिएका छन् । बालगृहको सहयोगमा बेनी सामुदायिक विद्यालयमा ४, प्रकाश माविमा २, न्यू वेष्ट पोइन्ट विद्यालयमा १  र बालमन्दिर विद्यालयमा ३ जना बालबालिकाले अध्ययन गर्दछन् । 

नेपाल बालसंगठनले सञ्चालन गरेको बालगृहमा उनीहरुलाई घरकै वातावरण अनुसार पालनपोषण र स्यारसुसार गरिन्छ । बालगृहले आमा, बावु, वा संरक्षक विहीन, वेवारिसे, असहाय, अनाथ बालबालिकाहरुलाई आश्रय र खानपिन, सुरक्षा,पालनपोषण तथा शिक्षा प्रदान गर्दै आएको छ । अहिले बालगृहमा तिन छात्र र ७ छात्रा गरी १० जना बालबालिका छन् । उनीहरुलाई बेनीका विभिन्न विद्यालयहरुमा पठनपाठनको व्यवस्था बालगृहले मिलाएको छ । कक्षा १२ सम्मको पढाई सकेपछि उनीहरुलाई आफन्तको जिम्मा लगाउने गरिन्छ । बुवा आमा गुमाए वा अभिभावक शारिरिक रुपमा अशक्त भई छोराछोरीको पालनपोषण र पढाउन नसकेर असहाय भनेका बालबालिकाहरुलाई बालगृहले सहयोग गर्ने गरेको छ । 

बेनी नगरपालिका २ ज्यामरुककोटका वर्ष १६ का हिरा नेपालीले बेनीको प्रकाश माविमा कक्षा ९ मा अध्ययन गर्नुहुन्छ । नेपाली बालगृहमा बसेको ८ वर्ष भयो । ६ वर्ष हुँदा बुवा आमाको नेपालीले साथ गुमाउनुभयो । दाजु र वहिनी दुवै जनालाई बालगृहले आश्रय दियो । ‘दाजु कृष्ण नेपालीले गत वर्ष एसईई उत्तीर्ण गरेर अन्यत्र पढ्न जानुभयो, ‘हामी दुई भाई नै यही बालगृहमा हुर्कियौं । आफ्नै आमा बुवाको माया भन्दा यहाँ कुनै कुराको कमि छैन ।’ 

बावु आमा गुमाएका र अभिभावक अशक्त भई हेरचाह गर्न नसक्ने साहाराविहिन बालबालिकालाई बालगृहले आश्रय दिने गरेको बालगृहका प्रमुख सुजन केसीले जानकारी दिनुभयो । दाताहरुबाट प्राप्त भएको चन्दा सहयोगबाट बालबालिकालाई पालनपोषण  गरिएको उहाँले बताउनुभयो । पछिल्ला वर्ष स्थानीय तहबाट सहयोग रकम आउन छाडेपछि बालगृह सञ्चालनमा कठिनाई भएको उहाँको भनाई छ । जन्म दिन र विवाह वर्षगाठका अवसरमा बालगृहमा आएर दाताहरुले सहयोग गर्ने गरेको उहाँले बताउनुभयो । 

सीमित भौतिक पूर्वाधारका साथै बालगृह सञ्चालन गर्न बजेटको कमीका कारण चाहेजतिको संख्यामा बालबालिकालाई राख्न नसकिएको बालसंगठनका अध्यक्ष राजेश शाक्यले बताउनुभयो । अहिले पनि २२ जना अनाथ बालबालिकाहरु सम्पर्कमा आएका छन् उहाँले भन्नुभयो ‘ति बालबालिकालाई राख्ने क्षमता हामीसँग छैन ।’ 

व्यवसायिक प्रयोजनका लागि भाडामा लगाएवापत मासिक रुपमा ६० हजार रुपियाँ बालसंगठनलाई आम्दानी हुने  गर्दछ । भाडा र चन्दा सहयोगबाट प्राप्त भएको आम्दानीले बालगृह सञ्चालन गरिएको अध्यक्ष शाक्यले बताउनुभयो । बालगृहलाई व्यवस्थित रुपमा सञ्चालन गर्न सरकारी स्तरबाट पनि सहयोग हुनुपर्ने उहाँको भनाई छ । 

Author

ठाकुरप्रसाद आचार्य