• १६ चैत २०८०, शुक्रबार

राष्ट्रिय गौरवतर्फ सिँचाइका आयोजना प्रगतिउन्मुख

blog

बुढीगण्डकी जलविद्युत् आयोजना । फाइल तस्बिर

काठमाडौँ, साउन २१ गते । सरकारले असाध्यै महत्व दिएर अगाडि बढाएका राष्ट्रिय गौरवका आयोजनाको कार्यप्रगति औसतभन्दा पनि कमजोर रहेको बेला ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय मातहतका त्यस्ता परियोजनाले भने आव २०७८/७९ मा भने उल्लेख्य प्रगति गरेका छन् ।     

भौतिक तथा वित्तीय प्रगतिका हिसाबले ती आयोजनाको प्रगति उल्लेख्य रहेको पाइएको छ । मन्त्रालयमातहत विभिन्न सातवटा सिँचाइका आयोजना राष्ट्रिय गौरवका आयोजनाका रूपमा सूचीकृत छन् । मन्त्रालयमातहत रहेका आयोजनामा महाकाली सिँचाइ, रानी जमरा कुलरिया, बबई, भेरी बबई डाइभर्सन बहुउद्देश्यीय आयोजना, सिक्टा सिँचाइ, सुनकोसी मरिण डाइभर्सन आयोजना र विद्युत्तर्फ बुढीगण्डकी जलविद्युत् आयोजना छन् ।     

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले केही दिनअघि सम्पन्न गरेको मन्त्रालयस्तरीय विकास समस्या समाधान समितिको बैठकमा पेश भएको विवरणानुसार गत आवमा राष्ट्रिय गौरवका रहेका आयोजनाको प्रगति राम्रो रहेको पाइएको हो ।     

कैलाली र कञ्चनपुर जिल्लाको ३३ हजार पाँच सय २० हेक्टर कृषियोग्य भूमिमा दिगो र भरपर्दोरूपमा सिँचाइ सुविधा उपलब्ध गराउने लक्ष्य राखिएको महाकाली सिँचाइ आयोजनाको आव २०७८र७९ को वार्षिक भौतिक प्रगति ९९.३९ प्रतिशत र वित्तीय प्रगति ९४.०२ प्रतिशत बराबर रहेको छ । समग्रमा सो आयोजनाको प्रगति भने न्यून छ । तर सो आवको वार्षिक प्रगति भने सकारात्मक देखिएको हो ।     

यस्तै सिँचाइतर्फकै अर्को आयोजना सिक्टाको पनि वार्षिक प्रगति राम्रो रहेको पाइएको छ । मन्त्रालयका अनुसार आव २०७८/७९ मा सो आयोजनाको वार्षिक भौतिक प्रगति ७५.९३ प्रतिशत र वित्तीय प्रगति ७७.७३ प्रतिशत बराबर भएको छ । सो आयोजनाको पुलसहित ३१७ मिटर लामो ब्यारेज सम्पन्न भएको छ । कुल ४५.२५ किलोमिटर लामो पश्चिम मूल नहर सम्पन्न भएको छ । पूर्वी नहरको कार्य ८६.१६ प्रतिशत सम्पन्न भई फत्तेपुर लिङ्क नहरसम्म पानी सञ्चालन भएको छ । पश्चिम नहरको सिधनिया शाखा १२.९ किलोमिटरसम्म नहर निर्माण, अकलगरवहवा शाखा ४.६ किलोमिटरसम्म पूरा भएको छ ।     

अनेकन समस्यामा परेको सो आयोजना निर्माणको अन्तिम चरणमा छ । आयोजना सम्पन्न भएपछि बाँके जिल्लाको ४२ हजार सात सय ६६ हेक्टर जमिनमा सिँचाइ सुविधा उपलब्ध हुनेछ । बर्दियाको करिब ३६ हजार हेक्टर क्षेत्रफलमा सिँचाइ सुविधा उपलब्ध गराउने लक्ष्यका साथ सुरु भएको बबई सिँचाइ आयोजनाको पनि वार्षिक प्रगति भने राम्रो छ । मन्त्रालयका अनुसार सो आयोजनाको आव २०७८/७९ मा भौतिक प्रगति ८५.६५ प्रतिशत र वित्तीय प्रगति ९८.४७ प्रतिशत बराबर रहेको छ । आयोजनाको करिब ८०.२८ किलोमिटर मूल नहर निर्माण, हेडवक्र्स एक, २५.२५ किलोमिटर नदी नियन्त्रण र दुई सय ३५.६३ किलोमिटर शाखा, उपशाखा र प्रशाखा नहर निर्माण सम्पन्न भएको छ ।     

यस्तै बारा, रौतहट, सर्लाही, महोत्तरी, धनुषा जिल्लाको हाल बागमती सिँचाइ आयोजनाबाट रौतहट र सर्लाहीको कुल ४५ हजार छ सय हेक्टरसमेत कूल एक लाख २२ लाख हेक्टरमा सिँचाइ सुविधा पु¥याउने र ३१.०७ मेगावाट बिजुलीसमेत उत्पादन गर्ने लक्ष्यका साथ सुरु गरिएको सुनकोसी मरिण डाइभर्सन बहुउद्देश्यीय आयोजनाको वार्षिक प्रगति राम्रो रहेको पाइएको छ ।     

सो आयोजनाको आव २०७८/७९ को वार्षिक भौतिक प्रगति ९८.६७ प्रतिशत र वित्तीय ९१ प्रतिशत बराबर छ । आयोजनाको रामेछाप जिल्लाअन्तर्गतको डुबानमा पर्ने जग्गा अधिग्रहणको सम्बन्धमा जग्गाको मूल्याङ्कन सम्पन्न भई मुआब्जा वितरणको कार्य भइरहेको छ । सिन्धुली जिल्लातर्फको जग्गाको मूल्याङ्कन सम्पन्न भई मुआब्जा वितरणको कार्य सम्पन्न भएको छ ।     

सुरुङ निर्माणका लागि ठेक्का सम्झौता भई आयोजनास्थलमा निर्माण व्यवसायी परिचालन भएका छन् । टनेल बोरिङ मेसिन ९टिबीएम०ले सुरुङ खन्नका लागि आवश्यक संरचनासमेत तयार भइसकेको छ । टिबीएमका सामान कोलकाता बन्दरगाह हुँदै नेपाल आउने क्रममा छन् । केही सामान निर्माणस्थलमा आइपुगेको छ भने जडानकार्यसमेत भइरहेको छ ।     

बाँके र बर्दियाको कुल ५१ हजार हेक्टर क्षेत्रफलमा सिँचाइ सुविधा उपलब्ध गराउने लक्ष्यका साथ सुरु भएको भेरी बबई डाइभर्सन आयोजनाको पनि आव २०७८/७९ को वार्षिक भौतिक प्रगति ८०.७० प्रतिशत र वित्तीय प्रगति ७२.०६ प्रतिशत बराबर छ । सो आयोजनाको १२.२० किलोमिटर लामो सुरुङ निर्माण सम्पन्न भइसकेको भए पनि बाँध तथा विद्युत्गृह निर्माणको काम प्रभावकारी बन्न सकेको छैन । सो आयोजनाको संशोधित लागत अनुमान रु ३६ अर्ब ८० करोड ७७ लाख ४२ हजार बराबर छ । बाँध र विद्युत्गृहको भौतिक प्रगति भने ४१ प्रतिशतमात्रै छ । आयोजनाबाट कुल ४६.८ मेगावाट बिजुलीसमेत उत्पादन हुन्छ । सो आयोजनाको कुल भौतिक प्रगति भने ५७ प्रतिशत बराबर छ । 

सिँचाइतर्फकै अर्को आयोजना रानी जमरा, कुलरियाको आव २०७८/७९ को वार्षिक भौतिक प्रगति ७२ प्रतिशत र वित्तीय प्रगति ६९.१३ प्रतिशत बराबर छ । सो आयोजनाको हालसम्म मूल नहरको सम्पूर्ण कार्य सम्पन्न भएको छ । सो आयोजनाबाट कैलाली जिल्लाको २० हजार तीन सय हेक्टर क्षेत्रफलमा सिँचाइ सुविधा उपलब्ध हुन्छ ।

यस्तै मन्त्रालयतर्फको अर्को महत्वपूर्ण आयोजना बुढीगण्डकी जलविद्युत् आयोजना निर्माणका लागि सरकारले कम्पनी स्थापनाको प्रक्रिया अन्तिम चरणमा पुगेको जनाएको छ ।बुढीगण्डकी  आयोजनाको आव २०७८/७९ को वार्षिक भौतिक प्रगति ९८ प्रतिशत बराबर छ । आयोजनाको वार्षिक बजेट रु छ अर्ब १६ करोड ८० लाख बराबर रहेकामा रु छ अर्ब चार करोड २६ लाख बराबर खर्च भएको छ ।

आयोजनाको डुबान क्षेत्रमा पर्ने गोरखा र धादिङ जिल्लाको कुल ४८ हजार नौ सय ९१ रोपनी जग्गाको मुआब्जावापत रु ३४ अर्ब नौ करोड बराबर वितरण भइसकेको छ । सो आवमा मात्रै २०७ रोपनी जग्गाको मुआब्जा वितरण गरिएको थियो । डुबान क्षेत्रमा पर्ने २२ हजार एक सय ६४ घर गोठलगायत भौतिक संरचनाको लागि रु चार अर्ब ८८ करोड ३१ लाख साथै फलफूल तथा बोटबिरुवाको क्षतिपूर्ति निर्धारण गरी छ लाख ४१ हजार पाँच सय २८ वटा फलफूल तथा बोटबिरुवाका लागि रु ९२ करोड ३४ लाख बराबर वितरणकार्य सम्पन्न भएको छ ।

निरन्तरको प्रयासका बाबजुद राष्ट्रिय गौरवका आयोजनाको प्रगति प्रभावकारी हुन सफल भएको ऊर्जा, जलस्रोत तथा सिँचाइमनत्री पम्फा भुसालको भनाइ छ । उहाँले नियमितरूपमा प्रगति प्रतिवेदन माग्ने तथा समस्या फुकाउन केन्द्रित भएर लाग्दा आयोजनाको प्रगति उल्लेख्य भएको जानकारी दिनुभयो । अपेक्षितरूपमा काम नभए पनि आव २०७८/७९ को वार्षिक प्रगति भने राम्रो रहेको उहाँको भनाइ छ ।