• २४ साउन २०७९, मङ्गलबार

कोरोनाबाट जोगिन स्वास्थ्य सतर्कता

blog

विश्वका अन्य देशसँगै नेपालमा पनि पछिल्लो समय कोरोना (कोभिड–१९)को सङ्क्रमणको दर क्रमशः उकालो लागेको पाइएको छ। कोरोना सङ्क्रमण बढेसँगै पर्याप्त सतर्कता पनि आवश्यक देखिएको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले बुधबार ९१५ जना कोरोना सङ्क्रमित भेटिएको जनाएको छ। मन्त्रालयका अनुसार छ हजार दुई जनाको नमुना परीक्षण गर्दा ९१५ जना सङ्क्रमित भेटिएका हुन्।  ९१५ जना नयाँ सङ्क्रमितसँगै  सक्रिय सङ्क्रमितको सङ्ख्या पाँच हजार ४३३ पुगेको छ। 

नेपालमा हालसम्म कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या ११ हजार ९६८ पुगिसकेको छ। कोरोना सङ्क्रमितको सङ्ख्या बढेसँगै सरकार र मातहतका सम्बद्ध निकायले सचेतना अभियान सञ्चालन गरेर सतर्कतामा जोड दिएका छन् तर जनसामान्य भने स्वास्थ्य मापदण्डको पालनामा उदासीन पाइएको छ। कोरोनाको भाइरस मानिसबाटै मानिसमा सर्छ भन्ने प्रमाणित भइसकेको अवस्थामा मानिसले मानिसबाटै सतर्क रहनुको विकल्प छैन। नागरिकले यो तथ्य जति छिटो बुझ्ने प्रयत्न गर्छ, यसको रोकथाम पनि त्यति नै छिटो हुन्छ। 

कोरोना नाम स्वयंमा नयाँ होइन तर वर्तमानमा अचानक यो नाम चर्चाको शिखरमा पुगेको छ। यसको कारण हो– कोरोना भाइरसको आतङ्क। विज्ञहरूका अनुसार कोरोना भाइरस पनि नयाँ होइन। विगतमा पनि कुनै न कुनै रूपमा यो अस्तित्वमा थियो तर यति विघ्न आतङ्क फैलिएको थिएन। हालसम्म प्राप्त विवरणका आधारमा विश्लेषण गर्ने हो भने यो रोग प्रतिरोधात्मक क्षमता (इम्युनिटी पावर)सँग जोडिएको छ। जुन भूगोलका व्यक्तिमा प्रतिरोधात्मक क्षमता कमजोर र स्वास्थ्य सेवाको उपलब्धता जटिल छ, त्यहाँ यसले बढी आक्रमण गरेको छ। कमजोर प्रतिरोधात्मक क्षमताकै कारण यस भाइरसले ६० वर्षभन्दा माथिका व्यक्तिलाई बढी समस्याग्रस्त बनाएको पाइएको छ। 

त्यसो त यसका सन्दर्भमा अनेक विश्लेषण गरेर विद्वता देखाउनेको कमी छैन। हुँदाहुँदा एक जना विश्लेषकको एउटा आलेख नेपालको नाम चलेको पत्रिकामा प्रकाशित भयो। तिनले यसको सम्बन्ध पुँजीवादी व्यवस्थासँग पनि जोडे। यस्ता मत राख्नेहरूका अनुसार पुँजीवादीले आफ्नो व्यापार बढाउन कोरोनाको आतङ्क प्रसार गरेका हुन्। अर्काथरि कथित विद्वान् छन्, उनीहरूले यसमा जैविक हतियारको सम्भावना देख्छन्। त्यस्ताका अनुसार यो अमेरिका र चीनबीचको सङ्घर्षको परिणाम हो र कोरोनालाई जैविक हतियारका रूपमा परीक्षण गरिएको हो। त्यस्ता विद्वान् अमेरिका र चीनबीच कस्तो र केका लागि सङ्घर्ष छ भन्नेचाहिँ खुलाउन चाहँदैनन्। 

यस्तै एकथरि स्वनामधारी छन्, जो कोरोनाको आतङ्क प्रसारमा पश्चिमा मिडियाको चलखेल देख्छन्। उनीहरूका अनुसाार कोरोना जति खतरनाक छ, त्योभन्दा बढी खतरनाक यसलाई पश्चिमा मिडियाले बनाएका छन्। उनीहरूले आफ्ना पक्षमा अतिरञ्जित तरिकाले कोरोनालाई जनसमक्ष पस्केका छन्। सत्य जेसुकै पनि हुन सक्छ वा सत्य यीमध्ये केही नहुन पनि सक्छ। एउटा सत्य कुराचाहिँ के हो भने कोरोना कमजोर भाइरस हो। कतिपय सन्दर्भमा रुघाखोकीको सामान्य औषधि र केही सचेतनामूलक कार्यले यो भाइरस परास्त हुन सक्छ। सबभन्दा चिन्ताको विषय के हो भने यसमा एक ठाउँबाट अर्को ठाउँसम्म सर्न सक्ने क्षमता धेरै छ। आमव्यक्ति सबभन्दा बढी सचेत हुनुपर्ने यसै सन्दर्भमा हो। 

कोरोना भाइरसका कारण अहिले सम्पूर्ण विश्व त्रस्त र आक्रान्त बन्न पुगेको छ। समकालीन विश्वमा महामारीको रूप ग्रहण गरिरहेको यो भाइरसजन्य रोग अहिले स्वास्थ्य विज्ञानका लागि चुनौती बनेको छ। विज्ञहरूका अनुसार निमोनियाजस्तै रोग निम्त्याउने यो भाइरसले सामान्यतया रुघा, खोकी र ज्वरोको लक्षण देखाउँछ। शरीर दुख्ने, अत्यधिक थकान अनुभव हुने र श्वास लिन कठिन हुनेजस्ता समस्यालाई विस्तार गर्दै यो भाइरसले मानिसलाई मृत्युको मुखसम्म लैजाने कुरा विज्ञहरूले बताएका छन्। विश्वमा यो भाइरस पछिल्लोपटक सबभन्दा पहिलो चीनमा देखिएको हो । सन् २०१९ डिसेम्बरमा चीनको वुहान प्रान्तमा पहिचान भएको हो। यो भाइरसजन्य रोग सोही डिसेम्बरपछि विश्वभरि फैलियो। त्यसपछि पटकपटक गरी तीन पटक यस रोगको सङ्क्रमणको लहरबाट विश्व आक्रान्त हुन पुग्यो। 

अहिले एक पटक पुनः यस भाइरसको सङ्क्रमण बढेको अनुभव गरिएको छ। यस रोगबाट कति जनाको मृत्यु भएको कुरा हालसम्म यकिन हुन सकेको छैन तर एउटा कुरा के सत्य हो भने उपयुक्त औषधिको अभावमा थुप्रै व्यक्तिले समस्या भोग्नु परेको छ। त्यसो त पछिल्लो समयमा यस रोगसँग सङ्घर्ष गर्ने सन्दर्भमा केही खोपको अविष्कार त भएको छ तर यी खोप पनि दीर्घकालीन प्रभावका नहुँदा भविष्यमा समस्या निम्तिन सक्ने सम्भावना अस्वीकार गर्न सकिँदैन। 

यो भाइरस हावाभन्दा पनि सिँगान, खकार, हाँच्छ्यु, पसिना, हातको सम्पर्क आदिबाट सर्ने सम्भावना व्यक्त गरिएको छ। विज्ञहरूले जनसामान्यलाई मास्क प्रयोग गर्न, साबुनपानीले हात धुन, सेनिटाइजर प्रयोग गरी हात सफा राख्न, भीडभाडमा नजान, एकआपसमा हात नमिलाउनजस्ता सावधानी अपनाउन आह्वान गर्दै आएका छन्। यस आधारमा सरकारले पनि आवश्यक तयारी गर्नुपर्ने हो, आशा गरौँ, सरकार यसप्रति निश्चय पनि गम्भीर होला नै। जनतालाई परेको यस पीडाबाट लाभ उठाउन व्यापारीले कालाबजारीलाई प्रश्रय दिएको पाइएको छ तर नियन्त्रणका दिशामा खासै पहल हुन सकेको पाइएको छैन। भीडभाडमा जनसामान्यलाई नजान भनिए पनि सार्वजनिक यातायातका साधनको सङ्ख्या र स्तरमा सुधारतर्फ भने सरकारले हालसम्म कुनै तदारुकता अपनाएको पाइँदैन। देशको राजधानीकै यो हालत छ भने देशका दूर दराजका गाउँको हालत के होला ? स्वतः अनुमान गर्न सकिन्छ। 

नेपाली जनता धैर्यवान र चेतनशील छन्। जस्तै समस्याको समाधान पनि जनस्तरबाटै खोज्न सक्ने क्षमताका धनी छन्। यस पटक पनि समस्याको समाधान मिलेरै गर्नेछन्। यो भाइरसलाई जुन प्रकारले हौवा बनाइएको छ, खासमा त्यस्तो होइन। यो शक्ति राष्ट्रबीचको सङ्घर्षको परिणाम पनि होइन। यो पुँजीवादी शक्तिहरूको रणनीति पनि होइन। यो त सामान्य भाइरस हो, जो मानिसकै कारणले अत्यधिक प्रसार हुने अवस्थामा आयो। 

यो भाइरसबाट लाग्ने रोगको मृत्युदर अत्यन्त न्यून भएको पाइएबाट यो रोग चर्चामा रहेजस्तो भयानक होइन तर समस्या के हो भने यसको कुनै औषधि अहिलेसम्म निर्माण हुन सकेको छैन। त्यसैले सावधानी अपनाउनु नै यो रोगको प्रतिकारको मुख्य औजार हो। यसमा देशका प्रत्येक तहका सरकारको भूमिका सहयोगी हुनु अनिवार्य छ तर यस दिशामा सरकार एक्लैको प्रयास मात्र पर्याप्त नहुने पक्का छ। आमव्यक्तिले हतोत्साही हुनुपर्ने कुनै कारण छैन। सावधानी र सतर्कता अपनाइए यस भाइरसबाट हुने जोखिम न्यून गर्न सकिन्छ। निश्चय पनि नेपाली जनता यसका लागि तयार रहेको विश्वास गर्न सकिन्छ। मिडियाले पनि अतिरञ्जनालाई त्यागेर सचेतना जागृत गर्ने महाअभियानमा जुट्नु अनिवार्य छ।