• ६ वैशाख २०८१, बिहिबार

पुबुदुको धोकापछि नयाँ प्रशिक्षक खोज्दै क्यान

blog

फाइल तस्बिर

काठमाडौं, साउन १९ गते । नेपाली राष्ट्रिय क्रिकेट टोलीको प्रदर्शन पछिल्लो समय खस्किएको अवस्था छ । यसअघि २०१४ मै टी–२० विश्वकप खेलिसकेको नेपालका लागि पछिल्लो समय विश्वकप मृग  तृष्णा जस्तै बनेको छ । 

विस्तारै नेपालकाे एक दिवसीय मान्यता गुम्छ कि भन्ने डर पनि उत्तिकै छ । क्रिकेट खेलाडी र नेपाल क्रिकेट संघ (क्यान) भित्रको शीतयुक्त अझै साम्य भइसकेको छैन । मैदानमा खेलाडीले आफ्नो क्षमता अनुसार प्रदर्शन गर्न नसकेको विषयमा विभिन्न शंका र उपशंका उब्जिएका छन् । नेपालकाे विस्तारै आईसीसी वरीयतासमेत खस्कने डर छ । 

नेपाल क्रिकेट संघ (क्यान) खेलाडीको सेवा र सुविधा बढाएर अधिकतम अन्तर्राष्ट्रिय एक्पोजर दिएर पनि खेलाडीले आशातित प्रदर्शन गर्न नसेकेकोमा निराश बनेको छ । क्यानले नेपाली क्रिकेटले थप उचाई लिन्छ भन्ने उद्देश्यले पछिल्लो पटक पुनः पुबुदु दसानायकेलाई प्रशिक्षमा नियुक्त गरेको थियो । 

पुबुदुलाई प्रशिक्षक बनाउनुमा क्यानमा रहेको पदाधिकारी र खेलाडी बीचको असन्तुष्टीको खाडल मेट्नु पनि थियो । तर, गत मंसिरमा दुई वर्षका लागि नेपाली टोलीको प्रशिक्षकका लागि सम्झौता गरेका पुबुदुले हालै राजीनामा दिएर क्यानडा फर्किनु भएको छ । उहाँ राजीनामा दिएको केही समयमा नै क्यानडाको प्रशिक्षक नियुक्त हुनुभएको थियो । 

त्यसैले अहिले क्यानलाई नयाँ प्रशिक्षकको व्यवस्था गर्नुपर्नेछ । नेपाली क्रिकेट टोलीले लगातार अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्ने तयारीमा रहेकोले क्यान अहिले नयाँ प्रशिक्षकको खोजीमा छ । क्यानका कार्यवाहक सचिव प्रशान्त मल्लले क्यान अहिले अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी)सँग समन्वय गरेर नयाँ प्रशिक्षकको खोजीमा रहेको बताउनुभयो । ‘पुबुदुसँग क्यानले धेरै आशा गरेको थियो । विश्वका राम्रा प्रशिक्षकको प्रस्तावलाई छाडेर हामीले पुबुदुलाई विश्वास  गरेका थियौं । तर, पुबुदुबाट एक प्रकारको धोका र बेइमानी भयो,’ मल्लले भन्नुभयो । 

मल्लले आफूले आईसीसीलाई पत्र पठाई सकेको र छिट्टै प्रशिक्षक नियुक्त हुन सक्ने बताउनुभयो । उहाँले नेपाल अगस्ट तेस्रो साता केन्यासँग पाँच वटा टी–२० र दुई वटा एक दिवसीय सिरिज खेल्ने तयारीमा रहेकोले केन्य भ्रमण अघिनै नेपालले प्रशिक्षक पाइसक्ने जानकारी पनि दिनुभयो । 

‘सिरिजका लागि प्रशिक्षक चाहिन्छ । नयाँ प्रक्रियाबाट प्रशिक्षक खोज्दा लामो समय लाग्न सक्छ । त्यसैले यसअघि प्राथमिकताको (वैकल्पिक) सूचीमा रहेका व्यक्तिबाटै प्रशिक्षक बन्नेछन् । नयाँ बन्ने प्रशिक्षक भारतीय नै हुनुहुनेछ । क्यानले दुई तीन दिनमै प्रशिक्षक सार्वजनिक गर्नेछ,’ मल्लले भन्नुभयो । क्यानका अनुसार नयाँ बन्ने प्रशिक्षकको मासि तलव १५ हजार अमेरिकी डलर (पुबुदुकै जति) हाराहारी हुनेछ । 

केन्या क्रिकेट अध्यक्ष पटेल नेपालमा 

नेपालसँगको सिरिज तय गर्नका लागि केन्या क्रिकेट संघका अध्यक्ष मनोज पटेल नेपाल आउनुभएको छ । अध्यक्ष पटेल र क्यानका पदाधिकारीबीचको छलफलपछि सिरिजको मिति तय हुने अध्यक्ष पटेलले बताउनुभयो । 

बिहीबार सञ्चारकर्मीसँग कुरा गर्दै पटेलले भन्नुभयो, ‘नेपाली टोलीलाई बोलाएर घरेलु मैदानमा दुई पक्षीय सिरिज गर्न लागेका हौं । यसले दुवै देश बीचको क्रिकेट विकासमा सहयोग पुग्छ भन्ने लागेको छ । हामी क्रिकेटमार्फत् एक आपसको सम्बन्ध विस्तार गर्न पनि  चाहन्छौं । यसले दुवै देशको क्रिकेट विकासमा थप उचाई लिने विश्वास गरेका छौं ।’ उहाँले नेपाली टोलीको केन्या भ्रमणको सम्पूर्ण खर्च केन्याले नै बेहोर्ने पनि बताउनुभयो । 


पटेलले केन्या क्रिकेट संरचनाको हिसाबले बलियो रहे पनि पछिल्लो समय प्रदर्शन खस्किएको बताउनुभयो । ‘हामी कुनै समय नियमित विश्वकप खेल्ने र टेस्ट राष्ट्रलाई हराउने भएका थियौं । तर, अहिले केन्याको क्रिकेट तल छ । अब हामी विस्तारै माथि जाने तयारीमा छौं,’ भर्खर अध्यक्षमा निर्वाचित पटेलले भन्नुभयो । 

उहाँले नेपालको क्रिकेट अहिले केन्याको भन्दा धेरै राम्रो रहेको बताउँदै आफ्नो कार्यकालमा केन्याको क्रिकेटलाई पनि माथि लैजाने दाबी गर्नुभयो । पटेलले भन्नुभयो, ‘केन्याको इतिहास सुनौलो छ । दक्षिण अफ्रिकापछि हामी क्रिकेट संरचनामा चिनिएको अफ्रिकी देश हौं । तर, कहिले काँही दुभाग्य हुँदो रहेछ । क्रिकेटमा उतारचढाव भइनै रहन्छ ।’