• १० मंसिर २०८१, सोमबार

साठी अर्बमा टर्मिनल भवन

blog

सांकेतिक तस्बिर

काठमाडौँ, साउन १८ गते ।  गत आर्थिक वर्षमा लक्ष्यको आधा पनि खर्च गर्न नसकेको नेपाल नागारिक उड्डयन प्राधिकरणले चालू आर्थिक  वर्षमा ६० अर्ब लागतमा नयाँ टर्मिनल भवन बनाउने भएको छ । प्राधिकरणले दुई अन्तर्राष्ट्रिय विमानस्थलसहित छवटा आन्तरिकतर्फका विमानस्थलमा सुविधा सम्पन्न टर्मिनल भवन बनाउन लागेको हो । चालू आर्थिक वर्षमा त्रिभुवन र गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा नयाँ आधुनिक टर्मिनल भवनसहित आन्तरिकतर्फ विराटनगर, भरतपुर, नेपालगञ्ज, महेन्द्रनगर, जुम्ला र रामेछाप विमानस्थलको टर्मिनल भवनलाई स्तरोन्नति गर्ने प्राधिकरणको तयारी छ ।

६० अर्बमध्ये विराटनगरमा तीन अर्ब, नेपालगञ्जमा तीन अर्ब, भरतपुरमा सवा अर्ब, रामेछापमा २० करोड, महेन्द्रनगरमा ६० करोड र जुम्लामा १० करोडको लागतमा नयाँ टर्मिनल भवन निर्माण हुन लागेको हो । बाँकी रकम त्रिभुवन र गौतम बुद्व विमानस्थलको टर्मिनल भवन निर्माणमा खर्च हुनेछ ।