काठमाडौं, साउन १७ गते । प्रतिनिधिसभा बैठकले राष्ट्रिय सभाबाट सन्देशसहित प्राप्त “शपथसम्बन्धी विधेयक, २०७९मा विचार गरियोस्” भन्ने प्रस्ताव स्वीकृत गरेको छ ।
मङ्गलबार बसेको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाका तर्फबाट उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दीलेन्द्रप्रसाद बडूले प्रस्तुत गर्नुभएको उक्त प्रस्तावलाई सर्वसम्मतिले स्वीकृत गरेको हो ।
विधेयकको सैद्धान्तिक पक्षमा भएको छलफलमा सांसद डा. भीमबहादुर रावल, दिब्यमणि राजभण्डारी, प्रेम सुवाल, छक्कबहादुर लामा, गजेन्द्र महत, खेमप्रसाद लोहनीले आ–आफ्ना धारणा व्यक्त गर्नुभएको थियो ।
छलफलमा उठेका प्रश्नको जवाफ दिनुहुँदै उद्योगमन्त्री बडूले सार्वजनिक पद धारणा गरेका व्यक्तिको शपथमा कानुनी शून्यता हुन नदिन शपथसम्बन्धी छुट्टै कानुन आवश्यक भएकाले विधेयक ल्याइएको बताउनुभयो ।
छलफलमा सांसदहरुले विधेयक चाँडो पारित गर्न र विधेयकलाई समृद्ध बनाउन दिएका सुझावप्रति उहाँले आभार प्रकट गर्नुभयो । उद्योगमन्त्री बडूले शपथको भाषा र व्यहोरा आदिबारे विधेयकले स्पष्ट व्यवस्था गरेकाले यसलाई छिटो पारित गर्ने प्रक्रियामा सहयोग गर्न अनुरोध गर्नुभयो ।
राष्ट्रपति, उपराष्ट्रपति, सङ्घीय संसद्का सदस्य, प्रदेश संसद्का सदस्य, प्रदेश प्रमुखलगायतले आफ्नो जिम्मेवारी सम्हाल्नुअघि संविधानअनुरुप पद तथा गोपनियताको शपथ लिनुपर्ने विधेयकमा व्यवस्था छ ।
त्यसैगरी, बैठकमा राष्ट्रियसभाबाट सन्देशसहित प्राप्त “स्टाण्डर्ड नाप र तौल (पाँचौँ संशोधन) विधेयक, २०७८ मा विचार गरियोस्” भन्ने प्रस्ताव पनि प्रस्तुत गरिएको छ । उद्योगमन्त्री बडूले प्रस्तुत गर्नुभएको उक्त प्रस्ताव उपर बैठकमा सैद्धान्तिक छलफल भइरहेको छ ।
प्रतिनिधिसभाको अर्को बैठक साउन २२ गते आइतबार बिहान ११ बजे बस्ने छ । प्रमुख विपक्षी दलको आग्रहमा संसद बैठक ५ दिन पर सारिएको सङ्घीय संसदले जनाएको छ ।