• १२ वैशाख २०८१, बुधबार

नदी सभ्यताको संरक्षण

blog

विश्वभरि छरिएर रहेका हिन्दुहरूको सपना जीवनमा कम्तीमा एक पटक काठमाडौँस्थित पशुपतिनाथ मन्दिरको दर्शन गर्ने हुन्छ। पशुपतिनाथको दर्शनअघि बागमती नदीमा स्नान स्वाभाविक मनोकाङ्क्षासमेत रहन्छ। प्रदूषित बागमती नदीको अवस्था हेर्दा भने यो कहिल्यै पूरा नहुने मनोकाङ्क्षाजस्तै थियो। तर अहिले अवस्थामा केही परिवर्तन भएको छ। बागमती नदीको पूरै क्षेत्र नभए पनि केही क्षेत्रमा विगत केही समययतादेखि स्वच्छ जल प्रवाह हुन थालेको छ।  यो असाध्य सुखद खबर हो। बागमतीको मुख्य भाग अर्थात् गुह्येश्वरीदेखि पशुपतिसम्मको क्षेत्रमा बग्ने बागमती नदीको जललाई प्रदूषणमुक्त बनाई भक्तजनले स्नान गर्न सक्ने सम्भव तुल्याइएको छ। वातवरणीय तथा धार्मिक दृष्टिकोणबाट यसलाई एक महत्वपूर्ण उपलब्धिका रूपमा लिन सकिन्छ।

काठमाडौँमा यता तीन चार दशकमा भएको अनियन्त्रित तथा अव्यवस्थित सहरीकरण नै बागमती प्रदूषणको मुख्य कारक तत्व हो। पशुपति क्षेत्रभन्दा माथिल्लो क्षेत्रका चाबहिल, गोकर्ण, बौद्ध, जोरपाटीलगायतका नयाँ बस्तीहरूको ढल उत्सर्जनको थलो नै बागमती बनेको थियो। फलस्वरूप घरघरबाट दैनिक उत्सर्जन हुने फोहोर तथा ढल सोझै बागमती नदीमा मिसाइने प्रवृत्तिले बागमतीलाई ढलमतीमा परिणत गरेको थियो। अवस्था यतिसम्म विकराल हुनसक्छ भन्ने काठमाडौँ  महानगरपालिकालगायतका निकायले ध्यान दिन सकेनन्। बेवास्तासमेत गरे, बागमती नदीको प्रदूषण शायद यो हदसम्म पक्कै पनि पुग्ने थिएन होला। आराध्यदेव भगवान् पशुपतिनाथलाई दैनिक रूपमा स्नान गर्न बागमतीको जल आवश्यक पर्नेमा अत्यधिक प्रदूषणका कारण यसको वैकल्पिक व्यवस्था गर्ने गरिएको बिर्सन मिल्दैन। 

धार्मिक, वातावरणीय तथा बागमती नदी सभ्यताको जगेर्नाका निम्ति स्वच्छ जल प्रवाहित हुने बागमती नदीको अवधारणासहित विभिन्न समयमा विभिन्न कार्ययोजना बनेर कार्यान्वयनमा नआएका होइनन्। तथापि अर्थपूर्ण प्रतिफल निस्कन सकेन। परिणामतः बागमती बढी प्रदूषित हुने कार्यले निरन्तरता पाइरह्यो। बागमती नदीलाई प्रदूषणमुक्त बनाउने नाममा विभिन्न योजना, आयोजना खडा गरी साधन र स्रोतको दोहन गर्ने कार्य भइनै रह्यो। पछिल्लो चरणमा भने केही सम्भावना तथा आशाका किरण देखिन थालेका छन्। स्वच्छ जल प्रवाहित बागमती नदीको सम्भावना बढ्दै गएको छ। जापानी सहयोग नियोग (जाइका) को प्राविधिक सहयोगमा खानेपानी मन्त्रालयद्वारा निर्माण गरिएको गुह्येश्वरी फोहोर पानी प्रशोधन केन्द्रबाट यस दिशामा केही सकारात्मक पहल भएको छ। दैनिक सवा तीन करोड लिटर बागमतीको गुह्येश्वरी क्षेत्रको फोहोर जल प्रशोधन गरेर शुद्ध जल बागमती नदीमा पठाउने कार्य यो केन्द्रले गरिरहेको छ। यस नवीन कार्यले बागमतीको सानो क्षेत्रमा भए पनि स्वच्छ तथा निर्मल जलको प्रवाह हुन थालेको हो। 

ज्ञान, विज्ञानको उपयोगबाट मानवले आफ्नो जीवनलाई सहज पार्न सक्छ भन्ने सिद्धान्त यहाँ बागमतीको प्रदूषित जलका सम्बन्धमा पनि लागू भएको छ। हिजोसम्म बागमतीको प्रदूषित जलको फोहोर प्रशोधन पछि अहिले निकै उपयोगी भएको छ। प्रशोधनका क्रममा प्रदूषित जलबाट निस्किने फोहोरबाट बायोग्यास तयार गरी विद्युत्समेत उत्पादन गरिन थालेको छ। बागमतीको प्रदूषित जलको उपयोगिता यति मात्र सीमित रहेको पाइँदैन। यसै फोहोरबाट दैनिक आठ टन प्राङ्गारिक मल तयार हुँदैछ। प्रशोधन केन्द्रको गतिविधिबाट यस क्षेत्र वरिपरि बस्ने झन्डै तीन लाख मानिस प्रत्यक्ष लाभान्वित भइरहेका छन्।  यो राम्रै उपलब्धि हो। 

बागमती अलिकति पानी सफा भएर मात्र उपत्यकाको नदी सभ्यताको संरक्षण हुन सक्दैन। बागमतीलगायत अन्य सबै नदीमा स्वच्छ जल प्रवाह हाम्रो लक्ष्य हुनुपर्दछ। यसका लागि यो कार्यक्रम बागमतीको सानो क्षेत्रमा मात्र सीमित नगरी समग्र बागमती नदी क्षेत्रमा यस्तै कार्यक्रम कार्यान्वयन गर्नु वाञ्छनीय छ। स्वच्छ नदी तथा सुरम्य वातावरणका कायम गर्न सबैको प्रयास जरुरी छ। जल प्रशोधन प्रविधिको विस्तारले यो सम्भावना देखिएको समेत छ। प्रदूषित जल प्रशोधन वा निर्मलीकरण प्रविधि, रोग लागिसकेपछिको उपचार मात्र हो तर असल जुक्ति त रोग लाग्न नै नदिनु हो। नदी फोहोर हुनबाट जोगाउनु नै अब्बल तरिका हो। राजधानीलगायत देशभरिकै नदी फोहोर हुन नदिन सङ्घ, प्रदेश र स्थानीय तहले नवीन कार्ययोजना ल्याई कार्यान्वयनमा लैजानु पर्छ। अनि मात्र नदी सभ्यताको जगेर्ना हुन्छ। यसको प्रत्यक्ष र परोक्ष फाइदा देशले दिन सक्छ।