• ८ वैशाख २०८१, शनिबार

परिवारकै हत्यापछि आत्महत्या, तनावको कारण वैदेशिक रोजगार

blog

मित्र भण्डारी/वसन्त पराजुली

काठमाडौँ/भरतपुर, साउन १७ गते । वैदेशिक रोजगारको चरम विकृतिका रूपमा हत्याका घटना बढ्न थालेका छन् । साउनकै पहिलो साता चितवनको भरतपुर महानगरपालिका–१० मा एक दम्पतीको कारुणिक मृत्युको घटना सेलाउन नपाउँदै सङ्घीय राजधानी काठमाडौँमा परिवार नै सखाप पार्ने गरी अर्को बीभत्स हत्या भएको छ । 

काठमाडौँको तारकेश्वर–२ धर्मस्थलीस्थित भीमसेन टोलमा एकै परिवारका चार जनाको चक्कु प्रहारबाट हत्या भएको हो। प्रहरीका अनुसार मृतकहरू गोरखा, भीमसेन थापा­ गाउँपालिका–६ अश्राङ स्थायी घर भई काठमाडौँ तारकेश्वरमा बस्ने ४१ वर्षीय दिनेश पाण्डे, पाण्डेकी श्रीमती ३९ वर्षीया सुनिता काप्री पाण्डे, १३ वर्षीया छोरी आशिका पाण्डे र आठ वर्षीय छोरा आशिक पाण्डे रहेको खुलेको छ।


चारै जनामाथि धारिलो हतियार प्रहार भएको र शव क्षतविक्षत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ। प्रहरीले घटनास्थलबाट ‘सुसाइड नोट’ समेत फेला पारेको जनाएको छ। काठमाडौँ प्रहरी परिसरका प्रवक्ता प्रहरी उपरीक्षक दिनेशराज मैनालीका अनुसार मृतक चारै जनाको शव परीक्षणका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज पठाइएको छ। सोमबार बिहान ९ बजे प्रहरी घटनास्थल पुगेको थियो। भित्रबाट चुकुल लगाई बन्द रहेको घरभित्र चारवटा शव फेला परेका थिए। 


प्रहरीका अनुसार छाउनीस्थित सैनिक स्कुलकी छात्रा आशिकालाई लिन बिहान ८ बजे विद्यालयको गाडी घरमा पुगेको थियो। आशिका गाडी चढ्न नआएपछि र घरमा पुगेर बोलाउँदा झ्याल ढोका बन्द रहेको र कसैले आवाज नदिएपछि स्थानीयवासीको सहयोगमा प्रहरीलाई खबर गरिएको थियो। प्रहरीवृत्त बालाजुको टोली घटनास्थल पुग्दा ढोका भित्रबाट बन्द थियो। प्रहरीले स्थानीयवासीको रोहवरमा ढोका खोलेर हेर्दा बीभत्स रूपमा हत्या गरिएको अवस्थामा शव यत्रतत्र छरिएका थिए।


प्रहरीका अनुसार मृतक सुनिता, छोरी आशिका तथा छोरा आशिकमाथि धारिलो चक्कु शरीरका विभिन्न भागमा प्रहार भएको छ। मृतक तीनै जनाको पेट टाउको र घाँटीका विभिन्न भागमा गहिरो चोट लागेको छ। मृतक दिनेश पाण्डेको पेट तथा घाँटीमा समेत चक्कु प्रहार भएको छ। घटनाको प्रकृति हेर्दा मृतक दिनेशले श्रीमती तथा छोराछोरीको हत्या गरी आफ्नै शरीरमा चक्कु प्रहार गरी आत्महत्या गरेको आशङ्का प्रहरीको छ। यद्यपि शवको पोस्टमार्टम रिपोर्ट आइनसकेकाले थप खुल्न बाँकी छ। मृतक दिनेश करिब १२ वर्ष कुवेतमा बसेर चार वर्षअघि नेपाल फर्किएको र सुनितासँग खटपट रहेको खुलेको थियो। दुवै जनाको पारिवारिक विवाद प्रहरीसमक्षसमेत पुगेको पाइएको छ।

दिनेशले घर बेच्न खोजेको र सुनिताले आफ्नो नाममा रहेको सो घर बेच्न नमानेपछि विवाद झनै बढेको थियो। दम्पतीबीच विवाद बढ्दै गएपछि दिनेशले सुनितासँग सम्बन्ध विच्छेद गर्न चाहेको र सुनिताले छोराछोरीको भविष्यमा असर गर्ने भन्दै अस्वीकार गरेको खुलेको छ। 


आइतबार राति दम्पतीबीच विवाद हुँदा दिनेशले श्रीमती र छोराछोरीको चक्कु हानेर हत्या गरेको हुनसक्ने आशङ्का प्रहरीले गरेको छ। हत्यापछि दिनेशले झुन्डिएर आत्महत्या गर्ने प्रयास गरेको देखिएको घटनास्थलमा पुगेको प्रहरीले जनाएको छ। 

वैदेशिक रोजगारबाट फर्केपछि दिनेशले पदमसाल चोकमा मोबाइल पसल तथा सुनिताले फेन्सी पसल सञ्चालन गर्दै आएका थिए। पारिवारिक विवाद बढ्दै गएपछि सुनिता त्यसलाई साम्य पार्न वैदेशिक रोजगारका लागि बेलायत उड्ने तयारीमा रहेको खुलेको छ।

दम्पतीबीच अविश्वास नै समस्या

चितवनमा ४३ वर्षीय कृष्णप्रसाद आचार्यले यही साउन ८ गते राति आफ्नी श्रीमती रुष्मा आचार्यलाई हत्या गरी आफूले पनि तीन तला माथिबाट हामफालेर ज्यान फालेका थिए। जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायब उपरीक्षक नरहरि अधिकारीका अनुसार उक्त घटना श्रीमान् श्रीमतीबीच अविश्वासकै कारण भएको थियो। 

“वैदेशिक रोजगारबाट फर्किएका श्रीमान् तथा घरमा सासु र छोरी पालेर बसेकी श्रीमतीबीचको  अविश्वास नै यो घटनाको  प्रमुख कारण हो”, उहाँले भन्नुभयो। छ वर्ष वैदेशिक रोजगारीबाट गत जेठ १९ मा फर्किएका कृष्णको दम्पतीबीच एक आपसमा अविश्वास बढ्यो। श्रीमान्ले हुने नहुने आरोप लगाएपछि श्रीमतीले छुट्टिएरै बस्ने गरी प्रहरीमा उजुरी दिनुभयो।

“उनीहरूबीच सम्बन्ध विच्छेद गर्ने सहमति भएकै हो। पछि परिवारमा के विवाद भयो अनि यो नसोचेको अप्रिय घटना हुनपुग्यो,” प्रनाउ अधिकारीले भन्नुभयो। रुष्माले असार २ गते आफ्नै श्रीमान्विरुद्ध प्रहरीमा घरेलु हिंसामा उजुरी दिनुभएको थियो। उजुरीमाथि छलफल हुँदा दुवैजना सम्बन्ध विच्छेद नै गरेर जाने सहमति प्रहरी कार्यालयमा भएको थियो।


वैदेशिक रोजगार कारण

दुवै घटना वैदेशिक रोजगारबाट उत्पन्न तनावसँग जोडिएका हुन् र यी घटनाले पछिल्ला समय आफ्नैबाट असुरक्षित हुने अवस्था बढेको पनि देखाउँछ। नेपाल प्रहरीको पाँच वर्षको तथ्याङ्कले पनि परिवारभित्रै श्रीमान्बाट श्रीमती र श्रीमतीबाट श्रीमान् असुरक्षित रहेको डरलाग्दो तथ्य देखाउँछ। नेपाल प्रहरीका प्रवक्ता प्रहरी नायब महानिरीक्षक टेकप्रसाद राईका अनुसार विगत पाँच वर्षमा एक हजार ३० जनाले परिवार वा आफन्तकै कारण ज्यान गुमाएका छन्। त्यसमा पनि सबैभन्दा बढी श्रीमान्ले श्रीमती मारेका छन्। 

प्रहरीको तथ्याङ्क अनुसार श्रीमान्बाट ४२३ श्रीमतीले ज्यान गुमाएका छन् भने श्रीमतीबाट ८६ श्रीमान्ले ज्यान गुमाएका छन्। मनोपरामर्शदाता अधिवक्ता खिमा रिजाल मर्ने र मारिने जो भए पनि यो गलत भएको बताउनुहुन्छ। “श्रीमान्–श्रीमतीबीच जुन अविश्वास पैदा हुन्छ त्यो तुलनात्मक रूपमा वैदेशिक रोजगारबाट फर्कनेमा बढी देखिन्छ”, उहाँले भन्नुभयो, “श्रीमान् र श्रीमती टाढा हुँदा एक आपसको बुझाइमा फरक आउन सक्छ। यसलाई कतिले व्यवस्थापन गरेर अगाडि बढ्छन् भने कति व्यवस्थापन गर्न नसक्दा यस्तै अप्रिय घटना बेहोर्न बाध्य हुन्छन्।”