• ४ साउन २०८१, शुक्रबार

यात्रुलाई सास्ती दिने अक्करेभीर

blog

सिन्धुली समाचारदाता

सिन्धुलीमाढी, साउन १७ गते । मध्यपहाडी लोकमार्गअन्तर्गत सिन्धुलीको गोलन्जोर गाउँपालिका–६, हैबारस्थित अक्करेभीरमा सोमबार बिहान पहिरो खस्दा चार जिल्लाका बासिन्दाले सास्ती खेप्नुप-यो।

आइतबार बेलुकादेखि परेको वर्षाका कारण जमिन गलेर अक्करेभीरमा पहिरो खसेको हो। पहिरो खसेर यातायात अवरुद्ध हुँदा सिन्धुली र रामेछाप जिल्लाको पूर्वी क्षेत्रसहित गन्तव्यमा हिँडेका खोटाङ, ओखलढुङ्गा, सोलुखुम्बु, भोजपुरका यात्रुले सास्ती खेप्नुपरेको छ। हैबार निवासी सुवास कोइराला वर्षा भएर जमिन गल्नेबित्तिकै अक्करेभीरले सधैँ सास्ती दिँदै आएको बताउनुहुन्छ। उहाँका अनुसार अक्करेभीरमा पहिरो जान थालेको वर्षौं भइसक्यो, तै पनि त्यसलाई दीर्घकालीन रूपमा नियन्त्रण गर्न कुनै पनि निकायले चासो देखाएको पाइँदैन।

अक्करेभीरमा वर्षात्को समयमा मात्र नभई हिउँद्मा समेत लामो समय पानी प-यो भने पहिरो गएर यात्रुले सास्ती बेहोर्नुपर्ने उहाँको भनाइ छ। यो वर्ष गत असार महिनाको १४/१५ गतेतिर पनि अक्करेभीरमा पहिरो गएर यातायात अवरुद्ध भएको थियो। सिन्धुलीबाट पूर्वीपहाडी क्षेत्रका विभिन्न जिल्लामा खाद्यान्न ढुवानीको गाडी चलाउँदै आउनुभएका चालक हरिबहादुर थापा पानी पर्नेबित्तिकै अक्करेभीर कट्न पाइने हो कि भन्ने चिन्ता बढ्ने गुनासो गर्नुहुन्छ। उहाँले भन्नुभयो, “अक्करे पहिरो खस्यो भने कतिखेर यातायात खुल्ने टुङ्गो हुँदैन, कहिलेकाहीँ त तीन दिनसम्म पनि थुनिएर बसेको छु।”

बीपी राजमार्ग र मध्यपहाडी लोकमार्ग निर्माण भएपछि राजधानी काठमाडौँ जान र आउन सजिलो भएको ओखलढुङ्गा जिल्ला सुनकोसी गाउँपालिका–७, बलखुका राजेश लुइँटेल बताउनुहुन्छ। उहाँले भन्नुभयो, “अहिले राजधानी पुग्न सात घण्टा पनि लाग्दैन। नत्र तराईको जिल्ला निस्किएर महेन्द्र राजमार्ग भएर जाँदा काठमाडौँ पुग्न कम्तीमा पनि १२÷१३ घण्टा लाग्थ्यो।” जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी नायब उपरीक्षक मनोजकुमार लामा वर्षा रोकिएपछि मेसिन लगाएर पहिरो पन्छाई यातायात खुलाउँदै आएको बताउनुहुन्छ। वर्षा रोकिएपछि पहिरो पन्छाएर यातायात खुलाइने उहाँको भनाइ छ।