काठमाडौं, साउन १६ गते । श्रावण शुक्ल पञ्चमीका दिन प्रत्येक वर्ष मनाइने नाग पञ्चमी परम्पराअनुसार नागको पूजा गरी मनाइन्छ । यस वर्षको नाग पूजा साउन १७ गते मंगलबार परेको छ ।
नागका बाह्र नाम भए पनि आठ कूलका आठवटा नागको पूजा गर्ने वैदिक सनातनकालदेखिको परम्परा छ । अनन्त, वासुकी, पद्म, महापद्म, तक्षक, कुलीर, कर्कट र शंख गरी आठ नागलाई ब्राह्मण पुरोहितबाट पूजाआजा गरी घरको ढोकामाथि टाँसिन्छ ।
घरका मूलढोकामा नागको तस्बिर टाँसेर पूजा गर्दा वर्षभर घरमा नाग, सर्प र बिच्छीलगायतका जीवले दुःख नदिनुका साथै अग्नि, मेघ र चट्याङको भयबाट पनि बच्न सकिन्छ भन्ने धार्मिक विश्वास छ । काठमाडौंको असनमा नागको तस्बिर किन्नेको लस्कर नै देख्न सकिन्छ । नागको तस्बिर किन्न विभिन्न ठाउँबाट मानिसहरु यहाँ आउने गरेको व्यवसायी सानु चित्रकार बताउनु हुन्छ ।
यो व्यवसाय उहाँहरुको परम्परागत हो । उहाँको अनुसार पहिले पहिले दिनमा २ देखि ३ लाख प्रतिसम्म बिक्री हुन्थ्यो तर अहिले समय परिवर्तन भए सगै दिनमा १०–१५ हजार पनि बिक्दैन ।
अहिले धेरै ठाउँमा छापिने भएर होला मानिसहरु यहाँ आउन छाडेको बताउनु हुन्छ । पहिले उपत्यका नजिक भीम ढुङ्गा, भक्तपुर, साँगा, खोकना, थलि, लामाटारलगायतका श्रेत्रबाट मानिसहरु किनमेल गर्न आउँथे तर अहिले घरघरमै नागको तस्बिर पुग्ने भएकाले होला आउनेको संख्या अत्यन्त न्यून रहेको उहाँ बताउनु हुन्छ ।











