• ६ कात्तिक २०८१, मङ्गलबार

थप ८९५ जनामा कोरोना पुष्टि, एकको मृत्यु

blog

काठमाडौं, साउन १६ गते । पछिल्लो २४ घण्टामा थप ८९५ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । देशभरका ल्याबबाट कुल पाँच हजार ९०९ जनाको परीक्षण गर्दा ८९५ जनामा कोरोना पुष्टि भएको हो ।

जसमध्ये तीन हजार ६८५ जनाको पीसीआर परीक्षण गर्दा ६३२ र दुई हजार २२४ जनाको एन्टीजेन परीक्षण गर्दा २६३ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार सोमबार थप एक जनाको कोरोनाले मृत्यु भएको छ भने २६४ जना सङ्क्रमणमुक्त भएका छन् । पछिल्लो २४ घण्टामा ३३ हजार १७६ जनाले कोभिडविरुद्धको खोप लगाएका छन् ।

त्यस्तै, हाल देशभर सक्रिय सङ्क्रमितको सङ्ख्या चार हजार ९३४ पुगेको छ । काठमाडौं र ललितपुरमा ५०० भन्दा बढी सक्रिय सङ्क्रमित छन् । त्यसैगरी, कास्कीमा २०० भन्दा बढी सक्रिय सङ्क्रमित छन् ।

मनाङ, कालिकोट, मुगु, हुम्ला, बाजुरा, दार्चुला र बझाङमा सङ्क्रमितको सङ्ख्या शून्य छ । उपत्यकाका तीन जिल्लामध्ये हाल काठमाडौंमा दुई हजार ८७२, ललितपुर ५४३ र भक्तपुरमा ३७ सक्रिय सङ्क्रमित रहेको मन्त्रालयले जनाएको छ ।