• ३ असार २०८१, सोमबार

पशुलाई सुत्केरी भत्ता वितरण

blog

सिन्धुली समाचारदाता

सिन्धुलीमाढी, साउन १६ गते  ।  सिन्धुलीको कमलामाई नगरपालिकाले एक वर्षमा ७४५ वटा गाईभैँसीका धनीलाई सुत्केरी भत्ता वितरण गरेको छ।

नगरपालिकाले गत आर्थिक वर्ष २०७८/७९ मा पौष्टिक आहारास्वरूप सुत्केरी गाईभैँसीलाई भत्ता वितरण गरेको जनाएको छ। नगरपालिकाले २०७५ मङ्सिर महिनादेखि ब्याएका गाईभैँसीलाई सुत्केरी खाद्यान्न सहयोगस्वरूप नगद एक हजार रुपियाँ भत्ता दिन सुरु गरेकोमा त्यसलाई वृद्धि गरी प्रतिपशु दुई हजार रुपियाँ पु-याएको छ। 

गाईभैँसी सुत्केरी भत्तास्वरूप एक वर्षमा १४ लाख ९० हजार रुपियाँ पशुधनीलाई वितरण गरेको नगरपालिकाका पशु विकास शाखाका प्रविधिक मीनबहादुर थापाले जानकारी दिनुभयो। उहाँका अनुसार भत्ताका लागि पशुको बीमा अनिवार्य गरिएको छ। सुत्केरी पशु मरेमा किसानको सुरक्षाका लागि भत्ता दिन पशु बीमा अनिवार्य गरिएको हो।

किसानले पशुको सुत्केरी भत्ता लिन सुत्केरी भएको ३५ दिनभित्र सम्बन्धित वडा कार्यालयको सिफारिस, पशुधनी र पाडापाडी वा बाच्छाबाच्छीसहितको सुत्केरी गाईभैँसी फोटो र नागरिकताको प्रतिलिपि राखेर निवेदन नगरपालिकामा दर्ता गर्नुपर्ने हुन्छ।