शिवशङ्कर मिश्रा
बारा, चैत २३ गते । बारा निर्वाचन क्षेत्र नम्बर–१ का प्रतिनिधि सभा सदस्य गणेश धिमालको प्राथमिकता जनमुखी कानुन निर्माण, सुशासन प्रवर्धन र उत्पादनमुखी विकास रहेको छ ।
प्रतिनिधि सभा निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीका तर्फबाट उम्मेदवार बन्नुभएका धिमाल पुराना दलका उम्मेदवारलाई पछि पार्दै ३९ हजार ९९८ मतसहित निर्वाचित हुनुभएको हो । उहाँका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका केन्द्रीय सदस्य शम्भुबहादुर बुढाथोकीले १४ हजार २२३ मत प्राप्त गर्न्ुभयो । दोस्रो पटक उम्मेदवार बनेर फराकिलो मतान्तरसहित सांसद धिमाल निर्वाचित हुनुभएको हो ।
कोल्हबी नगरपालिका–१ निवासी ४३ वर्षीय धिमाल पेसाले कानुन व्यवसायी तथा सामाजिक अभियन्ता हुनुहुन्छ । उहाँले त्रिभुवन विश्वविद्यालय, कीर्तिपुरबाट राजनीतिशास्त्र र समाजशास्त्रमा स्नातकोत्तर तथा कानुनमा स्नातक तहसम्मको शिक्षा हासिल गर्नुभएको छ । कानुन, समाज र शासन व्यवस्थाको अन्तरसम्बन्ध बारे गहिरो अध्ययन गर्नुभएका धिमाल नीति निर्माण तहमा व्यावहारिक र सन्दर्भ अनुुकूल निर्णय आवश्यक रहेको बताउनुहुन्छ ।
राष्ट्रिय स्वतन्त्र पार्टीमा सुरुदेखि नै आबद्ध भई राजनीतिक यात्रामा समेत सव्रिmय रहनुभएका धिमाल रास्वपाको मधेश प्रदेश सहमहामन्त्री तथा सङ्गठन विभाग प्रमुखको जिम्मेवारीमा रहनुभएको छ । यसअघि उहाँ पार्टीको मधेश प्रदेश अनुशासन विभागको सचिवको भूमिकामा रहँदै सङ्गठन सुदृढीकरणमा योगदान पु¥याउनुभएको थियो ।
२०७९ सालको प्रतिनिधि सभा निर्वाचनमा पहिलो पटक उम्मेदवार बनेका धिमालले सो निर्वाचनमा तेस्रो स्थान हासिल गर्नुभएको थियो । त्यतिबेला मधेश प्रदेशमा पार्टीका २५ जना प्रत्यक्ष उम्मेदवारमध्ये उल्लेखनीय मत ल्याउने उम्मेदवारका रूपमा उहाँ स्थापित हुनुभएको थियो । निरन्तर राजनीतिक सव्रिmयता र सङ्गठन निर्माणमा देखाएको भूमिकाका आधारमा यस पटक पुनः उम्मेदवार बनेका धिमालले जनविश्वास जित्दै सङ्घीय संसद्मा प्रवेश गर्न सफल भएको बताउनुभयो ।
दुई दशकभन्दा बढी समयदेखि कानुनी परामर्शदाता तथा सामाजिक अभियन्ताका रूपमा सव्रिmय धिमाल विभिन्न सामाजिक सङ्घसंस्था, सहकारी तथा कर्पोरेट क्षेत्रमा नेतृत्वदायी भूमिकामा कार्यरत रहनुभएको थियो । उहाँले आफ्नै पहलमा करिब १८ वर्षअघि कोल्हबीमा एम्बुलेन्स सेवा सञ्चालनमा ल्याई स्थानीयस्तरमा स्वास्थ्य सेवामा महìवपूर्ण योगदान पु¥याउनुभएको थियो । विपन्न, दलित तथा पिछडिएका समुदायका नागरिकको हकअधिकारका लागि निरन्तर आवाज उठाउँदै आउनुभएका धिमाल सामाजिक सेवाप्रति प्रतिबद्ध व्यक्तित्वका रूपमा चिनिनुहुन्छ ।
प्रतिनिधि सभा सदस्य धिमालले अबको आफ्नो संसदीय भूमिकामा देशको वास्तविक आवश्यकता अनुसार नीति निर्माण गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले भन्नुभयो, “हाम्रो समाज र हाम्रो आवश्यकता अनुसारको कानुन निर्माण गर्नु पर्छ ।”
उहाँले बारा जिल्लाको ऐतिहासिक, धार्मिक तथा सांस्कृतिक महìव बोकेको सिम्रौनगढ क्षेत्रको संरक्षण तथा प्रवर्धनलाई विशेष प्राथमिकतामा राखेको बताउनुभयो । उहाँले सो क्षेत्रलाई पर्यटनसँग जोड्दै स्थानीय अर्थतन्त्रलाई सुदृढ बनाउने योजना रहेको उल्लेख गर्नुभयो ।
कृषि क्षेत्रको आधुनिकीकरण, सिँचाइ सुविधा विस्तार, उत्पादनको उचित मूल्य सुनिश्चित र बजार व्यवस्थापन सुधारमार्फत किसानको जीवनस्तर उकास्ने उहाँको लक्ष्य छ । उहाँले भन्नुभयो, “किसान र जवानलाई सशक्त बनाउँदा मात्रै देशको आर्थिक समृद्धि सम्भव हुन्छ ।” रोजगारी सिर्जना र युवालाई स्वदेशमै अवसर प्रदान गर्ने विषयलाई समेत धिमालले उच्च प्राथमिकतामा राख्नुभएको छ । स्थानीय स्रोतसाधनको अधिकतम उपयोग गर्दै उद्यमशीलता प्रवर्धन र साना तथा मझौला उद्योगको विकासमार्फत आर्थिक गतिविधि विस्तार गर्ने उहाँको योजना छ ।
निजगढ स्मार्ट सिटीलाई व्यावहारिक रूपमा कार्यान्वयन गर्दै शैक्षिक हबका रूपमा विकास गर्ने, कोल्हबीलाई आर्थिक तथा प्रशासनिक केन्द्र बनाउने तथा बारागढीदेखि सिम्रौनगढसम्मको क्षेत्रलाई समग्र विकासको धुरीका रूपमा स्थापित गर्ने उहाँले स्पष्ट कार्ययोजना प्रस्तुत गर्नुभएको छ ।
साथै आधारभूत पूर्वाधार विकास अन्तर्गत सडक, शिक्षा, स्वास्थ्य र खानेपानी क्षेत्रमा लगानी वृद्धि गर्न संसद्मा प्रभावकारी पहल गर्ने उहाँको भनाइ छ । सुशासन, पारदर्शिता र जवाफदेहितालाई संस्थागत गर्दै नागरिकमैत्री शासन प्रणाली निर्माणमा आफू प्रतिबद्ध रहने उहाँले बताउनुभयो । प्रतिनिधि सभा सदस्य धिमालले बारा तथा समग्र मधेश प्रदेशका जनताको आवाजलाई सङ्घीय संसद्मा प्रभावकारी रूपमा उठाउने र विकास तथा समृद्धिका एजेन्डालाई कार्यान्वयनतर्फ लैजाने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।