उर्लाबारी समाचारदाता
उर्लाबारी, साउन १६ गते । मोरङको कानेपोखरी गाउँपालिकाले वडा नम्बर २ को आदर्श टोलमा जनता आवास कार्यक्रम सञ्चालन गर्न खरिद गरेको जमिनमा गाउँपालिकाले छवटा घर निर्माण गरेको छ ।
स्थानीय अम्बरबहादुर थापासँग ५४ लाख रुपियाँमा खरिद गरिएको एक बिघा एक कट्ठा १२ धुर जमिनमा पहिलो चरणमा छवटा घर निर्माण गरिएको हो ।
२०७६ साल असार ३१ गते खरिद गरिएको सो जग्गामा ओजस कन्स्ट्रक्सन प्रालिले ३० लाख ६४ हजार ९०५ रुपियाँमा छवटा घर बनाइदिएको छ । सङ्घीय सरकारको तराई मधेश समृद्धि कार्यक्रमअन्तर्गत प्राप्त रकमलाई पालिकाले जनता आवास कार्यक्रममा लगाएको पालिकाका प्रमुख प्रशासकीय अधिकृत सन्तोष घिमिरेले बताउनुभयो । अधिकृत घिमिरेका अनुसार अति विपन्न परिवार छनोट गरी चाँडै घरमा सारिनेछ ।
घरमा राख्न निश्चित मापदण्ड तयार गरिनेछ । एउटा कार्यविधिमा आधारित मापदण्ड बनाएर विपन्नलाई घरबासमा सारिने उहाँले बताउनुभयो । पहिलो चरणमा छवटा घर बनेका छन् । बजेट व्यवस्था गर्दै क्रमशः घरको सङ्ख्या थप्ने र विपन्न परिवारलाई सार्ने गाउँपालिकाको योजना छ । खासगरी सडक किनार, खोला किनारमा बस्ने गाउँवासीलाई घरबासको व्यवस्था गरिएको हो ।
आवास कार्यक्रममा बस्ने परिवारले घरसँगै एउटा ट्युबवेल, घरसँगै जोडिएको शौचालय र सानो करेसाबारी पाउनेछन् । वडा नम्बर २ का अध्यक्ष एवं गाउँपालिकाका प्रवक्ता सुशील बुढाथोकीले त्यहाँ बस्ने परिवारको छनोट प्रक्रिया सुरु भएको बताउनुभयो ।