• ५ जेठ २०८१, शनिबार

खजुरा खोलामा चोरी निकासी बढ्यो, स्थानीय चिन्तामा

blog

पविता पौडेल

सैनामैना (रुपन्देही), साउन १६ गते । नवलपरासी –४  खजुरा खोला खनेर खाल्डो परेपछि नहरमा पानी नचढेको स्थानीय रामकली गिरिले गुनासो गर्नुभयो । नहरको डिलमा घाँस काट्दै गर्नुभएकी खोलातिर देखाउँदै उहाँले भन्नुभयो, “पानी नचढेपछि खेतमा सिँचाइ हुन पाएन ।” पानी चढ्दैन आलीमा घाँस काट्दै गरेकी रामकली गिरीले बाँधतिर देखाउँदै भनिन्” । बर्दघाट नगरपालिका १६ स्थायी निवास ७५ वर्षीया गिरिले थप्नुभयो, “लामो खडेरीले खेतको धान सुक्यो, खोलामा अलिअलि पानी भए पनि खोलाको उत्खननले गहिराइ बढेपछि नहरमा पानी चढेन ।” 

बर्दघाट नगरपालिकामा पर्ने खजुरा खोला ४ वटा वडालाई छोएर बग्छ । सो खोलामा चोरी निकास गर्नेले वर्षौदेखि अवैधरुपमा उत्खननको काम भएपछि खोलाको गहिराइ बढेको छ । स्थानीयका अनुसार सो खोलामा अवैधरुपमा उत्खनन भएको करिब ३० वर्ष पुग्यो । उहिलेको समथर खोलाको गहिराइ करिब १० मिटर पुगेको स्थानीयको भनाइ छ ।


खोलामा ढुङ्गा बालुवा निकाल्दै गरेका प्रेम परिवारले भन्नुभयो, “हाम्रो रोजीरोटी यसैबाट चल्छ, यो नकाल्न नपाए हामी पनि परिवार पाल्न सक्दैनौं ।” खोलाले थुपारेको ढुङ्गा गिट्टी हामीले उठाएका हौं, अरु चिज लगेको त होइन नि उहाँले उल्टै प्रश्न गर्नुभयो ।

सोही वडाका अर्का युवा राम बस्नेतका अनुसार स्थानीय प्रशासनले खोलाको ठेक्का बन्द गरिदिएपछि धेरै युवाको रोजीरोटी खोसिएको गुनासो गर्नुभयो । उहाँले स्थानीय धेरै बेरोजगार युवाहरुको आम्दानीको स्रोत यही खोलाका ढुङ्गा बालुवा भएको दावी गर्नुभयो ।

यसअघि सो खोलाको ठेक्का स्थानीय प्रशासनले २०७६ मा पुष्पाञ्जलि कन्स्ट्रक्सनलाई दिएको थियो । सो ठेक्काको काम २०७७ जेठ मसान्तसम्म चलेको थियो । सो पछि प्रशासनले २०७८ जेठदेखि अर्को संस्था दाउन्ने कन्स्ट्रक्सनलाई एक वर्ष २०७९ जेठ सम्मका लागि ठेक्का लगायो । खोलाको ठेक्का सकिए पनि सो खोलाबाट चोरी निकासीको काम भने जारी छ । 

वर्दघाट नगरपालिकामा रहेका वडा नं. ५, १४, १५  र १६ का वासिन्दालाई भने खोलाको गहिराइ बढ्दै गएपछि चिन्ता थपिदै गएको छ । खोलाको गहिराइ बढेमा सिंचाइका लागि पानी नलाग्ने, वरिपरिका जमिन भासिदै जाने र छेउछाउका खेतीयोग्य जमिनको पनि कटानी गर्ने चिन्ता उहाँहरुलाई बढेको बताउनुभयो । 

स्थानिय युवा पदम थापाले खोलाको उत्खनन्मा स्थानीय नेता, प्रशासनका प्रतिनिधि सबैको मिलेमतोमा चोरी भइरहेको आरोप लगाउनुभयो । वर्षायाममा खोलामा पानी भरिएपछि चोरी निकासीको काम अहिले बन्द छ, तर वर्षापछि पुनः त्यो काम शुरु हुन्छ उहाँको भनाइ छ । खोला गहिरो हुदा खोलामा वाघ वगाइ दिएको छ । बाँध बगाउँदा सिचाइमा समस्या भएको छ” ।


वडा नं. १६ का पूर्व अध्यक्ष सुकबहादुर गुरुङले भन्नुभयो, “खजुरा खोला उत्खननबारे मलाई थाहा हुने कुरा भएन, ठेक्का नगरपालिकाले लगाउँछ, खोलाबाट स्थानीय प्रशासनको आँखा छलेर अवैध रुपमा सामान ओसारेको देखिन्छ ।” 

सोही वडाका अध्यक्ष भिमकाजी गुरुङले खोलाको ठेक्का अहिले सकिएको बताउनुभयो । “नगरपालिकाले यो ठेक्का एक वर्षका लागि दिएको हो, अहिले बन्द गरेको छ । बन्द भए पनि चोरी निकासी गर्नेहरु लुकिछिपी उत्खनन गर्नेगरेका छन्, फेला परेमा स्थानीय प्रहरी कार्यालयमा बुछाउँछौं” उहाँले भन्नुभयो ।

बर्दघाट नगरपालिकाका पूर्व मेयर धिरज बस्यालले आफू जिम्मेवारीमा रहँदा एक वर्षका लागि मात्र सो खोलाको ठेक्का दिएको बताउनुभयो । एक वर्षपछि ठेक्का रोक्का गरिएको उहाँले जानकारी दिनुभयो । तर स्थानीय प्रशासनको आम्दानीको स्रोत सोही खजुरा खोला भएकाले पछि पुनः नगरपालिकाले सो खोलाको ठेक्का लगाएको होला । 

नगरपालिकाका वर्तमान प्रमुख शम्भुलाल श्रेष्ठले पनि एक वर्षका लागि मात्र खोला ठेक्कामा दिएको जानकारी दिनुभयो । खोलाको गहिराइ बढदैगएको र स्थानीयलाई समस्या पर्ने गुनासो आउन थालेपछि ठेक्का प्रक्रिया रद्द गरिएको उहाँको भनाइ छ । ठेक्का रद्द भएकाबेला खोलाको उत्खनन् भएको देखेमा नगरपालिका अथवा नजिकको प्रहरी कार्यालयमा जानकारी गराउन पनि उहाँले आग्रह गर्नुभयो । 

खजुरा खोला बर्दघाट बजारदेखि ४ किलोमिटर दक्षिणमा अवस्थित छ । दाउन्ने चुरे पहाडबाट बगेको सो खोला वर्षायाममा पानीले भरिभराउ हुने भएपनि अरु बेला प्रायः सुक्ने गरेको छ । वर्षामा बाढी आउँदा चुरे पहाडबाट ढुङ्गा, बालुवा, गिट्टी बगाएर ल्याउने गरेको स्थानीयको भनाइ छ । 


उत्खनन हुने असर

स्थानीयका अनुसार खोलाको सतह गहिरो हुँदैगएपछि भूमिगत पानीको सतह पनि घट्दैगएको छ । नजिकका गाउँमा ट्युवबेलमा पानी आउन छाडेको छ । खोलाको कटानले खोला छेउका खेतहरु बगाएको छ । खोला गहिरिएर जमिन सुख्खा हुने पानीका मुहानहरु सुक्ने समस्या देखिएको स्थानीय पदम थापाले बताउनुभयो । 

खोलाको चोरी निकासी बढेपछि त्यहाँ खाल्डाखुल्डी बढेको छ । त्यसमा पानी जमेपछि बच्चाहरु डुब्ने डर रहेको रेनुका क्षेत्रीय बताउनुभयो । खजुरा खोलामा पुन निर्माण नहुँदा स्थानीयलाई आवतजावतमा पनि समस्या हुनेगरेको छ । उहाँका अनुसार सो खोलामा पुल नहुँदा स्थानीय करिब ५० हजार नागरिक प्रभावित हुनेगरेका छन् ।