गुणबहादुर रोका
सुलीकोट, जेठ ४ गते । उत्तरी गोरखाको धार्चे गाउँपालिका–७ लापुबेँसीमा रहेको न्याउली खोलामाथि रहेको निर्माणाधीन पक्कीपुल वर्षौंदेखि अलपत्र अवस्थामा छ । २०७९ साल साउन २३ गते निर्माण सुरु भएको पुल अलपत्र अवस्थामा रहेको हो ।
४ करोड ३४ लाख ७५ हजार ३ सय ५९ रुपियाँ बजेट लागतमा निर्माणको जिम्मा लिइएको सुर्योदय कन्ट्रक्सन कम्पनी प्रालिले काम अलपत्र अवस्थामा छाडेका छन् । २०८१ साल साउन २३ गते सम्पन्न गर्नुपर्ने सम्झौतामा उल्लेख भएतापनि निमाण कम्पनीले विभिन्न कारण देखाउँदै २०८२ साउन २९ गतेसम्म म्याद थप्दा समेत अहिलेसम्म कुनै काम सुरु नगरेको पूर्वाधार कार्यालय गोरखाले जनाएको छ ।
निर्माण कम्पनी नामक ठेकदारको चरम लापरबाहीका कारण पुल निर्माणमा ढिलाई भएको हो । दुई वर्षसम्म निर्माण सम्पन्न गर्नु पर्ने सम्झौता अनुरूप पुल निर्माण प्रारम्भ भए पनि काम सुरु गरेर अलपत्र अवस्थामा छाडिएको छ ।
७० मिटर लामो पक्की पुलमा ठेकदारले दुईतर्फ पिल्लर हालेर त्यसपछि निर्माण कम्पनीका ठेकदार फरार अवस्थामा रहेको पूर्वाधार कार्यालय गोरखाका साइड इन्जिनियर सन्तोष पन्तले बताउनुभयो
प्रदेश सरकार मार्फत ठेक्का सम्झौतादेखि नै पूर्वाधार कार्यालय गोरखाले पटक पटक ताकेता गर्दा समेत सम्पर्कमा नआएर ढिला गरिरहेको पूर्वाधार कार्यालय गोरखाका प्रमुख गणेश सुवेदीले जानकारी दिनुभयो ।
पूर्वाधार कार्यालय गोरखाले निर्माण कार्य अघि बढाउन निर्देशन दिएपनि बेवास्ता गरिएको छ, कार्यालय प्रमुख सुवेदीले भन्नुभयो, ‘उत्तरी गोरखाको धार्चेदेखि चुमनुब्री गाउँपालिकाको मनास्लु हिमालदेखि लार्केपाससम्म पुग्ने मुख्य एकमात्र सडक बाटो भएकाले पनि उक्त ठाउँमा पुल निर्माण गर्नु बाध्यता रहेको छ।’
उक्त स्थानमा पुल निर्माण कार्य अघि नबढ्दा असहज भएर यात्रा गर्नु पर्ने बाध्यता भएको छ, उपाध्यक्ष सुनिला गुरुङले भन्नुभयो, ‘दैनिक सयौँ आन्तिरिक तथा बाह्रय पर्यटकहरू त्यहि बाटो भएर हिड्नु पर्ने भएकाले पनि बर्खा लागेपछि यात्रा गर्न निकै कठिन हुने भएको छ ।’
हिउँदमा जसो तसो सवारी साधन आवतजावत गरिए पनि बर्खा लागेसँगै न्याउली खोलामा पानीको बहाव बढ्दा सवारी साधन आवतजावतमा समस्या हुने गरेको लापुबेँसीका स्थानीयहरूले बताएका छन् ।