• १७ माघ २०७९, मङ्गलबार
blog

खोलामा महल : काठमाडौँको बूढानीलकण्ठ नगरपालिका–१० स्थित साततलेमा चखुँचाखोला मिचेर निर्माण गरिएको विशाल ट्रेड टावर र स्थानीयवासीका अरू घर । खोलामा बाढी आउँदा पार गर्दै दुई यात्रु ।

काठमाडौँ, साउन १५ गते ।  दुई दशक अघिसम्म खोला बग्ने ठाउँमा अहिले घरैघर छन् । तर बर्खायाम सुरु नहुँदै ती घरमा बस्ने बेचैन हुन्छन्। बर्खा लागेपछि घर भित्र–बाहिर गर्न नै समस्या हुन्छ। यो समस्या कुनै गाउँको होइन, सङ्घीय राजधानी रहेको काठमाडौँको काठमाडौँ महानगरपालिका र बूढानीलकण्ठ नगरपालिका क्षेत्रको हो। यी दुई स्थानीय तहलाई सिमाना बनाउने कपन क्षेत्रमा यज्ञमती र चखुँचाखोलामा मानव बस्ती पस्दा यो समस्या विकराल बनेको छ।

भूमाफियाले खोला मिच्दै अव्यवस्थित रूपमा आवास क्षेत्र बनाएपछि काठमाडौँ महानगरपालिका–६ र बूढानीलकण्ठ नगरपालिका–१०, ११ र १२ को पानीको स्रोत यज्ञमती र चखुँचाखोला अहिले ढलमा परिणत भएका छन्। त्यसमाथि पक्की नाला निर्माण गरेर प्राकृतिक रूपमा सङ्कलन हुने पानीको स्रोत सिधै धोबीखोलामा मिसाउने प्रयास भइरहेको छ। स्थानीय सामाजिक अगुवा शेखर आचार्य भन्नुहुन्छ, “खोलालाई ह्युमपाइपमा सीमित गरेपछि बर्सेनि कपनदेखि काठमाडौँ महानगरपालिका–६ को सरस्वतीनगर हुँदै गोपीकृष्ण चोकभन्दा माथिल्लो भाग पानी पर्नासाथ डुबानमा पर्ने गरेको छ।”

यज्ञमती र चखुँचाखोलाको इतिहास

पुराना राजनीतिज्ञ तथा यस क्षेत्रका जानकार आचार्यका अनुसार यज्ञमतीखोला गोकर्णस्थित जगडोल पार्कको देब्रेतर्फबाट बग्थ्यो। तल आउँदै गर्दा घुमेर कपन आनी गुम्बा हुँदै कपन प्रहरी चौकी, आरम्भचोकमा अर्को खहरे यज्ञमतीसँग मिलेर चखुँचाखोला बन्थ्यो। तर अहिले ती क्षेत्रका अधिकांश स्थानमा बिल्डिङ ठडिएपछि खोला आफ्नो बाटो खोज्दै घर पस्छ।

यत्तिमा मात्र कुरा पूरा हुँदैन। आचार्यले भन्नुभयो, “अर्को खहरे तीनचुली, आरुबारी हुँदै रामहिटी सुबीगाउँ भएर फैकाचोकबाट तेन्जिङचोकदेखि आरम्भचोकबाट तल्तिर आएपछि चखुँचाखोलामा परिणत हुन्थ्यो।” त्यहाँ पनि अहिले खोलामा घरैघर छन्। नेवारी भाषाको चखुँचा नामको खोला नापी विभागका नक्सामा भने चखुँचाखोलाको भाग र दूरीसहित छ। 

भूमाफियाको रजगज

आचार्यका अनुसार २०५० पछि तत्कालीन कपन गाविसमा बस्ती विस्तार तीव्र भएको हो। साना व्यापारी जग्गाको प्लटिङमा लागे। त्यसैको प्रतिफल अहिले बाढी र डुबानको समस्या उत्कर्षमा छ। उहाँले भन्नुभयो, “बस्ती भएको क्षेत्रमा प्लटिङ गरेर बिक्री गरेपछि खोलाछेउको जग्गामा पनि भूमाफियाको नजर प-यो। भूमाफियाले जग्गाको आकार ठूलो बनाएर बिक्री वितरण गरेर हिँडे। अहिले यहाँ बस्नेलाई सास्ती छ।” नापी विभागका नक्साङ्कनअनुसार यज्ञमती र चखुँचाखोलाले आकार लिँदा २५ देखि ३० फिटसम्म फैलिने उहाँले बताउनुभयो। तर हाल चार फिटका दुईवटा नालामा खोला सीमित गरिएकाले बाढीको प्रताडना सहनुपरेको उहाँको भनाइ छ। 

खोला मिच्ने कार्यमा स्थानीय तहले पनि निकै सहयोग गरे। बूढानीलकण्ठ नगरपालिकाका प्रमुख एवं तत्कालीन कपन गाविसका अध्यक्ष मीठाराम अधिकारीले खोला अतिक्रमण भएको स्वीकार गर्नुभयो। उहाँले भन्नुभयो, “यज्ञमतीखोला र चखुँचाखोला खहरेका रूपमा बग्छन्। अव्यवस्थित रूपमा बस्ती विस्तार भएपछि बाढीको समस्या विकराल भएको हो।”

खोला छोपछाप पारेर बस्ती

६० को दशकमा यज्ञमती र चखुँचाखोलालाई व्यवस्थित गरेरै बस्ती विस्तार गर्ने योजना बन्यो। सरस्वतीनगर सुधार सङ्घका अध्यक्ष पेसलकुमार पहाडीका अनुसार खोलाको भागमा दुईतर्फ बगैँचा बनाउने र दुवै किनारमा सडक निर्माण गर्ने सम्झौता 

(बाटो राख्ने सम्झौता) भएको छ। उहाँले भन्नुभयो, “खोला र खहरे पुरिएको ठाउँमा बगैँचा लगाउने सम्झौता थियो। तर भूमाफियाको चङ्गुलमा स्थानीय तह परेपछि योजना अलपत्र प-यो। खोला पुर्ने कार्य रोकिएन।” उहाँका अनुसार भूमाफिया र स्थानीय अगुवाकै मिलिभगतमा खोला पुर्न थालेपछि विरोध गर्ने आँट कसैले गरेनन्। पाइपिङ गरेपछि खोला मिच्नेक्रम अझै तीव्र भयो। उहाँले भन्नुभयो, “खोला पुरेपछि खोलामाथि नै पिच गर्ने कुरा आयो। महानगरतर्फको १३ फिट बाटो पिच भयो। खोला छोपिन थाल्यो। त्यसपछि दुईतिर च्याप्ने काम भयो।”

२०७६ मा महानगरपालिकातर्फ तीन/चार फिट पर्खाल लगाइएको बताउँदै पहाडीले बूढानीलकण्ठ नगरपालिकातर्फ एक इन्च पनि नछोडी संरचना निर्माण हुन थालेपछि उक्त कार्यको विरोध सुरु भएको स्मरण गर्नुभयो। उहाँले खोला बग्ने ठाउँमा ढल हाल्न थालेपछि औपचारिक रूपमै खोलाको बाटो मेट्ने प्रयास भएको बताउनुभयो। उहाँले भन्नुभयो, “क्रमशः बस्ती विस्तार हुँदै गयो। बर्खामा खोला बग्थ्यो। बस्तीको ढल सिधै खोलामा हालेपछि हिउँदमा ढलबाट गन्ध आउन थाल्यो। त्यसपछि दुईतर्फका बासिन्दाले ढल छोप्न थाले।”

उहाँका अनुसार खोला पुर्न र चार फिटका दुईवटा ह्युमपाइप हाल्न स्थानीय तहले नै बजेट लिएको थियो। स्थानीय तह र स्थानीयवासीले ६०/४० को अनुपातमा रकम सङ्कलन गरेर ढल छोपेको उहाँले बताउनुभयो। उहाँले भन्नुभयो, “खोलामाथि बस्ती विस्तार गरेपछि कपन र सरस्वतीनगर क्षेत्रमा डुबानको समस्या ज्यादै बढ्यो। त्यसपछि पुन्यलोचन आचार्य, हरिबोल बोगटी र शेखर आचार्यसहितका अगुवाले चखुँचाखोलामाथि पिच गर्न पाइँदैन भनेर आवाज उठाउनुभयो।” अध्यक्ष पहाडीले यज्ञमती र चखुँचाखोला खोल्नुपर्नेमा आफूहरू प्रस्ट रहेको बताउँदै खोलाकै रूपमा बग्न पाउनेगरी नयाँ संरचना निर्माण गर्न दबाब दिइरहेको उल्लेख गर्नुभयो।