• ३१ वैशाख २०८३, बिहिबार

कृषिमा मुलुकलाई आत्मनिर्भर बनाउन सुझाव

blog

प्रतिनिधिसभा बैठकमा धारणा राख्नुहुँदै सांसद कृपाराम राना थारु । तस्बिरः सुजन गुरुङ

गोरखापत्र अनलाइन

काठमाडौं, वैशाख ३१ गते । नेकपा (एमाले) का सांसद कृपाराम राना थारुले कृषिको आधुनिकीकरणविना मुलुकको अर्थतन्त्र बलियो बनाउन नसकिने भन्दै कृषिमा लगानी बढाउन सरकारसँग माग गर्नुभएको छ । 

प्रतिनिधिसभा बैठकमा आज सरकारको वार्षिक नीति तथा कार्यक्रममाथि संशोधन प्रस्तावबारेको धारणा राख्दै उहाँले सो कुरा बताउनुभएको हो । कृषिमा नेपालले लगानी बढाएमा कृषि उत्पादनलाई निर्यात गर्न सकिने सम्भावना रहेकाले सिँचाइ, मल, बीउ र उत्पादित सामग्रीको बजार भाउबारे स्पष्ट योजना बनाउन उहाँले सरकारसँग माग गर्नुभयो । 

उहाँले सरकारी काठहरु ढलापडा भएर र राखिएका काठहरु सडे गलेर खेर गइरहेको बताउँदै उहाँले काठको व्यवस्थापन गर्न सके त्यसबाट पनि मुलुकलाई ठुलो आम्दानी हुने उहाँले सुझाव दिनुभयो । 

कृषिलाई आयआर्जनको माध्यम बनाएका कृषकका लागि सरकारले सहुलियत सहयोगको व्यवस्था गर्न पनि उहाँले आग्रह गर्नुभयो । कृषिमा सरकारले उचित व्यवस्थापन गर्न सके आत्मनिर्भर बनाएर राम्रो आम्दानी गर्न सकिने उहाँको भनाइ छ ।