• ३० वैशाख २०८१, आइतबार

आनन्दमय जीवनशैली

blog

वर्तमान समयमा मानिसको जीवन अति नै व्यस्त र अनेक विषयमा रुमलिएको देखिन्छ। जसले गर्दा मानिसमा अनेक खालका नकारात्मक सोचाइको विकास हुने तथा जीवन यत्तिकै बिनाकुनै उपलब्धि व्यतित भइरहेको छ। यसै विषयमा केही मानोविज्ञानका कुरा गरौँ, जसले यो जीवनलाई केही हदसम्म सहयोग गर्नेछ।

कुनै बेला ऋणमा डुबेका एक जना उद्योगपति बगैँचाको एक कुनामा निराशामा झोक्राएर बसिरहेका थिए। त्यतिनै बेला एक जना धनीमानी जस्तो देखिने मान्छेले आएर उनलाई यो पैसा लेउ र तिमी आफ्नो काम चलाऊ भन्दै एक करोड रुपियाँको चेक दिएछ। यो पैसाको ब्याज दिनु पर्दैन र यो पैसा तिमीले ठीक एक वर्षपछि यही ठाउँमा आएर मलाई फिर्ता दिनु भनेर उनी त्यहाँबाट गए।

त्यसपछि ती उद्योगपति दातालाई सम्झँदै खुसी भएर त्यहाँबाट घर फर्किए। पाएको चेक सिरानीमुनि राखेर आवश्यक परेका बेला जतिबेला पनि चेक साट्न सकिन्छ र पैसा निकाल्न सकिन्छ भनी उनी ढुक्कसँग व्यवसाय सञ्चालन गर्न थाले।

व्यापारमा मोलतोल, सम्झौता, खरिद बिक्री जस्ता सबै पक्षमा उनले नडराई निर्णय गरेर व्यापार गर्न थालेका थिए। किनभने उनीसँग केही समस्या आइपरे एक करोड रुपियाँको चेक छँदै थियो ।

यसरी व्यवसाय गर्दै जाँदा अचम्म के भयो भने उद्योगपतिलाई उक्त चेक साट्नै परेन। पहिलो छ महिनामा उनले सबै ऋण तिरिसके। त्यसपछिको छ महिनामा उनले एक करोड रुपियाँ कमाए । जब एक वर्ष भयो उद्योगपति चेक फर्काउनका लागि पहिलेको बगैँचाको उही कुनामा पुगे।

जब उनीले त्यहाँ पुगेर दातालाई बोलाउनै के लागेका थिए, एक नर्सले दाताको हात समाउँदै उद्यागपतिलाई भनिन्, “आज धन्न यो मान्छेले तपाईंलाई दुःख दिन पाएन, नत्र जहिले पनि आफूसँग भएको चेकमा जति मन लाग्यो त्यति रकम लेखेर दिई यहाँ आउने जो  कोहीलाई हैरान पार्ने गर्छ।”

यो कुरा सुनेर चेक फर्काउन आएका उद्योगपति छक्क मात्रै परेनन् एउटा नयाँ तथ्यसँग पनि जानकार भए। के थियो त त्यो तथ्य ? त्यो तथ्य के थियो भने आत्मबल नै असल र महìवपूर्ण पुँजी हो ।

ती मानिसले दिएको चेक त मात्र एउटा भरोसा, एउटा सहारा थियो, त्यो पनि नक्कली। तैपनि त्यसबाट मिलेको आत्मबलबाट उनले आफ्नो बिग्रिएको व्यापार सजिलै सम्हाले । नयाँ उत्साह र जाँगरले पुरानै दुनियाँ र छरिएका सपनालाई नयाँ रङ र ढङ दिन सकिँदोरहेछ भन्ने ज्ञान उनलाई प्राप्त भयो।

मनोविज्ञानले पनि यही तìवलाई मानिसको सफलताको मुख्य कारण मानेको छ। आत्मबललाई सामान्यतया अङ्ग्रेजी साहित्यमा self-confidence  भन्ने गरिन्छ । तर मनोविद्हरू self-esteem भन्न धेरै मन पराउँछन्। हेर्दा उस्तै र प्रयोग पनि उही अर्थमा गरिए पनि यी दुई पदावलीमा केही भिन्नता रहेको छ।



Self-confidence कुनै कुरामा सकारात्मक विश्वास धेरै गरिएको चित्त हो भने self-esteem  चाहिँ त्यही विश्वासलाई भावनात्मक तहमा पनि अनुभव गरेर त्यसअनुसार संसारलाई देख्ने र अनुभव गर्न सकिने चित्त हो। Self-confidence  जानकारी र कुनै काम गर्ने कौशलले ज्यादा प्राप्त हुन्छ भने self-esteem  चाहिँ जीवनप्रतिको साँचो प्रेम र आदरले प्राप्त हुन्छ।

Self-confidence असल, खराब दुवै खालका मानिसमा हुन सक्छ तर self-esteem केवल असल मानिसमा पाइने मानसिक अवस्था हो। एउटा अपराधी वा हत्यारामा पनि ठूलो self-confidence हुन सक्छ। वास्तवमा self-confidence ज्यादा  भएकै कारण उसले हत्या वा अपराध गर्न सकेको हो नत्र त अर्काको ज्यान लिने काम कसरी गर्न सक्छ सामान्य अवस्थाको मनले ?

यस्तो self-confidence  चाहिँ ज्यादा घातक हुन्छ, जसले त्यस व्यक्तिलाई हत्यारा बनाइरहेको  हुन्छ। self-confidence  त्यो व्यक्तिमा धेरै भए पनि उसमा self-esteem  भने थोरै हुँदैन। त्यसैले ऊ ढिलो चाँडो निराशा, पश्चात्ताप इत्यादिको सिकार हुन्छ। त्यस माथि पनि प्रहरीले पक्राउ गरी नै हाल्छ, सजाय भोग्नुपर्छ भन्ने कुराले उसको मनोविज्ञान मा पूरै असर पारेको हुन्छ। 

यदि self-confidence  का ठाउँमा ती व्यक्तिमा self-esteem  भइदिएको भए उनी हत्याराका ठाउँमा कसैको ज्यान बचाउने दूत हुन सक्थे। self-esteem  भएको मानिसले गर्ने कामले जहिले पनि दुई परिणाम ल्याउँछ। त्यो के हो भने त्यसले आफ्नो पनि हित र अरूको पनि हित हुन्छ।

Self-esteem भित्र self-confidence  अनिवार्य हुन्छ तर / self-confidence  मा self-esteem  हुन्छ भन्न सकिन्न। जस्तै गहुँभित्र पीठो अनिवार्य हुन्छ तर पिठोमा गहुँको पूरा आकार हुँदैन। त्यसमा धुलो मिसिएर गहुँको शुद्धतालाई जतिबेला पनि नष्ट पारिदिन सक्ने खतरा रहिरहन्छ भने गहुँमा जस्तो बान्की, चोक्कर र चिल्लोपना पिठोमा हुँदैन।

अब कुरा आउँछ तपाईमा self-esteem कस्तो छ ? त्यो थाहा पाउनका लागि एक क्षण एक्लै बस्नुहोस्। आँखा बन्द गर्नुहोस्, आफूले गरेका कामलाई सम्झनुहोस्। समय आनन्दपूर्वक बितेको थियो ?, अरूलाई भित्रै मनदेखि सहयोग गराैँ गरौँ लागेको थियो ?, भोलि के गर्दै हुनुहुन्छ ?, गर्न लागेको काम उचित छ कि नाइ ?, गर्न सम्भव ठान्नु हुन्छ कि नाइ ? आदि यस्ता सबै प्रश्नको उत्तर सकारात्मक आयो भने सम्झनुहोस् तपाईंको self-esteem राम्रो छ।

त्यसलाई अझै बढाउनुहोस्। त्यसका लागि बिहानै उठेर सूर्यको दर्शन गर्नुहोस्, चरालाई आहारा दिनुहोस्, प्राकृतिक सौन्दर्यमा रमाउनुहोस्, यस्तो काम गर्नुहोस् जसको दुष्प्रभाव छैन, जुन गर्न पैसा लाग्दैन। त्यसपछि विस्तारै आफ्नो मनलाई नियाल्नुहोस्, आफ्नै विचारलाई केलाउनुहोस्।

यस्ता अरू पनि साना साना प्रयोग छन्, जसले तपाईमा नभएको जोश ल्याइदिन्छन् र भएको निराशा हटाइदिन्छन्। अनि विस्तारै एक नयाँ दृष्टि, नयाँ उत्साह र नयाँ ढङ्ग तपाईंमा देखा पर्छ। जसले कसैको हानि गर्दैन, आनन्दको मात्रालाई बढाउँछ अनि जीवनलाई अर्थपूर्ण बनाउँछ।