• २३ वैशाख २०८३, बुधबार

पाथीभरामा टेलिकमको फोरजी सेवा

blog

गोरखापत्र समाचारदाता

काठमाडौँ, वैशाख २३ गते । नेपाल टेलिकमले ताप्लेजुङ जिल्लाको प्रसिद्ध तीर्थस्थल पाथीभरामा फोरजी सेवा सोमबारदेखि सञ्चालनमा ल्याएको छ । नेपाल टेलिकमले पाथीभरा मन्दिर र आसपासका स्थानीय तहलाई समेट्ने गरी उच्च गतिको फोरजी सेवा सञ्चालनमा ल्याइएको जनाएको छ । 

समुद्र सतहबाट करिब तीन हजार ७९४ मिटरको उचाइमा रहेको सो विकट भौगोलिक क्षेत्रमा नेटवर्क विस्तार भएसँगै पाथीभराको दर्शन गर्न जाने भक्तजनका साथै मन्दिरआसपास जोडिएका फुङलिङ नगरपालिका, फक्ताङ्लुङ गाउँपालिका, सिरीजङ्घा गाउँपालिका र पाथीभरा याङवाराक गाउँपालिकाका बासिन्दा प्रत्यक्ष लाभान्वित हुने छन् । उच्च गतिको फोरजी डाटा सेवामार्फत मन्दिरपरिसरका तस्बिर, भिडियो तथा लाइभ अपडेट सामाजिक सञ्जालमा सहजै आदानप्रदान गर्न सकिने छ । 

टेलिकमको सेवा विस्तारसँगै सञ्चारको पहुँचबाट टाढा रहेका सो जिल्लाका नगरपालिका तथा गाउँपालिकास्थित दुर्गम बस्तीका बासिन्दा अब सूचना प्रविधिको मूलधारमा जोडिएका छन् । यसले शिक्षा, स्वास्थ्य जस्ता आधारभूत आवश्यकता पूर्तिमा सहयोग पु¥याउनुका साथै दैनिक जनजीवनलाई सहज र सुविधायुक्त बनाउने नेपाल टेलिकमका प्रवक्ता रकिन्द्र मानन्धरले जनाउनुभयो ।