• २३ वैशाख २०८३, बुधबार

आठ दिनयता छैन जाँचपास बन्दरगाहमै रोकियो लोड

blog

नवराज कट्टेल

विराटनगर, वैशाख २३ गते । आठ दिनयता विराटनगर भन्सार कार्यालयबाट व्यावसायिक मालवस्तुको जाँचपास भएको छैन । भन्सारविन्दुमा नियमसङ्गत आएका व्यावसायिक वस्तुमा सोमबारदेखि केही लचिलो बने पनि अधिकतम खुद्रा मूल्य (एमआरपी) उल्लेख नभएका वस्तु जाँचपास नभएको हो । 

विराटनगर भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत उमेश श्रेष्ठ एमआरपी उल्लेख भएका मालवस्तु छुटेर गएको बताउनुहुन्छ । उहाँले भन्नुभयो, “कुरकरे र बिस्कुट जस्ता वस्तुमा एमआरपी उल्लेख भएकाले छोड्यौँ, बाँकीको हकमा हामीले हतार गर्ने कुरा भएन ।” व्यावसायिक मालवस्तु भन्सारविन्दुमा ल्याएर एमआरपी घोषणा गर्ने र उल्लेख गर्नेसम्मका काम व्यापारीले गरेका छन् । यस बिचमा व्यापारीले गरेका सबै प्रयासमा भने भन्सार प्रशासन लचिलो नबनेको आरोप छ । 

उद्योग मोरङ व्यापार सङ्घका उपाध्यक्ष अनिल शारडाले कानुनको अपव्याख्या गरेर नियम लगाइएको बताउनुहुन्छ । उहाँका अनुसार विदेशका निर्यातकर्तासँग नेपालको सरकारले यहाँको अधिकतम खुद्रा मूल्य तोक्नुपर्ने कहीँ कतै पनि नसुहाउने विषय हो । उपभोक्ता हित संरक्षण ऐन, २०७५ अनुसार नेपाली उत्पादनकर्ता वा आयातकर्ताले एमआरपी लगाउने भनिएको छ । जुन एमआरपी उपभोक्ताले थोक वा खुद्रा वस्तु खरिद गर्दा जानकारी पाउने अधिकार राख्ने उहाँको भनाइ छ । अहिले भइरहेको बहस भन्सारविन्दुभन्दा पहिल्यै विदेशमै एमआरपी लगाउनुपर्ने भन्ने कुरा कहीँकतै नमिल्ने शारडाको भनाइ छ । 

व्यवसायीले भन्सारविन्दुमा मालवाहक सवारी रोकेर सरकार बस्दा त्यसको असर क्रमशः बजारमा अभाव सिर्जना हुन सक्नेतर्फ सचेत रहन पनि आग्रह गरेका छन् । विराटनगर भन्सार एजेन्ट सङ्घका अध्यक्ष देवकी शर्माले विराटनगर भन्सारमा औद्योगिक मालवस्तु जाँचपासबाट राजस्व असुलमा धेरै समस्या नभएकाले अझै कडाइ भइरहेको बताउनुहुन्छ । अध्यक्ष शर्माले भारतमा लोड भएर आइरहेका कतिपय मालवस्तु बाटोमै अनलोड भइसकेको बताउनुभयो । 

सङ्घका उपाध्यक्ष शारडाले बन्दरगाहामा आइपुगेका सामान अहिले लोड गर्न रोकेर कतिपय व्यवसायी पर्ख र हेरको स्थितिमा रहेको दाबी गर्नुभयो । उहाँले आठ दिनसम्ममा बजार शृङ्खला अनुसार व्यवसायीले मगाउने सामान कोलकाता बन्दरगाहमा आइसक्ने हुन्छ । अहिले त्यस्ता सामान लोड गर्न रोकेर राख्न थालेको उहाँको दाबी छ ।