• १२ पुस २०८१, शुक्रबार

बिरानो बन्दै नेपाली भाषा

blog

काठमाडौँ, साउन १३ गते । बहुसङ्ख्यक नेपालीले बोल्ने भाषा भए पनि माध्यमिक शिक्षा परीक्षा (एसईई)मा नेपाली र सामाजिक शिक्षा विषयका परीक्षार्थीको नतिजा अत्यन्तै कमजोर देखिएको छ। यो अवस्थाले नेपाली नागरिककै लागि नेपाली भाषा बिस्तारै बिरानो बन्दै गएको देखिन्छ। 

राष्ट्रिय परीक्षा बोर्डले बुधबार सार्वजनिक गरेको नतिजाअनुसार नेपाली विषयमा ‘ए प्लस’ ग्रेड ल्याउने परीक्षार्थी एक हजार ८०४ जना मात्रै छन्। ‘ए ग्रेड’ नै ल्याउने सामाजिक अध्ययन विषयका परीक्षार्थी पनि जम्मा तीन हजार २८३ जना मात्रै छन्। अधिकांश विद्यालय नेपाली भाषामा पढाइ हुने विषय यी दुई मात्रै हुन्। जबकि अङ्ग्रेजी विषयमा सबैभन्दा धेरै अर्थात् १५ हजार ३९९ जनाले ‘ए प्लस’ ल्याएका छन्। २०६८ सालको जनगणनाअनुसार मुलुकमा ४४ प्रतिशत नागरिक नेपाली भाषी छन्। तर एसईईको नतिजाले विद्यार्थी तथा अभिभावकमा समेत अङ्ग्रेजी मोह बढ्दै गएको र नेपाली भाषा क्रमशः बिरानो बन्न थालेको देखिन्छ। 

भाषाविद् प्राध्यापक डा. हेमाङ्गराज अधिकारीले कक्षाकोठाको शिक्षण विधि नै अङ्ग्रेजी भाषामा केन्द्रित भएकाले यस्तो अवस्था आएको बताउनुभयो। अधिकारीले भन्नुभयो, “विद्यार्थीलाई पुस्तकमा लेखिएको भाषा नै हाम्रो भाषा हो। घरमा बोलिने भाषा हाम्रो भाषा होइन भन्ने सन्देश जानेगरी पढाइयो। त्यसैको परिणाम नतिजामा देखियो।” संविधानले नेपाली भाषालाई सरकारी कार्यालयको कामकाजी भाषा भनेको छ तर विद्यालय तहमा विद्यार्थीलाई पढाउने शैली र संवैधानिक व्यवस्थाबीच तालमेल देखिँदैन। शिक्षकले पढाएको विषय र भाषामा लेखियो भने मात्रै राम्रो अङ्क आउने हुनाले पनि विद्यार्थी नेपाली भाषामा कमजोर रहेको अधिकारीको विश्लेषण छ।  भाषा आयोगका अध्यक्ष डा. लवदेव अवस्थीले अङ्ग्रेजीलाई मात्रै एकल भाषा ठान्ने प्रवृत्तिले यस्तो अवस्था निम्त्याएको बताउनुभयो। उहाँले भन्नुभयो, “नेपालको जीवन प्रणालीअनुसार चल्न हाम्रा नानीबाबुहरू कति सक्षम छन् भन्ने वास्तविकता यो नतिजाले देखाएको छ। यसले आफ्नो भाषाप्रति नेपालीको सक्षमता कति छ भन्ने पनि देखाएको छ।”

एसईईको नतिजाअनुसार अनिवार्य विषयमध्ये स्वास्थ्य, जनसङ्ख्या तथा वातावरण विषयमा १३ हजार ९८९ जना छन्। विज्ञान विषयमा आठ हजार ६५८ जनाले ए प्लस ल्याएका छन्। गणित विषयमा चार हजार ९५१ जनाले ए प्लस ल्याएका छन्। यी सबै अनिवार्य विषय हुन्। विद्यार्थीले आठवटा विषयमा कुल आठ सय पूर्णाङ्कका लागि परीक्षा दिएका थिए। जसमध्ये छवटा विषय अनिवार्य तथा दुईवटा ऐच्छिक समूहका थिए। ए ग्रेड ल्याउने परीक्षार्थी पनि अङ्ग्रेजी विषयकै धेरै छन्। यस विषयमा ५९ हजार १६९ जनाले ए ग्रेड ल्याएका छन्। स्वास्थ्य जनसङ्ख्या तथा शारीरिक विषयमा ५६ हजार ८४७ जनाले ए ग्रेड ल्याएका छन्। त्यस्तै नेपाली, विज्ञान र सामाजिक अध्ययन विषयमा ए ग्रेड ल्याउने परीक्षार्थी क्रमशः २३ हजार ८७०, २९ हजार ६८९, तथा २४ हजार ९१४ जना छन्। गणित विषयमा १३ हजार ५० जनाले ए ग्रेड ल्याएका छन्। 

तुलनात्मक रूपमा माथिल्लो ग्रेडमा थोरै रहेको विषयमा तल्लो ग्रेड धेरै छ। तर मुलुकको मौलिक पहिचान, प्राकृतिक स्रोत, धार्मिक सम्पदा तथा ऐतिहासिक तथा समसामयिक विषयमा ज्ञान दिने उद्देश्यले निर्माण गरिएको सामाजिक अध्ययन तथा नेपाली विषयमा भने विद्यार्थीको सिकाइ स्तर कमजोर देखिएको छ। पछिल्लो समय निजी विद्यालयको सिको गर्दै सामुदायिक विद्यालयले पनि अङ्ग्रेजी माध्यमको पढाइलाई प्राथमिकता दिने गरेका छन्।    

Author
सूर्यप्रसाद पाण्डे

उहाँ शिक्षा र समसामयिक विषयमा रिपोर्टिङ गर्नुहुन्छ ।