• १० मंसिर २०८१, सोमबार

चोरीको स्कुटरसहित पक्राउ

blog

चोरीको स्कुटरसहित पक्राउ परेका निरज थापा । तस्बिर : उपत्यका ट्राफिक प्रहरी कार्यालय

गोरखापत्र अनलाइन

काठमाडौं, साउन १२ गते । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले स्कुटर चोरी गरेको आरोपमा एकजनालाई स्कुटरसहित पक्राउ गरेको छ । पक्राउ पर्नेमा पर्वतको कुस्मा नगरपालिका–९ हातेमालो चोक घर भई हाल काठमाडौं माछापोखरी बस्ने २२ वर्षीय निरज थापा रहेका छन् । थापालाई बिहीबार ट्राफिक प्रहरीले पक्राउ गरेको हो ।   

उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता (प्रहरी वरिष्ठ उपरीक्षक) राजेन्द्र प्रसाद भट्टका अनुसार हराएको मोटरसाइकलहरु चोरी गर्ने कार्यमा संलग्न व्यक्तिहरुको निग्रानी एवं खोजतलास गर्न सादा पोसाकमा खटिएको ट्राफिक प्रहरीको टोलीले काठमाडौं–२६ दरबारमार्ग ज्याठा सडक खण्डबाट बागमती प्रदेश–०२–०३७ प ९४१०नम्बरको स्कुटर चलाई रहेको अवस्थामा थापालाई स्कुटरसहित ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको हो ।

उक्त स्कुटर तनहुँको भिरकोट गाउँपालिका–३ घर भई हाल काठमाडौं थानकोट बस्ने विजय थापाको रहेको प्रवक्ता भट्टले बताउनुभयो । उहाँका अनुसार विजय थापाले काठमाडौं माछापोखरीबाट हराएको भन्दै ट्राफिक प्रहरी कार्यालयमा निवेदन दिनुभएको थियो ।

ट्राफिक प्रहरीले पछिल्लो समय काठमाडौं उपत्यकाको विभिन्न ठाउँबाट चोरी भई हराएका मोटरसाइकल र चोरी कार्यमा संलग्न व्यक्तिको सूचना संकलन एवं   निगरानी बढाएर विशेष कारबाही अभियान चलाएको छ । निरज थापा र स्कुटरलाई अनुसन्धान गरी कारबाहीका लागि प्रहरी वृत्त बालाजु पठाएको ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।