• ७ जेठ २०८१, सोमबार

माटो र इतिहास

blog

म यतिखेर 

मेरो माटोको इतिहास खोजिरहेछु

पुर्खाका पसिनाले भिजेका भोटाहरू

दापसहित रक्तरञ्जित खुकुरी, खुँडा र तरबारहरू

पुर्खाले टेकेका पाइतालाको डाम

र देउरालीमा चढाएका निसान ध्वजापताकाहरू हेरिरहेछु 

पुर्खाका दुःखले अर्जेको यो माटोको इतिहास पढिरहेछु ।


देशका लागि भोकभोकै भिडेको कथा

पानीबिना प्यास प्यासै लडेका कैयौँ युद्धहरू

साहस, बलिदान र त्यागका कथा पढिरहेछु ।


म नियालेर हेर्दैछु 

वर्तमानका असरल्ल छरिएका नक्साहरू र

सिमाना मिचिएका केरमेट स्वरूपहरू

म तुलना गर्दैछु इतिहासका पन्नाहरू

शत्रुलाई हराएर कोरिएको नक्सा र सिमाना

अनि वीरताको इतिहास सम्झिरहेछु ।


म गर्वसाथ भन्न सक्छु

माटोसँग गाँसिएको छ हाम्रो जीवनको रङ्ग 

माटोसँग मिसिएको छ हाम्रो इतिहास र वर्तमान

माटोमै कोरिएको छ हाम्रो परिचय र अस्मिताको आकाश ।


हो, पक्कै हो

अस्मिता–माटोसँगको सबन्ध रहेछ

परिचय–माटोमा कोरिएको इतिहास रहेछ 

इतिहासको सम्मान नगर्नेहरू र

माटोको माया नहुनेहरू

देशद्रोहीभन्दा फरक नपर्ने रहेछ ।


म यतिखेर 

मेरो माटोको इतिहास खोजिरहेछु

मेरा पुर्खाले कोरेका नक्साहरू र 

स्थापित गरेका सिमानाका चौकिल्लाहरू खोज्दैछु

अनि मेरा पुर्खाको इतिहास र वीरताको गाथा पढिरहेछु । 

 नरेफाँट, काठमाडौँ