• ४ साउन २०८१, शुक्रबार

प्रबर्धनको पर्खाइमा चिडिया ताल

blog

घोडाघोडी समाचारदाता 

घोडाघोडी (कैलाली), साउन १२ गते ।   कैलालीको घोडाघोडी नगरपालिका–२, साँडेपानीमा रहेको चिडिया ताल उचित प्रचारप्रसार नहुँदा ओझेलमा परेको छ। पूर्वपश्चिम राजमार्गदेखि करिब तीन सय मिटर उत्तरमा रहेको चिडिया ताल चिडिया सामुदायिक वन क्षेत्रमा अवस्थित छ। 

ताल वरपर अन्य साना ठूला गरेर १२ वटा तालसमेत छन्। हरियाली वनभित्र प्राकृतिक सुन्दरताले भरिपूर्ण तालमा सौन्दर्यसँगसँगै त्यहाँ वन्यजन्तु र चराचुरुङ्गीको समेत बसोबास छ। जैविक तथा प्राकृतिक सुन्दरताले भरिपूर्ण ताल वरपर पर्यटक आकर्षणका लागि पैदल मार्ग, ड्याम निर्माण गरिए पनि पर्यटकको आगमन भने खासै हुन नसकेको स्थानीयवासीको भनाइ छ।

घोडाघोडी नगरपालिका–२, साँडेपानीका रणबहादुर भण्डाराले राजमार्गदेखि नजिकै भएर पनि चिडिया तालको प्रसारप्रसार हुन नसकेको बताउनुभयो। चिडिया अर्थात् चराका लागि महŒवपूर्ण मानिने सो ताल चरा अवलोकनका साथै हरियाली वातावरणबीच तालको रमणीय दृश्य अवलोकनले मनै लोभ्याउने ठाउँ भए पनि प्रचार हुन नसक्नु दुःखद रहेको गुनासो भण्डाराले गर्नुभयो। उहाँले पर्यटकीय क्षेत्रका रूपमा विकास गर्न सके स्थानीयस्तरमा रोजगारी सिर्जना हुने बताउनुभयो।

स्थानीय जसुदेवी विष्टले पहिला–पहिला त खासै कोही नआउने तालमा पैदलमार्ग बनेपछि भने फाट्टफुट्ट मानिस घुम्न आउने गरेको बताउनुभयो। 

चिडिया ताल सामुदायिक वन उपझोक्ता समूहका अध्यक्ष चक्रबहादुर विष्टले सामुदायिक वन क्षेत्रमा रहेको यो तालले पर्यटकीय विकासका लागि सम्भाव्यता बोकेको बताउनुभयो। अध्यक्ष विष्टले सङ्घीय संरचनामा देश गएपछि २०७६ सालबाट चिडिया तालको संरक्षण र पर्यटन प्रवद्र्धनमा काम हुँदै आएको बताउनुभयो। 

सो तालमा हालसम्म स्थानीय सरकार, राष्ट्रपति चुरे संरक्षण, कर्णाली जलाधार, सुदूरपश्चिम प्रदेश उद्योग वन तथा पर्यटन मन्त्रालय, राष्ट्रिय ताल संरक्षण समिति, डिभिजन वन कार्यालयलगायतको सहयोगमा काम भएको छ। अध्यक्ष विष्टले हालसम्म करिब एक करोड रुपियाँ लगानीमा ताल वरपर ड्याम निर्माण, तट्बन्ध, आउटलेट, गेट निर्माणका साथै इन्टरलक व्यवस्थासहितको पैदलमार्ग निर्माणको कार्य भएको बताउनुभयो।

पर्यटकका लागि घुम्न, दृश्यावलोकन गर्न, वनभोजका लागि निकै रमणीय ठाउँ भएको अध्यक्ष विष्टले बताउनुभयो। शान्त हरियाली वातावरणमा वर्षौं पहिलादेखि चराचुरुङ्गीको बसोबास रहेकाले सो तालको नाम चिडिया रहन गएको स्थानीयवासीको भनाइ छ। 

चराविद् हिरूलाल डङ्गौराले विभिन्न चराको बसोबास रहेको सो ताल क्षेत्र विशेष गरेर हरिहाँसका लागि अन्डा कोरल्न र बच्चा हुर्काउन उपयुक्त रहेको बताउनुभयो। डङ्गौराले वर्षैभरि चिस्यान रहने सीमसार क्षेत्र रहेकाले यहाँ चरासँगसँगै कछुवा, माछा, अजिङ्गरलगायत जलचर प्राणीको बसोबास रहेको बताउनुभयो। 

१२७ हेक्टर वन क्षेत्रभित्र करिब ३० बिघा क्षेत्रफलमा चिडिया ताल फैलिएको छ। घोडाघोडी नगरपालिकाले तीन वर्षअघि माछापालन गर्न चार वर्षका लागि ताल ठेक्कामा दिएको छ। 

सो क्षेत्रलाई हात्ती प्रजनन केन्द्रका लागि सम्भाव्यता अध्ययनसमेत गरिएको छ। प्रादेशिक फिल्म निर्माणस्थल बनाउन चिडिया ताल छेउकै क्षेत्र छनोटमा परेको छ।