कुल बहादुर शाही
जाजरकोट, वैशाख १४ गते । कक्षा १२ को परीक्षाका क्रममा जाजरकोटका दुई परीक्षा केन्द्रबाट परीक्षार्थीहरूको साथबाट ४० थान मोबाइल बरामद गरिएको छ । सोमबारदेखि सुरु भएको परीक्षाका क्रममा जिल्लाको शिवालय गाउँपालिका–७ स्थित वीरेन्द्र माध्यमिक विद्यालय परीक्षा केन्द्र र शिवालय गाउँपालिका–३ स्थित सरस्वती माध्यमिक विद्यालय सीमा परीक्षा केन्द्रबाट ती मोबाइल बरामद गरिएको हो ।
वीरेन्द्र माध्यमिक विद्यालय परीक्षा केन्द्रका केन्द्राध्यक्ष शेरबहादुर खत्रीका अनुसार उक्त केन्द्रबाट ३५ थान मोबाइल बरामद गरिएको हो । परीक्षालाई मर्यादित, व्यवस्थित र निष्पक्ष बनाउन गरिएको सुरक्षा जाँचका क्रममा परीक्षार्थीहरूले साथमा ल्याएका मोबाइल नियन्त्रणमा लिइएको उहाँले बताउनुभयो ।
उक्त परीक्षा केन्द्रमा २४१ जना परीक्षार्थीमध्ये २१६ जना सहभागी भएका छन् भने २५ जना अनुपस्थित रहेका छन् ।
त्यसैगरी सरस्वती माध्यमिक विद्यालय सीमा परीक्षा केन्द्रका केन्द्राध्यक्ष कमल थापाका अनुसार उक्त केन्द्रबाट ५ थान मोबाइल बरामद गरिएको छ । यहाँ २१२ जना परीक्षार्थीमध्ये १७९ जना मात्र परीक्षामा सहभागी भएका छन् भने ३३ जना अनुपस्थित रहेका छन् ।
शिवालयका दुवै परीक्षा केन्द्रमा मोबाइल, गेस पेपरलगायत निषेधित सामग्री नियन्त्रणमा लिएर शान्तिपूर्ण रूपमा परीक्षा सञ्चालन भइरहेको शिवालय गाउँपालिकाका वरिष्ठ शिक्षा अधिकृत मानबहादुर बस्नेतले जानकारी दिनुभयो ।