• ८ वैशाख २०८१, शनिबार

‘हलो क्रान्तिले सामाजिक र राजनीतिक परिवर्तन ल्यायो’

blog

गोरखापत्र अनलाइन

लमजुङ, साउन ११ गते । नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले हलो क्रान्तिले सामाजिक र राजनीतिक परिवर्तनमा योगदान गरेको बताउनु भएको छ । 

हलो क्रान्ति सुरुवात भएको स्थल लमजुङको सुन्दर बजार नगरपालिका वडा नम्बर ४ दुराडाँडा बाटेगरामा बुधबार आयोजित कार्यक्रममा नेता पौडेलले दुराडाँडाका तोयानाथ अधिकारी, शेषकान्त अधिकारी, हरिभक्त पौडेललगायतले हलो क्रान्ति सुरूवात गरेको सन्दर्भ औंल्याउनु भयो । 

वि.सं. २००४ देखि नै यो अभियान सुरु भए पनि अनौ समातेर हलो जोत्ने काम भने २००६ साउन ११ मा भएको मानिन्छ । त्यसबेला शेषकान्तले आफ्नो खेतमा अनौ समाएर हलो जोतेका थिए । लमजुङ हुँदै हलो क्रान्ति कास्की, गोरखा, तनहुँमा समेत पुगेको थियो । 

त्यसबेला हलो क्रान्तिले राणा शासनको विरोधसमेत गरेको थियो । हलोक्रान्ति नेपाल तथा तोयानाथ स्मृति प्रतिष्ठानले बुधबार दुराडाँडामा गरेको कार्यक्रममा बोल्दै पौडेलले चेतनशील यस ठाउँको विकास निर्माणमा सरकारले ध्यान पु¥याउन नसकेको धारणा राख्नुभयो । 

नेता पौडेलले भन्नुभयो, ‘‘समाज परिवर्तनका लागि त्यसबेला यहाँ हलो क्रान्ति भएको थियो । यहाँ हलो जोतेपछि त्यसले नेपालका धेरै जिल्लामा हलचल ल्यायो, समाज सुधार गर्न र सामन्तवादविरूद्ध लड्ने त्यसबेला तोयानाथहरू थिए । भलै उनीहरू कांग्रेस थिए तर यो कांग्रेसको मात्र अभियान भने थिएन ।’’ 

हलो क्रान्तिलाई सुरुमा कांग्रेसले केन्द्रीय कार्यक्रम नबनाएको र पछि मात्रै आत्मसात गर्दै यो अभियानलाई निरन्तरता दिन खोजेको देखिएको उहाँ बताउनु हुन्छ । हलो क्रान्ति प्रभावकारी बन्दै गएपछि कांग्रेसले देशभर सञ्चालन गरेको थियो र यो क्रान्ति राणाविरोधी आन्दोलन पनि थियो ।

‘‘गुरुयोजना बनाई यस ठाउँको विकास गर्न स्थानीय, प्रदेश र संघ सरकारले काम गर्नुपर्दछ,  ‘स्थानीयस्तरबाट पनि हलो क्रान्तिका महत्वपूर्ण घटना समेटेर एउटा ‘डकुमेन्ट’ तयार गर्नुपर्दछ । लमजुङकै नेता पृथ्वीसुब्बा गुरुङ गण्डकी प्रदेशमा यसअघि मुख्यमन्त्री भए पनि हलो क्रान्ति सुरू भएको ठाउँको विकासमा ध्यान नपु¥याएको पाइएको छ ।’’ नेता पौडेलले थप्नुभयो । 

नेता पौडेलले हलो क्रान्तिका अभियन्ताहरूको स्मरणमा बनाइएको नामावली स्तम्भको पनि उदघाटन गर्नुभयो ।