• २२ असार २०८१, शनिबार

एन्फाको कुनै पदमा बस्न दबाब दिएको छैन : थापा

blog

गौरव थापा ।

काठमाडौं, साउन ११ गते । अखिल नेपाल फुटबल संघ (एन्फा) को प्रमुख कार्यकारी अधिकृत (सिईओ) बन्ने चर्चा चलेका बेला गौरव थापाले आफुले एन्फाको पदका लागि कसैलाई अनुरोध र दबाब नदिएको बताउनुभएको छ । 

एन्फाका पूर्व अध्यक्ष गणेश थापा (हाल फिफाबाट १० बर्ष प्रतिबन्धित) का छोरा समेत रहनुभएका थापाले बुधबार प्रेस विज्ञप्ती जारी गर्दै आफुले पदका लागि दबाब नदिएको तर वर्तमान अध्यक्ष (पंकजविक्रम नेम्वाङ) र महासचिव (किरण राई)ले सहयोगको लागि आग्रह गरेको पनि बताउनुभएको छ ।

विज्ञप्तीमा थापाले विश्व फुटबल महासंघ (फिफा) र एसियाली फुटबल महासंघ (एएफसी) लाई अमान्य हुने कुनैपनि भूमिका नचाहेको स्पस्ट पनि पार्नुभएको छ । ‘फिफा र एएफसीलाई अमान्य हुने गरि मैले एन्फामा कुनै पनि भुमिका खोजेको छैन । पदका लागि कसैलाई अनुरोध वा दबाब दिएको छैन । अध्यक्ष र महासचिवले नै सहयोग गर्न भनेर मेरो नाम प्रस्ताब गर्नुभएको हो,’ गौरव थापाले भन्नुभएको छ । 

असार ६ गते भएको एन्फा निर्वाचनमा अध्यक्ष पदमा निर्वाचित नेम्वाङलाई गणेश थापा समूहको ठूलो सहयोग रहेको थियो । सोही अनुरुप गौरव थापालाई सिईओ बनाउन नेम्वाङ तयार रहनुभएको थियो । तर निर्वाचनपछि सिईओमा थापाको नाम प्रस्ताव भएपछि विवाद चुलिएको छ । फिफाको प्रतिबन्धमा रहेका गणेश थापाले छोरा गौरवलाई सिईओ नियुक्तका लागि दबाब दिएको समाचारहरु बाहिरिएका छन् । 

गौरवले विज्ञप्तीमा नेपाली फुटबल बिनास चाहनेले आफुविरुद्ध षड्यन्त्र गरेको पनि बताउनुभएको छ । उहाँले भन्नुभएको छ, ‘नेपाली फुटबलको विनास चाहने एउटा समूहले संगठित रुपमा गरिरहेको षडयन्त्र दूर्भाग्यपूर्ण छ । अझ त्यसमा मेरो नाम समेत जोडिनु झनै आश्चर्यजनक र दुःखद छ । म फुटबलको एउटा व्यावसायिक व्यक्ति हु र नेपाली फुटबलका लागि आवश्यक पर्दा आफ्नो क्षमताअनुसार योगदान गर्न कहिल्यै पछि पर्ने छैन ।