• १३ वैशाख २०८३, आइतबार

वर्षापछि गर्मीबाट राहत, सर्लाहीमा चट्याङ र हावाहुरीको असर

blog

पानी परेपछि लालबन्दी नगरपालिका–५, मेजरगन्ज क्षेत्रको आइतबार बिहानको दृश्य । तस्बिरः जनार्जन खत्री

जनार्जन खत्री
सर्लाही, वैशाख १३ गते ।
सर्लाहीमा शनिबार राति पूर्व–पश्चिम राजमार्ग क्षेत्र र आसपासका स्थानहरूमा मुसलधारे वर्षा भएको छ । दुई दिनदेखि अत्यधिक गर्मीबाट प्रभावित स्थानीयले वर्षापछि मौसम शीतल भएसँगै राहत महसुस गरेका छन् । राति जिल्लाको लालबन्दी, नवलपुर, हरिवन, रानिगन्ज, बयलवासलगायत क्षेत्रमा केहीबेर हावाहुरी र चट्याङसहित भारी वर्षा भएको हो ।

स्थानीयका अनुसार केही स्थानमा भल बग्ने गरी पानी परेको थियो । तर सदरमुकाम मलङ्गवासहित जिल्लाको दक्षिणी भेगमा भने मौसम बदली भए पनि वर्षा हुन सकेन ।

बरहथवा नगरपालिका–२, हजरियाका महेश बरालले आफ्नो क्षेत्रमा सामान्य धुलो मेटिने गरी मात्र पानी परेको बताउनुभयो । वर्षा नभएको स्थानमा पनि मौसम बदली भई आकाश धुम्मिँदा गर्मी केही कम भएको महसुस गरिएको छ ।

जिल्लाको चुरे आसपासका केही क्षेत्रमा आइतबार बिहानै वर्षा भएको स्थानीयले बताएका छन् । एक्कासी परेको वर्षाका कारण केही किसानले भित्र्याउँदै गरेको हाइब्रिड मकै भिजेर सामान्य क्षति भएको लालबन्दी नगरपालिका–१६, परवानीपुरका वडाध्यक्ष तथा किसान गणेशबहादुर थापाले जानकारी दिनुभयो ।

उहाँका अनुसार अहिले किसानहरूले हाइब्रिड मकै भाँचेर घरमा ल्याउने र थ्रेसरमार्फत दाना झार्ने काम गरिरहेका छन् । घर–आँगनमा सुकाउन राखिएको मकै बेलुका मौसम बदली हुनेबित्तिकै हतारहतार थन्क्याएकाले धेरै किसानको मकै भिज्न नपाएको उहाँले बताउनुभयो ।

चर्को घाम र तापक्रमका कारण सुक्खापन बढ्दै गइरहेका बेला परेको वर्षाले राहत दिएको छ । साथै, यस क्षेत्रमा वन क्षेत्रमा पुनः सुरु भएको फाट्टफुट्ट डढेलो वर्षापछि स्वतः निभेको स्थानीयले बताएका छन् । वर्षा र हावाहुरीका कारण आँप र लिचीका चिचिला झरेर क्षति पुगेको छ । साथै केही स्थानमा कच्ची घरका छाना उड्नुका साथै घेराबारामा पनि क्षति पुगेको छ ।