स्मिता अर्जेल
मकवानपुरगढी, वैशाख ११ गते ।बागमती प्रदेश सरकार अन्तर्गतका सबै मन्त्रालय, आयोग, सचिवालय तथा कार्यालयलाई कर्मचारीको हाजिरी विवरण अद्यावधिक गरी अनिवार्य रुपमा पेश गर्न निर्देशन दिइएको छ ।
शुक्रबार मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जारी गरेको पत्रमा कार्यालयमा कार्यरत कर्मचारीको उपस्थितिलाई व्यवस्थित बनाउन विद्युतीय हाजिरी प्रणालीमा आबद्ध हुनुपर्ने उल्लेख गरिएको छ ।
साथै, काज तथा बिदामा रहेका कर्मचारीको विवरणसमेत उक्त प्रणालीमार्फत अद्यावधिक गर्नुपर्ने व्यवस्था मिलाउन भनिएको छ।
कार्यालयका अधिकृत सातौँ ऋषिराम भुसालद्वारा हस्ताक्षरित पत्रमा भनिएको छ “कार्यालयमा कार्यरत कर्मचारीको हाजिरी उपस्थितिको लागि विद्युतीय हाजिरी प्रणालीमा आवद्ध गरी आएको, गएको, काज र बिदा लगायतका विवरणसमेत विद्युतीय प्रणालीबाटै देखिने व्यवस्था मिलाउनु हुन अनुरोध छ ।”
निर्देशनअनुसार प्रत्येक महिनाको हाजिरी विवरण प्रिन्ट गरी प्रमाणित अभिलेख राख्नुपर्नेछ ।साथै, सो विवरण प्रत्येक महिना समाप्त भएको तीन दिनभित्र सम्बन्धित कार्यालयमार्फत मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पठाउनुपर्ने जनाइएको छ ।
कार्यालयले यो कदम कर्मचारी व्यवस्थापनलाई पारदर्शी, व्यवस्थित र प्रविधिमैत्री बनाउन महत्वपूर्ण हुने अपेक्षा गरेको छ ।यस्तै, सूचना तथा सञ्चार समन्वय शाखालाई उक्त विवरण वेबसाइटमार्फत सार्वजनिक गर्ने जिम्मेवारी पनि दिइएको छ ।
कर्मचारी समयमा कार्यालयमा नपुग्ने, कार्यालय समय पूरा नबस्ने तथा खाजा खाने सीमित समय भन्दै घण्टौँ बाहिर बस्ने जस्ता जनगुनासो बढ्दै गएपछि यस्तो निर्णय गरिएको मुख्यमन्त्री तथा मन्त्री परिषद्को कार्यालयले जनाएको छ ।