अर्जुन काफ्ले
स्याङ्जा, वैशाख १० गते । संघीय सरकारले वैशाख १५ गतेदेखि भर्ना अभियान र २१ गतेदेखि पठनपाठन सुरु गर्न निर्देशन दिए पनि स्याङ्जामा धमाधम पठनपाठन सुरु गरिएको छ। पालिकाहरूले विद्यालय खोल्न निर्देशन दिएसँगै यहाँका विद्यालय सञ्चालनमा आएका हुन्।
११ पालिका रहेको स्याङ्जामा फेदीखोला, अर्जुनचौपारी र कालीगण्डकी गाउँपालिकाका सबै विद्यालयमा बुधबारदेखि पठनपाठन अगाडि बढाइएको छ।
संविधान र कानुनअनुसार आधारभूत तथा माध्यमिक शिक्षा स्थानीय तहको एकल अधिकार भएकाले पठनपाठन सुरु गरिएको फेदीखोला गाउँपालिकाका अध्यक्ष घनश्याम सुवेदीले बताउनुभयो। विद्यार्थीको पढाइमा असर पर्न सक्ने भन्दै अभियानकै रूपमा पठनपाठन अगाडि बढाइएको अर्जुनचौपारी गाउँपालिकाका अध्यक्ष प्रकाश तिवारीले जानकारी दिनुभयो।
यस्तै, वालिङ, पुतलीबजार र बिरुवा नगरपालिकाले पनि आजदेखि पठनपाठन सुरु गर्न विद्यालयलाई निर्देशन दिएका छन्। यहाँका सबै पालिकाले भर्ना अभियान तीव्र रूपमा अघि बढाएका छन्। चापाकोट नगरपालिकाले वैशाख १४ गते र हरिनाश गाउँपालिकाले १५ गतेदेखि पठनपाठन सुरु गर्न सबै विद्यालयलाई निर्देशन दिएका छन्।
आँधीखोला र गल्याङ नगरपालिकाले वैशाख १६ गतेदेखि पठनपाठन सुरु गर्ने जनाएका छन्। भीरकोट नगरपालिकाले भर्ना अभियानलगायतका गतिविधि अघि बढाए पनि पठनपाठन वैशाख २१ गतेदेखि मात्र सुरु गर्ने प्रमुख प्रशासकीय अधिकृत लक्ष्मण शर्माले बताउनुभयो।
हरिनाश गाउँपालिकाले आइतबारसमेत कक्षा सञ्चालन गर्ने गरी निर्देशन जारी गरेको छ भने वालिङ नगरपालिकाले विद्यालय समय बिहान ९ देखि साँझ ४ बजेसम्म कायम गर्ने जनाएको छ।