बैतडी समाचारदाता
बैतडी, वैशाख १० गते । सुदूरपश्चिम प्रदेशमा आत्महत्याका घटना विकराल बन्न थालेका छन् । गत चैतमा मात्रै ५५ जनाले आत्महत्या गरेका छन् । आत्महत्या गर्ने उमेर समूहमा जेनजीको सङ्ख्या बढी देखिएको प्रहरीको तथ्याङ्क छ । आत्महत्या गर्ने उमेर समूह अनुसार १० देखि ३० वर्षसम्मका २८ जना रहेका छन् । १४ देखि २८ वर्षभित्रका युवा जेनजीभित्र पर्छन् ।
सुदूरपश्चिम प्रदेश प्रहरीको तथ्याङ्क अनुसार चालु अर्थिक वर्ष २०८२/८३ को साउनदेखि चैत मसान्तसम्म ४२१ जनाले आत्महत्या गरेको प्रहरी वरिष्ठ उपरीक्षक एवं प्रहरी प्रवक्ता पदमबहादुर विष्टले बताउनुभयो । उहाँका अनुसार महिला १२७, पुरुष १९९, बालक २३ र बालिका ७२ जनाले आत्महत्या गरेको छन् । मङ्गलबार सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय कैलालीले चैतको कार्य प्रगति विवरणसम्बन्धी प्रेस विज्ञप्ति जारी गरेको छ । विज्ञप्तिमा विभिन्न अपराध अनुसन्धानलगायतका घटनाको विवरण समावेश गरिएको छ । विवरणमा आर्थिक अपराध, लागुऔषध र आत्महत्याका घटना बढी देखिएका छन् । चैतमा आत्महत्या गर्ने उमेर समूहको विवरण अनुसार २० वर्षमुनिका १८ जना, २१ देखि ३० वर्षसम्मका १० जना, ३१ देखि ४० वर्षसम्मका आठ जना, ४१ देखि ५० वर्षका छ जना र ५० वर्षमाथिका १३ जना रहेका छन् ।
प्रहरी प्रवक्ता पदमबहादुर विष्टले चैतमा ३८३ वटा अपराधका घटना भएको जानकारी दिनुभयो । उहाँका अनुसार घटनामध्ये आर्थिक अपराध, लागुऔषध र आत्महत्याका घटनाको सङ्ख्या उच्च देखिएको छ । तथ्याङ्क अनुसार सुदूरपश्चिममा औसतमा प्रत्येक तीन दिनमा चार जनाले आत्महत्या गर्ने गरेका छन् । आव २०७९/८० देखि २०८१/८२ सम्मको अवधिमा यो सङ्ख्या चिन्ताजनक देखिएको छ । पछिल्लो साढे तीन वर्षमा यस प्रदेशमा एक हजार ८९२ जनाले ज्यान गुमाएका छन् । आत्महत्या बढ्नुका प्रमुख कारणमध्ये गरिबी, पारिवारिक कलह, मानसिक स्वास्थ्य, अशिक्षा, सामाजिक सम्बन्धमा उतारचढाव र आवेगमा आउनु जस्ता कारण रहेको प्रहरी प्रवक्ता विष्टको भनाइ छ ।
आत्महत्या रोक्न हेल्पलाइन
प्रदेशमा आत्महत्याको अवस्था विकराल बन्न थालेपछि रोकथामका लागि निःशुल्क हेल्पलाइन सञ्चालनमा रहेको प्रवक्ता विष्टले जानकारी दिनुभयो । उहाँले मानसिक तनावमा भएका वा देखा परेमा नेपाल सरकारको ११६६ नम्बरको निःशुल्क हेल्पलाइनमा चौबिसै घण्टा खुला हुने भएकाले सम्पर्क गर्न सकिने जानकारी दिनुभयो । आत्महत्या रोकथाम गर्न गरिबी र मानसिक स्वास्थ्य मुख्य कुरा देखिएकाले यसमा सुधार गर्न स्थानीय तहका सरकारले लगानी गर्नुपर्ने स्वास्थ्य कार्यालय बैतडीका प्रमुख तीर्थराज भट्टले बताउनुभयो ।