• ३ साउन २०८१, बिहिबार

बालबालिकामा एडिनो सङ्क्रमण

blog

काठमाडौँ, साउन ११ गते । बालबालिकामा एडिनो भाइरसको सङ्क्रमण देखिएको छ। कान्ति बाल अस्पतालको बहिरङ्ग विभागमा आएका बिरामी उक्त भाइरसबाट सङ्क्रमित पुष्टि भएको हो। 

कान्ति बाल अस्पतालमा उपचारका लागि आएका बालबालिकामा कडा ज्वरोको सङ्क्रमण देखिएपछि अस्पतालले उनीहरूको नमुना परीक्षणका लागि टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला पठाएको थियो। टेकु प्रयोगशाला पठाइएका १३ नमुनामध्ये १२ जनालाई एडिनो भाइरसको सङ्क्रमण पुष्टि भएको हो। कान्ति बाल अस्पतालका निर्देशक डा. युवा बसौलाले १३ जना बालबालिकाको नमुनाका लागि जनस्वास्थ्य प्रयोगशाला टेकु पठाइएकोमा १२ जनालाई एडिनो भाइरस पुष्टि भएको जानकारी दिनुभयो । एडिनो भाइरस नयाँ नभएको जानकारी दिँदै उहाँले विगतमा पनि यो भाइरस देखिने गरेको बताउनुभयो। एडिनो भाइरस सर्ने भन्दै उहाँले भाइरस भएको व्यक्तिको हात छोएमा वा खेलौना वा अन्य वस्तु भएको व्यक्तिले छोएर आफ्नो मुख, नाक वा आँखा छुँदा सङ्क्रमण हुन सक्ने बताउनुभयो। 

रिपोर्ट मङ्गलबार आएको जानकारी दिँदै उहाँले उक्त रिपोर्ट इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखालाई पठाएको जानकारी दिनुभयो। डा. बसौलाका अनुसार १३ मध्ये तीन जनामा इन्फ्लुएन्जा ए पुष्टि भएको छ। 

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा प्रमुख डा. चुमनलाल दासले नमुना परीक्षणका लागि दिएको तर महाशाखामा रिपोर्ट आइनसकेको बताउनुभयो। डा. बसौलाले बालबालिकामा खोकी, उच्च ज्वरो, नाकबाट सिगान बग्ने, घाँटी दुख्ने जस्ता लक्षण भएमा एडिनो भाइरस हुन सक्ने बताउनुभयो। 

उहाँले एडिनो भाइरसको कुनै औषधि नहुने भन्दै धेरै दिनसम्म पनि निको नभएमा एन्टिबायोटिक चलाउनुपर्ने बताउनुभयो। सामान्यतया सिटामोल प्रयोगले केही दिनभित्र निको हुने उहाँको भनाइ छ।