• ३ वैशाख २०८३, बिहिबार

उच्च मनोबलसाथ खटिन आईजीपी अर्यालको निर्देशन

blog

सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याल सशस्त्र प्रहरी बल नेपाल विपद् व्यवस्थापन तालिम शिक्षालय कुनिरटार चितवनको २२औँ स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै ।

काठमाडौँ, वैशाख ३ गते । सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले देश र जनताप्रति हामीले दिने सेवा नै धर्म भएकोे बताउनुहुँदै सकारात्म सोच र उच्च मनोवलकासाथ सशस्त्र प्रहरी कर्मचारीहरुलाई कार्यक्षेत्रमा खटिन निर्देशन दिनुभएको छ ।

वैशाख २ गते सशस्त्र प्रहरी बल नेपाल विपद् व्यवस्थापन तालिम शिक्षालय कुनिरटार चितवनको २२औँ स्थापना दिवसको अवसरमा महानिरीक्षक अर्यालले सशस्त्र प्रहरी कर्मचारीहरुलाई विपदमा परेका नागरिकहरुको उद्धारमा खटिनुपूर्व आफु सुरक्षित रहि उद्धार कार्यमा खटिन समेत निर्देशन दिनुभएको हो ।

उहाँले सशस्त्र प्रहरी बल नेपाललाई प्राप्त कार्यादेशहरुमध्ये विपद् व्यवस्थापन जस्तो महत्त्वपूर्ण जिम्मेवारीलाई प्रभावकारी रुपमा कार्यान्वयन गर्ने उद्देश्यकासाथ स्थापना गरिएको विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटारले आफ्नो छोटो समयमा नै राष्ट्रको अग्रणी एवं विशिष्ट शिक्षालयको रुपमा स्थापित भएकोे चर्चा गर्नुहुँदै विपद् व्यवस्थापन तथा संकटमा परेका नागरिकको उद्धार कार्यमा खटिई उल्लेखनिय भूमिका निर्वाह गरेको समेत बताउनुभयो ।


उहाँले पृथ्वी राजमार्ग तथा आसपासका क्षेत्रहरुमा मात्र नभई देशका दुर्गम तथा चुनौतीपूर्ण क्षेत्रहरुमा समेत तत्काल परिचालन भई जीवन रक्षा तथा मानवीय सहयोगमा समेत महत्त्वपूर्ण भूमिका निर्वाह गरेको उल्लेख गर्नहुँदै विपद् व्यवस्थापनलाई सुदृढ, प्रभावकारी र परिणाममुखी बनाउन विभिन्न महत्वपूर्ण पहलहरु समेत अघि बढाईएको बताउनुभयो ।

महानिरीक्षक अर्यालले सशस्त्र प्रहरी बल नेपालले हालसम्म नौ वटा विपद् व्यवस्थापन बेश स्थापना गरिसकेको र ६ वटा विपद् व्यवस्थाप वेश स्थापनको प्रक्रियामा रहेको बताउनुहुँदै २०६३ सालदेखि विभिन्न प्रकृतिका विपद् घटनाहरुमा खटिई १५ हजार पाँच सय ४१ जनाको सकुशल उद्धार, ८८ हजार पाँच सय जना घाईतेको उद्धार र २५ हजार ७७८ जनाको शव फेला पारेको समेत जानकारी गराउनुभएको थियो ।

उहाँले गृहमन्त्री सुधन गुरुङले सशस्त्र प्रहरी बल नेपाल विपद् व्यवस्थापन तािलम शिक्षालय कुरिनटारमा विपद् व्यवस्थापन तथा विपद् प्रतिकार्य तालिम गरिसक्नु भएको कारण सशस्त्र प्रहरी बल नेपाल विपद् व्यवस्थापनमा परिचालन हुँदा थप सहयोग र प्रेरणा मिल्ने समेत उल्लेख गर्नुभयो ।


महानिरीक्षक अर्यालले शिक्षालयमा कार्यरत प्रशिक्षक, कर्मचारी र सम्पूर्ण राष्ट्रसेवकहरुको अथक परिश्रम र समर्पणले संगठन आज यस उचाई पुग्न सफल भएको चर्चा गर्नुुहुँदै भोलीका दिनहरुमा समेत सकारात्मक सोच र उच्च मनोवलकासाथ अगाडि बढि संगठनको गरिमामय तथा राष्ट्र र जनताको अपेक्षालाई सशक्त रुपमा पुरा गर्नुपर्नेतर्फ लाग्नुपर्ने बताउनुभयो ।

सोही अवसरमा महानिरीक्षक अर्यालले शिक्षालयमा कार्यरत रहि वर्षभरी उत्कृष्ट कार्य गर्ने सशस्त्र प्रहरी कर्मचारी, स्थापना दिवसको अवसरमा सञ्चालन गरिएका विभिन्न खेलकुद प्रतियोगितामा खेलाडी तथा टिम र शिक्षालयलाई सहयोग पु¥याउनुहुने विभिन्न संघसंस्थाका महानुभावहरुलाई पुरस्कार, कदरपत्र तथा प्रशंसापत्र प्रदान गर्नुभएको थियो ।

कार्यक्रममा सहिद लखन गाउँपालिका अध्यक्ष रमेशबावु थापा मगरले देशको शान्ति सुरक्षा, अमनचयन कार्यमा सशस्त्र प्रहरी बल नेपालले खेलेको भूमिका महत्त्वपूर्ण रहेको उल्लेख गर्नुहुँदै प्राकृतीक प्रकोप, विपद् जोखिम र आगलागी जस्ता घटनाहरुमा परेका नागरिकको उद्धारमा कार्यमा सशस्त्र प्रहरी कर्मचारीहरु अग्रसर हुँदै आएको बताउनुभयो ।


त्यसैगरी चितवन जिल्लाका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले देशका धेरै जसो भू–भाग विपद्को उच्च जोखिममा रहेको हुँदा न्यून स्रोतसाधनको उच्चतम प्रयोग गर्दै विपद् व्यवस्थापन जस्तो जोखिम कार्यमा खटिनु सशस्त्र प्रहरी कर्मचारीहरुको काम, कर्तव्य प्रशंसनिय रहेको बताउनुभयो ।

२०५८ सालमा सशस्त्र प्रहरी बलको वेश क्याम्पको रुपमा स्थापना भएकोमा २०६७ साल वैशाख १९ गतेदेखि पहिलो पटक विपद् व्यवस्थापन सम्बन्धि तालिम संचालन गरेको र २०६८ साल मङ्सिर २२ गते नेपाल सरकारको निर्णयले विपद् व्यवस्थापन तालिम केन्द्रको रुपमा स्थापना हुनुकोसाथै २०७५ साल असार १५ गतेदेखि सशस्त्र प्रहरी बल नेपाल विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटारको नामाकरण भई कार्य गर्दै आइरहेको छ ।

सो शिक्षालयले २०६८ सालदेखि हालसम्म सडक दुर्घटना, पहिरो, नदिजन्य, आगलागी लगायतका घटनामा परेका एक हजार ७ जनाको जिवितै उद्धार तथा ४२१ जनाको शव फेला पारेको छ ।

कार्यक्रममा अवकाश प्राप्त सशस्त्र प्रहरी महानिरीक्षक, चितवन जिल्लास्थित विभिन्न गाउँपालिका अध्यक्ष, विभिन्न संघसंसस्थाका महानुभावहरु, सशस्त्र प्रहरी बल नेपालका वरिष्ठ, अधिकृत, अधिकृत तथा विल्लादार जवान र सञ्चारकर्मीहरुको समेत उपस्थिति रहेको थियो ।