• ८ जेठ २०८१, मङ्गलबार

समयको कठघरामा

blog

सत्यको अर्गानिक इतिहास

यतिखेर भ्रमहरूको दुकानबाट

एकाएक लिलाम भएको छ

र, मृत्यु क्याप्सुल सेवन गरेर.. खरानी भएको छ

विचारको हस्तीहाडहरू

हो कुरूप समयको लप्काहरूले

तहस नहस बनाएको छ.. सतिसाल सम्बन्धहरू ।


नसकिने रहेछ

जतिसुकै

जोगिन्छु भन्दाभन्दै

मिसिन पुग्दोरहेछ

र, नचाहेरै हरबखत ठोकिन पुग्दोरहेछ

आस्थाहरूको साँध सिमाना ।


अचेल समयले मेरो गिदी चाटिरहेछ

र, सैद्धान्तिक विचारको अस्तिरपञ्जरमाथि

अचानक धावा बोलिरहेछ ।


लाग्दैछ हतारमा बोल्नु भनेको

आफ्नो खुट्टामा आफैँले बन्चरो हान्नु हो

अचेल आफूले आफैँ माथि

युद्धको धावा बोलेर

आफ्नै गर्धन रेटेको पत्तो नपाउँने भएको छु ।


जब रेटिन्छन्

फक्रँदै गरेको प्रेमको कोपिला

हत्यासहरूको लस्कर बोकेर

अपभ्रंश नैतिकताको खोलभित्रबाट

नक्कली संवेदनाको आवाजहरू

एकाएक गुन्जन्छ सडकहरूमा

र, कालो बादलले ढाकिदिन्छ

विचारको न्यायो घाम

होसियार रहनु हरेक मान्छेहरू

अचेल पसिनाको नदीहरूमा

जीवनको रङ्ग होइन

भ्रमहरूको हजारौँ कोलम्बस सपना बिराजमान भइरहन्छ ।


भगवान्

यो समयको कालो पर्दामा

मलाई होइन

मेरो भाग्यलाई कैद गरिदेऊ

म इतिहासको किनारमा

जीवनको गीत लेखेर

हो तिमीसँगै सुसेल्न चाहान्छु ।


यो समय

एकाएक लिलिपुट हँुदैछ

र, नापेर खप्परको एक पाउ गिदी

ओकलिरहेछ... शकुनि सुस्केरा

अप्रत्यासित नाचेर मान्छेहरूको छाती छातीमा

ढाल्न खोज्दैछ विश्वासको आदिम पहाड

हो चपाउँछ मुटुमा पलाउँदै गरेको चिचिला आकाङ्क्षा

पटक पटक जीवनको बकपत्रमा

अनुवाद गरे पनि प्रेमको आद्रता

थाहा छैन किन प्रमाणित गरिरहनुपर्छ

समयको कठघरामा आफ्नै अनुहार । 


पालुङ, मकवानपुर