कल्याणपुर समाचारदाता
कल्याणपुर (सप्तरी), वैशाख १ गते । कार्यालय सार्ने निर्णयको विरोधमा सप्तरीको हनुमाननगर कङ्कालिनी नगरपालिकाका स्थानीयले सोमबार नगरपालिका कार्यालयको प्रशासनिक भवनमा तालाबन्दी गरेका छन् ।
नगरपालिकाको शुक्रबार सम्पन्न १६ औँ नगर सभाको बहुमतले हाल वडा नम्बर १२ मा सञ्चालनमा रहेको कार्यालयलाई वडा नम्बर ५ स्थित नवनिर्मित पशु अस्पतालको भवनमा सार्ने निर्णयको विरोधमा स्थानीयले नगरपालिकाको कार्यालयमा तालाबन्दी गरेका हुन् । नगरपालिकाको कार्यालयमा तालाबन्दी गर्नुअघि सोमबार बिहानै मूलगेटमा धर्ना बसेका स्थानीयले हनुमाननगर बजारसमेत बन्द गराएका छन् ।
नगरपालिकाको वडा नम्बर २, ९, १०, १२ र १३ का वडाध्यक्षसमेत विरोध प्रदर्शनमा सहभागी भएका छन् । वडाध्यक्ष हरिशचन्द्र वर्माले थोरै कार्यकाल बाँकी रहेका नगरप्रमुख वीरेन्द्र माझीले हतारमा आफ्नो अनुकूल निर्णय गर्न थालेको आरोप लगाउनुभयो । सङ्घीय सरकारको सहयोगमा पशु अस्पतालको प्रयोजनका लागि बनाइएको भवनमा पालिकाको कार्यालय सार्ने निर्णय अनुचित भएको उहाँको तर्क छ ।
पशु अस्पतालको नवनिर्मित भवनमा नगरपालिकाको कार्यालय नसार्न भन्दै पशु अपस्तालको भवनबाट यहाँका किसानले पशु चिकित्सा सेवा नै पाउनुपर्ने वडा नम्बर २ का वडाध्यक्ष सन्तोषकुमार यादवले बताउनुभयो । “जिल्लामै सबैभन्दा बढी पशुपालन गर्ने किसान यसै पालिकामा छन्, पशुपालक किसानलाई सेवा प्रदान गर्न पशु अस्पतालको नवनिर्मित भवन निर्माण गरिएकाले त्यहाँबाट किसानले पशु सेवा पाउनु पर्छ,” उहाँले भन्नुभयो ।
यस्तै वडा नम्बर १२ का वडाध्यक्ष श्रीचन्द्र मुखियाले नगरपालिका कार्यालयका लागि नयाँ भवन निर्माण गरेर सारिए कुनै आपत्ति नरहेको बताउनुभयो । उहाँले पशु अस्पतालमा कार्यालय सार्नु कानुनसम्मत नभएको तर्क राख्नुभयो । हनुमाननगर नगरपालिकाका नगरप्रमुख वीरेन्द्र माझीले अस्थायी रूपमा नगरपालिकाको कार्यालय वडा नम्बर ५ स्थित नवनिर्मित पशु अस्पतालको भवनमा सार्ने निर्णय भएको बताउनुभयो ।
उहाँले नगर सभाको बहुमतले निर्णय भएको भन्दै हाल तीन वटा वडा कार्यालय र एउटा स्वास्थ्य चौकी भाडाको घरमा रहेको हुँदा त्यसलाई अहिलेको भवनमा व्यवस्थापन गरी नवनिर्मित पशु अस्पतालको भवनबाट अस्थायी रूपमा प्रशासनिक सेवा प्रवाह हुने जानकारी दिनुभयो । “अहिले तीन वटा वडा कार्यालय र एउटा स्वास्थ्य चौकी भाडाको घरमा छ, त्यसलाई पुरानो भवनमा सार्ने र नगरपालिकाको प्रशासनिक कामकाज वडा नम्बर ५ स्थित नवनिर्मित पशु अस्पतालको भवनबाट गर्ने निर्णय भएको छ,” नगरप्रमुख माझीले भन्नुभयो ।
हाल हनुमाननगरमा रहेको पालिकाको केन्द्र सार्ने निर्णय नभएको स्पष्ट पार्दै उहाँले खाली रहेको नवनिर्मित पशु अस्पतालको भवनमा भौतिक पूर्वाधार समेत रहेकाले त्यहाँबाट सेवा प्रवाह सहज हुने हुँदा तत्कालका लागि अस्थायी रूपमा प्रशासनिक कार्य सञ्चालन गर्न नगर सभाको बहुमतले निर्णय भएको बताउनुभयो । १४ वटा वडा रहेको पालिकामा नौ जना वडाध्यक्षको सहमतिबाट यस्तो निर्णय गरिएको उहाँले जानकारी दिनुभयो । नगरप्रमुख माझीले प्रशासनको रोहवरमा सोमबार ताला तोडेर कामकाज सुरु गरेको भन्दै तालबन्दीबाट कुनै निकास ननिस्किने र कार्यालयको दैनिक काज प्रभावित हुने भएकाले असन्तुष्ट पक्षलाई वार्तामा आउन आग्रह गरेको बताउनुभयो ।