गोरखापत्र समाचारदाता
काठमाडौँ, चैत २९ गते । वसन्तकालीनयामका लागि चीनले विदेशी नागरिकलाई सगरमाथा आरोहण गर्न अनुमति जारी नगरेपछि दक्षिणतर्फबाट हुने सगरमाथा आरोहण करिब ३० प्रतिशतले बढ्न सक्ने अपेक्षा गरिएको छ ।
पर्यटन विभाग र नेपाल पर्वतारोहण सङ्घका अनुसार फागुनदेखि वैशाखसम्मको मौसम सगरमाथा आरोहणका लागि प्रमुख याम मानिन्छ तर यस वर्ष चाइना तिब्बत माउन्टनियरिङ एसोसिएसन (सिटिएमए) ले उत्तरी मोहडाबाट हुने आरोहणका लागि अनुमति जारी नगरेकाले नेपालबाट हुने आरोहण र आरोहणबापत सरकारी कोषमा दाखिल हुने राजस्व (सलामी रकम) मा बढोत्तरी हुने देखिएको छ ।
विभागका निर्देशक हिमाल गौतमले भन्नुभयो, “चीन सरकारले तिब्बतबाट सगरमाथा आरोहण गर्न अनुमति नदिएको भन्ने सुन्नमा आएको छ । मध्यपूर्वमा जारी द्वन्द्वका कारण आरोहणमा पर्न सक्ने असरबिच चिनियाँ सरकारले तिब्बतबाट आरोहण अनुमति जारी नगरेको खबरले सगरमाथा आरोहणमा थप उत्साह आउने देखिएको छ । दुवै पक्षले आरोहणबारे आधिकारिक जानकारी आदानप्रदान गर्ने चलन नभए पनि पछिल्ला सूचनाले यस वर्ष दक्षिण मोहडाबाट मात्रै सगरमाथा आरोहण हुने देखिएको छ ।”
यस वर्ष सगरमाथा आरोहणका लागि प्रतिव्यक्ति चार हजार अमेरिकी डलर (मङ्गलबारको विनिमयदर अनुसार पाँच लाख ९५ हजार) आरोहण दस्तुर बढेकाले राजस्व आम्दानीमा समेत निकै बढोत्तरी हुने उहाँले जानकारी दिनुभयो । यसअघि विदेशी नागरिकले वसन्तयाममा सगरमाथा आरोहण गर्न ११ हजार डलर तिर्दै आएकामा यो यामदेखि अनुमति शुल्क १५ हजार अमेरिकी डलर पुगेको छ ।
नेपाल पर्वतारोहण सङ्घका अध्यक्ष फुर गेल्जे शेर्पाका अनुसार सिटिएमएले यस याममा सगरमाथा आरोहणका लागि अनुमति नदिँदा नेपालमा ३० प्रतिशत आरोही बढ्न सक्ने बताउनुभयो । उहाँले यस वर्ष सिटिएमएले सगरमाथा र सिसपाङ्मा हिमाल आरोहणको अनुमति रोकेपछि चोयुको आरोहणसमेत रोकिएको जानकारी दिनुभयो । चीन सरकारले हिमालमा भएका विवादास्पद घटनाका कारण यस याममा आरोहण अनुमति रोकिएको जनाइएको छ ।
विभागका अनुसार शनिबारसम्म सगरमाथा आरोहणका लागि ४१ देशका २०४ आरोहीले अनुमति लिएका छन् । सगरमाथामा अनुमति दिएबापत ४४ करोड ४० लाख ८५ हजार ६१२ रुपियाँ हिमाली दस्तुर सङ्कलन भएको छ ।