नेतृत्व लिएको ७२ घण्टा नबित्दै वालेन्द्र (बालेन) शाह नेतृत्व सरकारले २०४८ सालदेखि सार्वजनिक पदधारण गरेका नेता तथा उच्चपदस्थ कर्मचारीको सम्पत्ति छानबिन गर्ने समाचार सुनेपछि मनमा एक किसिमको आशा पलायो । हाम्रो शासनप्रणालीमा इमानदारी योग्यता होइन, अवरोध बन्दै आएको छ । नझुक्ने व्यक्ति ‘अनुकूल’ हुँदैन । सत्य बोल्नेले मूल्य चुकाउनु परेको छ ।
हामी यस्तो समयमा बाँचिरहेका छौँ, जहाँ ‘अवसर’ छोड्नु मूर्खता मानिन्छ । हरेक अवसर स्वीकार गर्नु पर्छ भन्ने हुँदैन । केही अवसरले मानिसलाई माथि होइन, भित्रबाट तल झार्छ । जुन चिज आफूले कमाएको होइन, त्यो बोझ बन्न सक्छ । भ्रष्टाचार पनि यस्तै गरी सुरु हुन्छ । सानो लाभ, सानो सुविधा, सानो सम्झौता । भ्रष्टाचारलाई हामी प्रायः ठुलो काण्डका रूपमा हेर्छौं तर त्यो एउटा सानो लोभबाट सुरु हुन्छ । जब हामी सही र सजिलोबिच सजिलो रोज्छौँ ।
जब एक कर्मचारीले ‘यो त सामान्य कुरा हो’ भनेर घुस लिन्छ, त्यहीँबाट प्रणालीको पतन सुरु हुन्छ । जब एक नागरिकले ‘छिटो काम होस्’ भनेर पैसा दिन्छ, त्यहीँबाट अन्यायलाई शक्ति मिल्छ । भ्रष्टाचार केवल आर्थिक लेनदेन होइन, यो नैतिक सम्झौता हो । यो त्यस्तो सम्झौता हो, जसमा हामी आफ्नो आत्मालाई तराजु बनाउँछौँ ।
भ्रष्टाचार संस्कृतका दुई शब्द ‘भ्रष्ट’ र ‘आचार’ मिलेर बनेको शब्द हो । भ्रष्टको अर्थ ‘गिरेको’ भन्ने हुन्छ भने आचारको अर्थ आचरण अर्थात् भ्रष्टाचार भन्नाले गिरेको आचरण भन्ने हुन्छ । नेपाल मात्र होइन, संसारका धेरै देशलाई सत्ता र शक्तिको नजिक पुगेका मानिसको भ्रष्ट आचरणले आजित बनाएको छ । राजनीति तथा कर्मचारीतन्त्रमा व्याप्त भ्रष्टाचारका कारण मानिस सडकमा उत्रेका छन् र धेरै सरकार गिरेका छन् ।
भ्रष्टाचार सानो ‘उपहार’ बाट सुरु भएर विशाल ‘प्रणालीगत विकृति’ मा रूपान्तरित हुन्छ । जब कुनै कर्मचारीले आफ्नो जिम्मेवारीबाहिर गएर व्यक्तिगत स्वार्थलाई प्राथमिकता दिन्छ, त्यो क्षणबाटै राज्य कमजोर हुन थाल्छ ।
भ्रष्टाचार कुनै देश, भाषा वा संस्कृतिमा सीमित छैन । यो मानव स्वभावको अँध्यारो पक्ष हो, जुन शक्ति पाउँदा अझ प्रबल हुन्छ । विक्रम संवत् २०२० को दशकमा राष्ट्रपति रिचर्ड निक्सनको प्रशासनउपर लागेको वाटरगेट काण्डले संसार हल्लायो । विपक्षी पार्टीको मुख्यालयमा जासुसी गर्न लगाइएको घटना सार्वजनिक भएपछि सत्य लुकाउन गरिएको प्रयासले स्थिति झन् बिग्रियो । अन्ततः राष्ट्रपति निक्सनले पदबाट राजीनामा दिनु प¥यो । यो घटनाले देखायो– लोकतन्त्रमा यदि नैतिकता भएन भने सबैभन्दा शक्तिशाली पद पनि ढल्न सक्छ ।
आजभन्दा दस वर्षअघि ब्राजिलमा सरकारी तेल कम्पनी पेट्रोब्राससँग जोडिएको विशाल भ्रष्टाचार काण्डले त्यहाँको राजनीतिलाई नै तरङ्गित बनाइदियो । राष्ट्रपति डिल्मा रुसेफविरुद्ध महाभियोग लाग्यो र उनी पदच्यूत हुनुप¥यो । यस काण्डले के देखाउँछ भने जब ठुला परियोजनामा घोटाला हुन्छ, त्यसको असर केवल अर्थतन्त्रमा मात्र होइन, लोकतान्त्रिक व्यवस्थामा पनि पर्छ । ब्राजिलमा राष्ट्रपति रुसेफविरुद्ध महाभियोग लागेको एक वर्ष पनि नपुग्दै दक्षिण कोरियाकी राष्ट्रपति पार्क गेयुङ–हाईको आर्थिक घोटाला बाहिर आएपछि लाखौँ मानिस सडकमा उत्रिए । अन्ततः उनले पदमुक्त हुनु मात्रै परेन कि जेलसमेत बस्नुप¥यो । यी उदाहरणले देखाउँछ, जनता सचेत भएपछि शक्तिशाली नेतृत्व पनि जवाफदेही बन्न बाध्य हुन्छन् ।
अफ्रिकामा ट्युनिसियाबाट सुरु भएको आन्दोलनले मिश्र, लिबिया, यमनलगायत देशमा सरकार ढाल्यो । बेरोजगारी, दमन र भ्रष्टाचारको मिश्रणले जनता विद्रोहमा उत्रिए । इजिप्टमा होस्नी मुबारक जस्ता लामो समयदेखि सत्तामा रहेका शासकसमेत सत्ता छोड्न बाध्य भए । भारतमा पनि विभिन्न समयमा भएका घोटालाले सरकारमाथि ठुलो दबाब सिर्जना गरेको छ । अन्ना हजारेको नेतृत्वमा भएको आन्दोलनले दक्षिण एसियामै भ्रष्टाचारविरुद्ध जनचेतना बढायो ।
भ्रष्टाचार केवल लोभको परिणाम होइन, यो संरचनात्मक कमजोरीको पनि परिणाम हो । जब दण्डहीनताले प्रश्रय पाउँछ र गलत काम गर्दा सजाय हुँदैन, त्यो संस्कृतिमा परिणत हुन्छ । राजनीतिक हस्तक्षेपले संरक्षण पाएपछि योग्य नेता तथा कर्मचारी राष्ट्रले समयमा चाहेको योगदान दिन नपाएर पछाडि पर्छन् । भ्रष्टाचार सानो कुरा हो भन्ने सोचले ठुलो भ्रष्टाचारलाई आश्रय दिन्छ । पारदर्शिता अभाव भएपछि भ्रष्टाचारले मौलाउने मौका पाउँछ ।
नेपाललाई भ्रष्टाचारले गाँज्दै आएको छ । अझ डरलाग्दो कुरा के हो भने यसले ‘सामान्य’ रूप लिइसकेको छ । ठेक्कापट्टामा अनियमितता, कर्मचारी सरुवामा राजनीतिक दबाब, सार्वजनिक सेवामा घुस आदि जस्ता घटनाले नागरिकको विश्वास कमजोर बनाउँछ । जब नागरिकले राज्यप्रति विश्वास गुमाउँछ, लोकतन्त्र केवल ‘कागजी’ संरचना मात्र बन्छ ।
भ्रष्टाचार नियन्त्रण केवल कडा कानुनले मात्र सम्भव छैन । यसका लागि सानैदेखि नैतिक शिक्षाको पनि आवश्यकता हुन्छ । पारदर्शिता, जनचेतनाको महत्वबारे त भन्नु नपर्ला । भ्रष्टाचार आर्थिक अपराध मात्र होइन, यो नैतिक पतनको अवस्था हो । जब समाजले गलतलाई सहन थाल्छ, त्यो समाज आफैँ कमजोर बन्दै जान्छ । बालेन सरकारको निर्णयले नेपाल अझै पनि भ्रष्टाचारमुक्त समाज बन्न सक्छ भन्ने आशाको सञ्चार गराएको छ तर प्रश्न जीवित छ, हामीले कुन बाटो रोज्ने ? गिरेको आचरणको कि उठेको चरित्रको ? यो समाजको आत्मासँग जोडिएको प्रश्न हो । हामी कस्तो राष्ट्र बनाउँदै छौँ ? हामी कस्तो राष्ट्र बन्न सक्छौँ ? हाम्रो आचरण कस्तो हुँदै छ ? हामी कतिन्जेल गिरेको आचरण देखेर पनि मौन बस्न सक्छौँ ? भन्ने कुरा महŒवपूर्ण हुन्छ ।