शंकर केसी
सल्यान, चैत २९ गते । सल्यानमा ५५१ प्रजातिका वनस्पति संरक्षण गरिएको छ । जिल्लास्थित वनस्पति अनुसन्धान केन्द्रमा संरक्षित वनस्पति मध्ये २० प्रजाति दुर्लभ वनस्पतिका रूपमा सूचीकृत रहेको केन्द्रले जानकारी दिएको छ । स्थानीय तथा बाह्य क्षेत्रबाट सङ्कलन गरिएका बिरुवाहरूलाई संरक्षण गर्दै आएको केन्द्रले लोपोन्मुख तथा जंगली अवस्थामा घट्दै गएका वनस्पतिहरूको संरक्षणमा विशेष प्राथमिकता दिएको हो ।
संरक्षण गरिएका बिरुवामध्ये करिब आधा देशका विभिन्न स्थानबाट ल्याइएका हुन् भने केही शोभनीय तथा अनुसन्धानात्मक महत्वका वनस्पति विदेशबाट संकलन गरिएको केन्द्रले जनाएको छ । वनस्पति संरक्षणसँगै औषधीय तथा आर्थिक महत्वका बिरुवाको उत्पादन र विस्तारमा पनि उत्तिकै प्राथमिकता दिइरहेको नुसन्धान केन्द्रका प्रमुख डा. मित्र पाठकले जानकारी दिनुभयो । वनस्पति उद्यानभित्रको मुख्य नर्सरीसँगै मुलपानी, लुहाम र दहखोलामा रहेका नर्सरीमार्फत पनि विभिन्न प्रजातिका बिरुवा उत्पादन गर्दै आएको उहाँले बताउनुभयो।
जिल्लाको कपुरकोट गाउँपालिका–३ मुलपानीमा रहेको वनस्पति अनुसन्धान केन्द्र प्राकृतिक तथा शैक्षिक दृष्टिले महत्वपूर्ण गन्तव्यका रूपमा विकास हुँदै गएको छ । करीब ५.५ हेक्टर क्षेत्रफलमा फैलिएको मूलपानी वनस्पति उद्यान अध्ययन, अनुसन्धान तथा भ्रमणका लागि आकर्षक केन्द्र बनेको छ ।
केन्द्रका प्रमुख डा. पाठकका अनुसार देशका विभिन्न स्थानबाट आयुर्वेद, कृषि तथा विज्ञान विषय अध्ययन गर्ने विद्यार्थी, अनुसन्धानकर्ता तथा विज्ञहरू यहाँ अध्ययन तथा अनुसन्धानका लागि आउने गरेका छन् । जिल्लाभित्रका विद्यालयहरूबाट पनि विद्यार्थीहरू जडीबुटीको पहिचान, औषधीय गुण, खेतीको सम्भावना तथा संरक्षणबारे जानकारी लिन अध्ययन भ्रमणमा आउने गरेका छन्।
यहाँ हरेक वर्ष करिब १० हजार आगन्तुक अध्ययन, अवलोकन तथा भ्रमणका लागि आउने गरेका छन् । चालू आर्थिक वर्षमा मात्र हालसम्म एक हजार ८०० भन्दा बढी विद्यार्थी उद्यान अवलोकनका लागि आइसकेका छन् भने कुल आगन्तुक संख्या करिब ५ हजार पुगेको सूचना अधिकारी दामोदर दाहालले जानकारी दिनुभयो ।
उद्यानमा बोटानिकल गार्डेनका साथै हिमालको आकृति निर्माण गरिएको छ, जसले पर्यटकलाई थप आकर्षित गरेको छ । प्राकृतिक जंगलको वातावरणबीच विभिन्न प्रजातिका वनस्पतिसँग नजिकबाट अवलोकन र अध्ययन गर्न पाइने भएकाले आन्तरिक तथा बाह्य पर्यटकको आकर्षण बढ्दै गएको छ ।
वनस्पति विभागको ६६ औँ वार्षिकोत्सव तथा २७ औँ वनस्पति दिवसको अवसरमा आइतबार विभिन्न कार्यक्रम सञ्चालन हुनेछन् । शनिबार कपुरकोटमा पालिकास्तरीय खुल्ला “टिमुर कप” ब्याडमिन्टन प्रतियोगिता सम्पन्न भएको थियो भने आइतबार अन्तर मावि कविता प्रतियोगिता राखिएको अनुसन्धान केन्द्रले जनाएको छ । “समृद्धिका लागि वनस्पति” भन्ने मूल नाराका साथ दिवस मनाउन लागिएको हो ।