जुम्ला समाचारदाता
जुम्ला, चैत २९ गते । जुम्लाको अर्गानिक स्याउका बोट यतिबेला फुलेर सेताम्मे भएका छन् । चैत सकिनै लाग्दा यहाँका हरेक स्याउका बगैँचा फूल फुलेर सेता देखिएका छन् ।
जुम्लाका स्याउयोग्य जमिनमा पछिल्लो समय स्याउका बिरुवामा वृद्धिसमेत हुँदै आएको छ । २०६४ सालमा जुम्लामा ‘एक घर एक स्याउ बगैँचा’ भन्ने अवधारणा ल्याएपछि धेरै जसो बगैँचामा अहिले स्याउ रोप्ने र उत्पादनमा वृद्धि भइरहेको छ । स्याउ लगाएका डाँडाकाँडा र बगैँचा फूल फुलेर सेताम्मे भएपछि आकर्षक देखिन थालेका छन् । किसानले फूल जोगाउन बगैँचामा संरक्षण तथा घेराबारसमेत गरिरहेको देखिन्छ ।
कृषि विकास कार्यालयको तथ्याङ्क अनुसार यस वर्ष चार हजार ४९७ हेक्टर क्षेत्रफलमा स्याउका बिरुवा रोपिएको छ । कार्यालयका प्रमुख रामभक्त अधिकारीका अनुसार रोपिएको स्याउमध्ये दुई हजार १६५ हेक्टर क्षेत्रफलमा स्याउ उत्पादन भएको छ ।
एकचालिस करोडको स्याउ निर्यात
जुम्लामा यस वर्ष ४१ करोड २९ लाख ८९ हजार २७० रुपियाँ बराबरको स्याउ निर्यात भएको छ । कृषि विकास कार्यालयले मङ्सिर तेस्रो सातामै उक्त स्याउ निर्यात भइसकेको जनाएको छ । कार्यालय प्रमुख रामभक्त अधिकारीका अनुसार चालु आवमा पाँच हजार ५९१ मेट्रिक टन स्याउ निर्यात भएको छ । कार्यालयका अनुसार स्याउ फल्ने समयमा जुम्ली स्याउ बगैँचामा गएको मूल्य प्रतिकेजी ६५ रुपियाँ ५० पैसादेखिमाथि बगैँचामै बिक्री भएको छ । केही पालिकाका बगैँचामा ७० रुपियाँमा पनि बिक्री भएको छ । इटालियन फुजी स्याउ १७५ रुपियाँभन्दा माथिको मूल्यमा बिक्री भएको छ ।