• १५ वैशाख २०८१, शनिबार

सिद्धार्थमा किरणको ‘समर्पण’

blog

गोरखापत्र समाचारदाता

काठमाडौँ, साउन ९ गते । ‘अब्सट्रयाक्ट’ कलाका पर्यायजस्तै कलाकार किरण मानन्धरको ‘समर्पण’ शीर्षक चित्रकला प्रदर्शनी सिद्धार्थ आर्ट ग्यालरीमा भइरहेको छ । यद्यपि, किरणका कलाका पारखीका लागि यसपटक फरक स्वाद मिल्ने छ । ६७ वर्षदेखि रंग, ब्रस र क्यानभासको सङ्गत गरेका मानन्धरले यसपटक अर्धमूर्त शैलीमा देवीदेवताका भावभङ्गीलाई उतार्नुभएको छ । 

त्यसैले प्रदर्शनीमा राखिएका मानन्धरका ४७ चित्रकला सबैका लागि नौलो विषय बनेको छ । ‘समर्पण’ प्रदर्शनीबारे कलाकार मानन्धरले भन्नुभयो, “नेपालका देवी देवताको चित्रलाई आधुनिक ढङ्गबाट प्रस्तुत गरिएको छ । यस प्रदर्शनी सम्पूर्ण देशवासी, आप्mनो कुलदेवता तथा नेपाल भूमिलाई गर्न सकेको आफ्नो योगदानका हिसावले प्रदर्शनीको शीर्षक ‘समर्पण’ राखिएको हो ।”

देवी देवतालाई विम्वको रुपमा प्रयोग गर्दै कलाकारले आफ्ना कला सिर्जना दर्शक सामु पस्किनु भएको छ । प्रदर्शनीमा राखिएको भैरवलाई आक्रोसको विम्वका हिसावले प्रस्तुत गरिएको छ । भैरवको जस्तो आक्रोस भएन भने कुनै व्यक्तिले पनि आफ्नो काममा सफलता पाउन सक्दैन भन्ने सन्देश भैरवका बिम्बले दिएको छ । 


‘लाखे’ लाई काठमाडौं बासीले रक्षकको रुपमा लिने गरिएको छ । त्यससँग सम्बन्धित धेरै किम्बदन्तीहरु छन् । मन, मस्तिष्क शुद्ध भयो भने चार धाममा धाइराख्नु पर्दैन आफुले गरेको कामबाट त्यो सन्तुष्टि र आशिर्वाद मिल्दछ भन्ने विश्वास कलाकार किरणमा छ । यिनै विषय नै कलामा प्रतिबिम्बित भएका छन् । 

विगतमा किरणका क्यानभासमा बोराको प्रयोग ज्यादा पाइन्थ्यो । अहिले एक्रेलिक रंग माध्यममा प्रायः बर्गाकार क्यानभासमा सिधै रंग खेलाउनुभएको छ । साउन ८ गतेबाट सुरु भएको प्रदर्शनी भदौ ८ गतेसम्म सञ्चालन हुने जनाइएको छ ।